हमास सखाप पार्ने मिसनः एसियामै सबैभन्दा शक्तिशाली इजरायली सेनाको नालिबेली
हमासले गरेको अप्रत्याशित आक्रमणको जबाफमा इजरेलले गाजा क्षेत्रमा चार दिनदेखि निरन्तर हवाई हमला गरिरहेको छ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले हमासको हरेक सदस्य मृतक हुने चेतावनी दिएका छन्।
गत शनिवार प्यालेस्टिनी लडाकु समूहले हमासले इजरेलमा भीषण आक्रमण गर्दा ज्यान जानेहरूको सङ्ख्या १,२०० नाघेको छ। उक्त आक्रमणलाई इजरेलको ७५ वर्षे इतिहासमा भएको सबैभन्दा नराम्रो घटना मानिएको छ।
मृत्यु हुनेमा नेपालीसहित विदेशी नागरिकहरू पनि छन्। इजरेलले गरेको हवाई आक्रमणका कारण गाजामा ज्यान गुमाउने मानिसको सङ्ख्या ११०० नाघेको छ। त्यस क्रममा हमासका दुई वरिष्ठ अधिकारी पनि मारिएको बताइएको छ। इजरेलले हवाई आक्रमण गर्न थालेपछि गाजाबाट २ लाख ६० हजार जनाभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायललाई अमेरिकाको पूर्ण समर्थन रहने बताएका छन्। अमेरिकाले गाइडेड मिसाइलका साथ एफ–३५ लडाकु विमान समेत इजरायल पठाउँदैछ। त्यसका अलावा रक्षामन्त्री लोइड अस्टिनले आइतबार अनेकौँ सैन्य जहाजका साथ विश्वकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस जेराल्ड फोर्ड पनि इजरायलनजिक पठाउने बताएका छन्।
अमेरिकाको मध्यपूर्व (पश्चिम एसिया) नीतिको सबैभन्दा प्रमुख तत्व भनेकै सो क्षेत्रमा इजरायलको सैन्य प्रभुत्व कायम गर्नु हो। अमेरिकी लगानीमा इजरायलको सैन्य क्षमता तथा हतियार बढाएर यो उदेश्य पूरा गरिँदै आएको छ।
कति शक्तिशाली छ त इजरायलको सेना?
इजरायलले विशाल सैन्य संयन्त्र सञ्चालन गरिरहेको छ। इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस) को यो वर्षको प्रतिवेदनअनुसार इजरायलसँग १ लाख ६९ हजार ५०० सक्रिय सैनिक छन्। जसमा नौसेना र अर्द्धसैनिक पनि पर्छन्। त्यसबाहेक ४ लाख ६५ हजार जगेडा सैनिक छन्, जसलाई आवश्यक पर्नेबित्तिकै सेवामा बोलाउन सकिन्छ। र, ८ हजार अर्द्धसैन्य बलका सदस्य छन्।
हाल गाजानजिकै करिब ३ लाख इजरायली सैनिक तैनाथ रहेको बुधबार एक सैन्य प्रवक्ताले बताएका छन्।
यो मुलुकमा १८ वर्षमाथिका हरेक नागरिकले अनिवार्य सैन्य सेवा गर्नुपर्छ। भर्ती भएपछि पुरुषले ३२ महिना र महिलाले २४ महिना सेवा गर्नुपर्छ।
पश्चिम एसियामा सबैभन्दा शक्तिशाली सेना भएको मुलुकमा पर्छ इजरायल। जोसँग आधुनिक निगरानी प्रणाली र हतियार छ।
इजरायलसँग भएका सैनिक र हतियार यसप्रकार छन् :
जवान
१ लाख ६९ हजार ५०० नियमित सैनिक
४ लाख ५६ हजार जगेडा सैनिक
स्थल शक्ति
२ हजार २०० भन्दा बढी ट्यांक
५३० विभिन्न प्रकारका तोपखाना
हवाई शक्ति
३३९ लडाकु विमान
१९६ वटा एफ–१६
८३ वटा एफ–१५
३० वटा एफ–३५
१४२ वटा हेलिकोप्टर
४३ वटा अपाचे एट्याक हेलिकोप्टर
नौसैनिक शक्ति
५ वटा पण्डुब्बी
४९ वटा जहाज
आइरन डोम
हवाई प्रतिरक्षा प्रणाली
इजरायलको आइरन डोम नामक हवाई प्रतिरक्षा प्रणाली सफलमध्ये एक मानिन्छ। २००६ मा हेजबुल्लाहसँगको युद्धपछि छोटो दुरीबाट प्रहार गरिएको रकेट रोक्न रेडार प्रविधि प्रयोग गरी यो प्रणाली विकास गरिएको थियो।
२०११ देखि प्रयोगमा आएको आइरन डोम अमेरिकाको सहयोगमा बनाइएको थियो। जसको केही हिस्सा अमेरिकाले आपूर्ति गर्छ। अमेरिकाले इजरायलको हवाई प्रतिरक्षा प्रणालीका लागि २०२२ मा १.५ अर्ब डलर छुट्याएको थियो।
आईआईएसएसका अनुसार २०२१ मा हमास र अन्य प्यालेस्टिनी समूहले प्रहार गरेको रकेटमध्ये ९० प्रतिशतभन्दा बढीलाई आइरन डोमले छेकेको थियो।
इजरायलसँग आणविक हतियार रहेको पनि विश्वास गरिन्छ। इजरायलसँग जेरिचो मिसाइल छ र विमानहरु छन्, जो आणविक बम प्रहार गर्न सक्षम छन्।
इजरायलले आफ्नो सेनामा कति खर्च गर्छ?
