कोशीमा संसद जोगाउने गठबन्धनको रणनीति, लिङ्देनसँग प्रचण्डका सीधा कुरा

मूलखबर संवाददाता
काठमाडौं

कोशीमा संसद विघटन हुने अवस्था आउन नदिन सबै विकल्पमा जाने तयारी सत्ता गठबन्धनले गरेको छ। त्यसका लागि गठबन्धन दलले कोशी प्रदेश सरकार निर्माणमा अन्य दलको साथ लिने भएका छन्। ९३ सदस्यीय कोशी प्रदेश सभामा यसअघि बनेका दुई वटै सरकारले विश्वासको मत लिन नसकेपछि सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ को उपधारा ५ मा पुगेको छ।

सोही उपधाराअनुसार प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आगामी २६ गतेसम्म समय दिएका छन्। उपधारा ५ अनुसार प्रदेश सभाको कुनै सांसदले बहुमत पु¥याउन सके मुख्यमन्त्री बन्नेछन्।

प्रदेश सभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धनका ४७ सांसद छन्।

एमालेका ४० र राप्रपाको ६ सांसद छन्। गठबन्धनसँग प्रष्ट बहुमत छ। तर, राप्रपा वा एमालेलाई सरकारमा ल्याएर टिकाउ सरकार बनाउन चाहेको कांग्रेस प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिए।

मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको पदाधिकारी बैठकले कोशीमा आफ्नै नेतृत्वमा सकार बनाउन पहल गर्ने निर्णय गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डसँग मंगलबार सिंहदरबारमा भेट गरेका छन्। भेटमा कोशीमा सरकार गठनको विषयमा कुरा भएको छ।

यसअघि मुख्यमन्त्री भएर विश्वासको मत लिन नसकेका थापालाई फेरि मुख्यमन्त्री बनाउन नहुने इतरपक्षको मत छ । उक्त पक्षबाट नेता केदार कार्की मुख्यमन्त्री हुने दाउमा छन् । आफ्नो पक्षमा नेपाली कांग्रेसकै नौ सदस्यको हस्ताक्षर बोकेर हिँडेका कार्की एमालेसँग मिलेर भए पनि मुख्यमन्त्री हुन चाहन्छन् । कांग्रेस नेता शेखर कोइराला पनि पछिल्लो समय एमाले अध्यक्ष ओलीसँग निरन्तर संवादमा रहेको बताइएको छ ।

त्यस्तै प्रदेशसभामा १३ सिट रहेको माओवादीले पनि मुख्यमन्त्रीमा स्वभाविक दाबी गरिरहेको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटमा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा देखिएको राजनीतिक संकटलाई पार लगाउन सहयोग गर्न आग्रह गरेका हुन् । कोशी प्रदेशमा सरकार गठनका लागि राप्रपा ‘किङमेकर’ को रूपमा देखिएको छ । त्यसैले राप्रपालाई सत्ता गठबन्धनले साथ लिने प्रयास गरिरहेको छ ।

तर, राप्रपाले अहिलेसम्म ठोस बचन भने दिइसकेको छैन । आजको छलफलमा पनि राप्रपा अध्यक्ष लिङ्देनले सरकार गठनका विषयमा आफूहरू आन्तरिक छलफलमा रहेकाले तत्काल निर्णय दिन नसक्ने प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिएका छन् ।

राप्रपा सरकार गठनका लागि तयार भए पनि सत्ता समीकरणको आफ्नो ठोस एजेण्डा बताइसकेको छैन ।अनौपचारिक संवादमा मुख्यमन्त्री दाबी गर्ने र मुख्यमन्त्री नभए अन्य विकल्पमा खुला रहने बताए पनि ठोस माग भने राखेको छैन । अहिले राप्रपा र सत्ता गठबन्धन विश्वास निर्माणको चरणमा छन् ।