सरकार ढाल्ने प्रयासबारे वर्षमानले गरेको संकेत, अबको राजनीतिक पटाक्षेप !
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले इजरायल घटनाका नाममा सरकारविरुद्ध आक्रमण गरी मुलुकमा अस्थिरता निम्त्याउने प्रयास भएको खुलासा गरेका छन्। अखिल क्रान्तिकारीको बैठकमा बुधबार पुनले इजरायल घटनामा असफल भएको सन्देश प्रवाह गरी सरकार ढाल्ने असफल प्रयास गरिएकाे खुलासा गरे।
तर, सरकारको जिम्मेवारीपूर्ण प्रयासले त्यस्तो कोसिस विफल पारिएकाे दाबी पुनले गरे। सरकारले इजरायल सरकारसँगको समन्वयमा युद्धग्रस्त क्षेत्र गाजामा बंकरभित्र रहेका नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा सारेर देशमा सरकार भएको अनुभूति दिलाएको बताए।
विदेशी भूमिमा १० नेपालीको हत्या भएको र सयौं नेपाली नागरिक युद्धको संकटमा फसेका बेला सरकारलाई सहयोग गर्नुको साटो मौकाका रुपमा उपयोग गर्न खोज्नु निन्दनीय भएको टिप्पणी पुनले गरे।
यसअघि उपमहासचिव पुनले माओवादी र एमालेबीच फेरि कुनै प्रकारको सहकार्य वा पार्टी एकता हुन सक्ने टिप्पणी गरेका थिए । कांग्रेसका संस्थापनइतर नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अहिलेकै स्थितिमा बोकेर हिँड्न नसक्ने बताइरहेका बेला पुनले गरेको संकेतले राजनीतिक कोर्स बदलिनसक्ने अनुमान गरिएको छ।
यद्यपि माओवादीसँग भन्दा पनि कांग्रेसभित्रको आन्तरिक समस्या र कांग्रेसको एक खेमा माओवादीप्रति अनुदार हुँदा ती नेताहरूले सरकार र आफ्नै मन्त्रीविरुद्ध बोलेको हुन सक्ने माओवादी केन्द्रका सचिव गणेश साह बताउँछन् । उनले भने, ‘कांग्रेसको एक खेमा माओवादीप्रति अनुदार छ । उसलाई कांग्रेस माओवादीसँग मिलेको मन परेको छैन, जसका कारण प्रधानमन्त्री, आफ्नै मन्त्री र सरकारविरुद्ध बोल्दै हिँडेको छ ।’
प्रधानमन्त्री प्रचण्डको अस्थिर चरित्रका कारण १० पुसमा बनेको गठबन्धन भत्किएर सत्ताबाहिर पुगेको एमाले कांग्रेस-माओवादी गठबन्धन भत्काउने प्रयत्नमा रहेको छ। त्यसका लागि कांग्रेस वा माओवादी केन्द्रमध्ये एक अहिलेको गठबन्धनबाट बाहिरिनुपर्छ । कांग्रेसका नेताहरूको अभिव्यक्ति त्यसकै लागि कारक बन्न सक्छन्।
प्रचण्डले एमालेसँग सम्बन्ध सुधारको प्रयास गर्न थालेका छन् । त्यसले गर्दा कांग्रेस संशकित देखिएको छ । तर, एमाले र माओवादी बिच संवाद अघि बढे पनि विश्वासिलो वातावरण भनेको छैन । संभवत कोशी प्रदेशको सरकार निर्माणमा हुने सहमतिले नै नयाँ राजनीति कोर्ष अगाडि बढाउनेछ ।
वर्षमानले गरेको संकेतले राजनीतिक परिदृष्य बदलिनसक्ने संकेत गरेको छ यद्यपि त्यस्तो परिघटना तत्काल नभएर दीर्घकालीन पटाक्षेप पनि हुनसक्छ।