२०२२ मा इजरायलले सेनाका लागि २३.४ अर्ब डलर खर्च गरेको स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले जनाएको थियो। यो भनेको २०१८–२०२२ को अवधिमा प्रतिव्यक्ति २ हजार ५३५ डलर हो। प्रतिव्यक्तिका हिसाबले कतारपछि विश्वको दोस्रो रक्षा खर्च गर्ने मुलुक इजरायल हो।
त्यसपछि अमेरिका, साउदी अरब र सिंगापुर छन्।
गत वर्ष इजरायलले जीडीपीको ४.५ प्रतिशत सेनामा खर्च गरेको थियो। यो विश्वको दसौँ ठूलो खर्च हो।
इजरायली एफ-१५
इजरायलले कोसँग हतियार किन्छ, कसलाई बेच्छ?
हालसम्मको अवस्था हेर्ने हो भने इजरायलले निर्यात गर्नेभन्दा कयौँ गुणा बढी हतियार आयात गरेको छ। तर, पछिल्लो दशकलाई मात्र हेर्दा आयातलाई निर्यातले जित्न थालेको छ।
२०१८–२०२२ को अवधिमा इजरायलबाट कम्तीमा ३२ मुलुकले हतियार किनेका छन्, ३.२ अर्ब डलर मूल्यको।
त्यसमध्ये एक तिहाइ हतियार त भारतले मात्र किनेको छ। उसले १.२ अर्ब डलर इजरायललाई हतियारका लागि तिरेको छ। भारतमा नरेन्द्र मोदी सत्तामा आएपछि यी दुई मुलुकको सम्बन्ध निकै राम्रो भएको छ।
भारतपछि अजरबैजान (२९.५ करोड डलर), फिलिपिन्स (२७.५ करोड डलर), अमेरिका (२१.७ करोड डलर) र भियतनाम (१८ करोड डलर) छन्।
सोही अवधिमा इजरायलले दुई मुलुकबाट मात्र हतियार किनेको छ। अमेरिका र जर्मनीसँग उसले २.७ अर्ब डलरको हतियार किनेको हो। त्यसमध्ये २.१ अर्बको अमेरिकाबाट र बाँकी झण्डै ५५ करोडको जर्मनीसँग किनेको हो।
अमेरिकी र इजरायली सेनाबीच निकट सम्बन्ध छ। उनीहरु मिलेर संयुक्त अभ्यास गर्छन्, प्रविधि विकासका कार्यक्रम चलाउँछन्। सबैभन्दा बढी अमेरिकी सैन्य सहयोग प्राप्त गर्ने मुलुक इजरायल नै हो।
अमेरिकाले कति सहयोग दिन्छ इजरायललाई?
१९४६ देखि हालसम्म इजरायलले अमेरिकाबाट २६३ अर्ब डलर सहयोग प्राप्त गरेको छ।
त्यसपछि गत ७७ वर्षमा दोस्रो ठूलो अमेरिकी सहयोग गर्ने मुलुक हो इजिप्ट। जसले १५१ अर्ब डलर प्राप्त गरेको छ।
अमेरिकी सांसदहरुले मध्यपूर्वमा अमेरिकाको रणनीतिक स्वार्थको रक्षकका रुपमा इजरायललाई लिने गर्छन्।
२०२३ मा अमेरिकाले इजरायललाई ३.८ अर्ब डलर सैन्य सहयोग गरेको छ। २०१६ मा एक दशकभित्र ३८ अर्ब डलर सहयोग गर्ने सम्झौता भएको थियो।
१९४६ देखि २०२३ सम्म सैन्य तथा रक्षा सहयोगका नाममा अमेरिकाले इजरायललाई १२४ अर्ब डलर दिएको छ।
यो वर्ष दिएको ३.८ अर्ब डलरमध्ये ५० करोड जति क्षेप्यास्त्र प्रतिरोधका लागि हो।
इजरायलभित्र हमासको आक्रमणलगत्तै इजरायलले अमेरिकाबाट आइरन डोमका गोलाहरु माग गरेको थियो। जसलाई तुरुन्त आपूर्ति गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका थिए।
बाइडेन प्रशासनले संसदलाई थप सहयोग उपलब्ध गराउन आग्रह गर्ने सम्भावना छ। तर, तल्लो सदनका सभामुख नहुँदा यो प्रक्रियामा ढिलाइ हुन सक्छ।
अमेरिकी सैन्य सहयोगका विभिन्न सर्त छन्। मानव अधिकार उल्लंघन गर्ने सैन्य टुकडीलाई अमेरिकी सैन्य सहयोग दिन प्रतिबन्ध छ। तर, हालसम्म यसअनुसार कुनै पनि इजरायली सैन्य टुकडीमाथि कारबाही भएको छैन।
१९६७ मा छिमेकी अरब मुलुकका सैनिकहरुलाई हराएर वेस्ट ब्यांक, इस्ट जेरुसलेम र गाजा कब्जा गर्न थालेपछि इजरायललाई अमेरिकी सैन्य सहयोग ह्वात्तै बढाइएको थियो।
अल जजिराबाट लिइएको