नेपालीहरूले मनाउने दशैं र शाही राजाहरूको कुरा

भीम रेग्मी

दशैं पर्व रामले श्रीलङ्कामा गरेको बिजय वा देबीले राक्षसलाई मारेको कथासित जोडिएको हैन । बैशाख -जेठदेखि शुरू हुने खेती-पाती वा श्रमको लामो समयको थकान मेट्न र भदौ सकिए पछि देखिने मौसम परिवर्तनले ल्याएको खुशीको पर्व पनि दशैं हो । यसको सम्बन्ध गोरखासित जोडिन्छ । भारतसहित बिभिन्न देशमा रहेका नेपालीहरूमा मात्र यो चाडको उत्सव विशेष हुन्छ ।

यदि यो पर्व रामले श्रीलङ्कामा गरेको बिजय र देबीले राक्षसलाई मारेको कथासित जोडिएको हुन्थ्यो भने भारतमा पनि दशैं धुमधामले मनाइन्थ्यो । यदि दशैं सबै हिन्दुहरूको चाड हुन्थ्‍यो भने भारतभरी पनि दशैं मानिन्थ्यो । अयोध्याका राजकुमार रामले श्रीलङ्काका राजा रावणमाथिको बिजयोत्सव भारतमा किन नमनाएको होला भन्ने पक्षलाई सोच्नु पर्छ ।

नेपालका शाह राजाहरू भारतको चितौडबाट पाल्पाको लसर्का, भीरकोटको खिलुङ, कास्की, लम्जुङ हुँदै यशोब्रह्म शाह (४९ औं पुस्ता) का तीन छोरा (नरहरी शाह, द्रब्य शाह र नरपति शाह) मध्य द्रब्य शाहले गोरखामा नयाँ शासन शुरु गरे । कुमाउबाट मन्त्री बनेर बा सित पाल्पा आएका गणेश पाण्डे मणिमुकुन्द सेनको पाल्पाको राज्य टुक्रा परेपछि २० वर्षको उमेरमा गोरखाको छोप्राक आए । बि. स. १६१६ असोज २३ अष्टमीको राती गंगारामा राना मगर, महेश्वर पन्त, नारायणदास अर्जेल, मुरली खवास, सर्वैश्वर खनाल सहित गणेश पाण्डेले गोरखाको उपल्लो कोटमा बसेका मगर खड्का राजालाई मारेर द्रब्य शाहलाई राजा बनाएर शाही शासनको स्थापना गरेका हुन् ।

जित पछि गोरखामा महिना दिन सम्म अबिर जात्रा सहित उत्सव मनाइएको थियो । त्यो समय आश्बिन शुक्ल पक्षको थियो । जनताले बिजय, खुशी र मौसम बदलिएको समयलाई दशैंको रुपमा मनाए । बिस्तारै यसलाई पर्वका रुपमा मनाउन थालियो । पछि यही कुरा संस्कृति र चलन बनेर चल्यो आज सम्म । शासकहरूले त्यही चलनलाई पर्व भनेर बिजया दशमी वा बडा दशैं भनेर ब्याख्या गरे । म तँ भन्दा ठुलो हुँ तसर्थ तँ मेरो दरवारमा टिका लगाउन आउनु र मलाई ठुलो मान्नु भन्ने शासकको उर्दी थियो त्यो बेला ।

सेना, हातहतियार, र शक्तीसित जोडिएको दशैं अष्टमीका दिन सेनाको बडाइँ हुने कारण पनि यही हो । पछि पृथ्वी नारायण शाहले १८२५ मा कान्तिपुर जितेपछि गोरखा दरबारबाट फुलपाती काठमाण्डौं भित्राएर दशैको शुरुवात गरे र यो चलन अहिले पनि प्रचलनमा छ। यो पर्वलाई उपत्यका सहित उनले जितेका स्थानमा मनाउने प्रचलन राजेन्द्र लक्षमी, र बहादुर शाहको पालामा पनि चल्यो । शासनको केन्द्रमा हिन्दु राजा, राजगुरू, राज पुरिहित आदिका कारण यो उत्सवमा हिन्दु धर्म, पूजा बिधीको प्रभाव रहन गयो । १६१६ तिरको दशैं २०८० को जस्तो हुन सक्दैनथ्यो ।