इजरायलमा रहेका नेपाली फर्किन के गर्नु पर्छ? यी हुन् सम्पर्क व्यक्तिहरू

मूलखबर संवाददाता
काठमाडौं

प्यालेस्टाइनी समूह हमासले इजरायली सीमा क्षेत्रमा गरेको आक्रमणका कारण नेपालीहरू प्रभावित भएका छन्। हाल त्यहाँ रहेका नेपालीमध्ये एक जना वेपत्ता रहेको र कतिपय घाइते रहेको सरकारले बताएको छ।

हमासले आक्रमण गरेको इजरायलको दक्षिणी किबुज क्षेत्रमा ज्यान बचाउन सफल केही नेपाली विद्यार्थी तेल अभिव पुगेका छन् । जेरुसलेमको तुलनामा बढी सुरक्षित मानिने तेल अभिवमा नेपालको दूतावास छ । सेदाेत नेगेभ कृषि केन्द्रअन्तर्गत किबुज आलुमिम फार्ममा प्रशिक्षणमा १७ नेपाली कार्यरत थिए ।

त्यहाँ उनीहरूका लागि फार्मले नै आवासको व्यवस्था गरेको थियो । उनीहरू गत महिना मात्रै इजरायल पुगेका थिए ।तर, शनिबार बिहान एक्कासि उक्त क्षेत्रमा प्यालेस्टाइनी विद्राेही समूह हमासले बम आक्रमण गरेकाे थियाे । त्यसपछि भागेर १७ जना नै एक घरकाे बंकरमा लुकेका थिए । उनीहरू बसेकै बंकरमा हमासले बाहिरबाट ग्रिनेट हानेकाे ज्यान जाेगाउन सफल एक विद्यार्थीले बताएका छन् ।


इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले १० नेपालीको मृत्यु भएको पुष्टि गरेकी छन् । त्यहाँ कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ । यस्तै मृत्यु भएका १० जना नेपालीको स्वदेश शव ल्याउन पनि आवश्यक प्रबन्ध गर्ने इजरायलस्थित नेपाली दूतावासले जनाएको हो।

दूतावासले नेपाल फर्कन इच्छुक हुने नेपालीहरूको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण सङ्कलनको लागि छिट्टै अनलाइन रजिस्ट्रेसनको व्यवस्था गरिने जनाएको छ ।

उद्धारको पर्खाइमा रहेका बाँकी नेपाली विद्यार्थी र श्रमिकहरूलाई समेत नेपाल सरकार, तालिम प्रदायक केन्द्र, रोजगारदाता र इजरायलवासी नेपाली समुदायसँगको सहकार्यमा तुलनात्मक रूपमा बढी सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने र आवश्यक चाँजो मिलाएर नेपाल पठाउने तयारी गरिएकाे राजदूत कान्ता रिजालले जानकारी दिइन् ।

हाल आफू रहेकै ठाउँमा सुरक्षित रहँदै दर्ता (रजिस्ट्रेसन) प्रक्रियामा सहभागी हुन पनि दूतावासले सम्बन्धित सबैलाई पुनः आह्वान गरेकाे छ ।

इजरायलमा रहेका नेपालीलाई सहज बनाउन परराष्ट्र मन्त्री एनपी साउदको नेतृत्वमा समन्वय संयन्त्र बनाइएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको उपस्थितिमा बसेको बैठकले समन्वय संयन्त्र गठन गरेको परराष्ट्र मन्त्री साउदले प्रतिनिधि सभा बैठकमा जानकारी गराएका थिए।

‘यस संयन्त्रले घटनाको निरन्तर अनुगमन र बस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने भए गर्ने, समन्वय तथा सहयोगलगायत कार्य गर्नेछ,’ मन्त्री साउदले भने।

इजरायलमा चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र दुई सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको परराष्ट्र मन्त्री साउदले बताएका छन्।

यी हुन् सम्पर्क व्यक्ति

नेपालीलाई उद्धार र सहजीकरणका लागि परराष्ट्र मन्त्रालले सम्पर्क व्यक्ति तोकेको छ । शनिबारदेखि सुरु आक्रमणमा रोजगार र अध्ययनका लागि इजरायल पुगेका केही नेपाली समेत परेपछि परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि प्रवक्ता सेवा लम्सालसहित ६ जनाको सम्पर्क नम्बरसहित सम्पर्क व्यक्ति तोकेको हो ।

सम्पर्क व्यक्तिमा परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ ।

यस्तै इजरायलस्थित तल अबिवमा रहेको नेपाली राजदूतावासमा रहेका राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क व्यक्ति तोकेको छ ।

 

उनीहरू सबैको सम्पर्क नम्बरसहित दूतावासको ईमेलसमेत मन्त्रालयल खुला गरेको जनाएको छ ।