झलनाथ खनाल प्रतिष्ठानको सर्पपालनमा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्पपालन कार्यक्रममा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्री र सचिवसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले मधेश प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजयकुमार यादव, तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, सदस्य देवेन्द्र राय र लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार सर्लाहीको लालबन्दीमा प्रतिष्ठानसँग मिलेर सर्पको विष सङ्कलन गरी प्रशोधन र उत्पादन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले उपलब्ध गराएको बजेटमा भ्रष्टाचार भएको पाइएको हो । कार्यक्रमका लागि आर्थिक वर्ष २०७६/७७ को मधेश प्रदेश सरकारको बजेट वक्तव्यमा सङ्घीय सरकारले समपूरक अनुदानका रुपमा बजेट उपलब्ध गराएको थियो ।

आयोगले आयोगले आर्थिक मामिला तथा योजनामन्त्री यादव र लालबन्दीका तत्कालीन प्रमुख खड्काविरुद्ध १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ बराबरको बिगो र कैद सजायको मागदाबी गरेको छ । प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, सदस्य देवेन्द्र राय विरुद्ध पनि १७ करोड ९८ लाख ३३ हजार बराबरको बिगो र कैद सजायको मागदाबी गरेको छ । यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठविरुद्ध ३ करोड २७ लाख रुपैयाँ मागदाबी गरेको छ ।

नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने र सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गरी पछि स्वदेशमै ल्याब स्थापना गर्ने योजना बनाएको थियो । सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि संघीय सरकार, प्रदेश २ सरकार र लालबन्दी नगरपालिकासँग प्रतिष्ठानले ७२ करोड रुपैयाँको परियोजनामा हस्ताक्षर गरेको थियो ।

सर्प पाल्ने भनिएको जग्गा प्रतिकठ्ठा साढे ३ लाख रुपैयाँका दरले टेण्डरमार्फत खरिद गरिएको थियो । प्रतिष्ठानले किनेको यो जग्गामा तीनै तहका सरकारको लगानी छ ।

विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा हरेक वर्ष मानिसहरुको ज्यान जाने गरेको छ । सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ । अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न नसकेको र सर्पदंशको उपचारमा भारतसँग निर्भर हुनु परिरहेको सन्दर्भमा स्वदेशमै सर्प पालेर विष उत्पादन गर्ने भनिएकै कार्यक्रममा मोटो रकम भ्रष्टाचार भएको छ ।