विश्वकप क्रिकेट र भारतीय अर्थतन्त्रको साइनो, २ खर्ब १४ अर्व योगदानको प्रक्षेपण

मूलखबर संवाददाता
काठमाडौं

आजदेखि भारतमा एक दिवसीय क्रिकेट विश्वकप सुरु हुँदैछ। प्रतियोगितामा १० देशबीच प्रतिस्पर्धा मात्र हुनेछैन, यसले भारतको अर्थतन्त्र विस्तारमा पनि महत्त्वपूर्ण योगदान गर्दैछ। विश्वकपले भारतीय अर्थतन्त्रका धेरै क्षेत्र चलायमान बनाउने छ।

बिक्यू प्राइम (ब्लुमबर्ग क्विन्ट) ले विश्वकपबाट भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढ्ने प्रक्षेपण गरेको छ। विश्वकपमा भारतको जीडीपी १ अर्ब ६० करोड अमेरिकी डलर (२ खर्ब १४ अर्ब नेपाली रुपैयाँ) हाराहारीमा बढ्ने बिक्यू प्राइमले उल्लेख गरेको हो।

विश्वकपका खेल हेर्न भारतीय दर्शक त विभिन्न सहरमा पुग्नेछन् नै, प्रतिस्पर्धी देशका क्रिकेट प्रेमी पनि ठूलो संख्यामा आउँदैछन्। उनीहरूले अहिलेदेखि नै फ्लाइट बुक गरिरहेका छन्। दर्शकहरूका कारण रंगशालाको टिकट मात्र बिक्री हुनेछैन, होटेल रेस्टुरेन्टलाई पनि भ्याइनभ्याइ हुनेछ। स्ट्रिट फुडको व्यापार गर्नेहरू पनि निकै व्यस्त हुनेछन्। साथै दर्शक पायक पर्ने पर्यटकीय क्षेत्रमा जाने र ‘मेमोरी’ का लागि त्यहाँ उनीहरूले किनमेल गर्नेछन्।

विश्वकपका कारण सबैभन्दा फाइदा भारतको हवाइ उड्डयन र हस्पिटालिटी उद्योगले पाउने छ। जसको प्रत्यक्ष प्रभाव भारतको जीडीपीमा पर्ने छ।

ब्लुमबर्गको रिपोर्ट अनुसार विश्‍वकपको समयमा भारतको जीडीपीमा १ अर्ब ६० करोड अमेरिकी डलरभन्दा बढीको योगदान पुग्ने छ। यो रकम सन् २०१५ मा अस्ट्रेलिया- न्युजिल्याण्ड संस्करण र २०१९ मा बेलायत संस्करणभन्दा तीन गुणाभन्दा धेरै हो। सन् २०१५ मा अस्ट्रेलिया-न्युजिल्याण्डमा विश्वकप हुँदा त्यहाँको जीडीपीमा ३४७.२ मिलियन र बेलायतमा ४४७.८ मिलियन डलरको योगदान पुगेको थियो।

विश्‍वकपका खेल हुने १० सहरलाई केन्द्रविन्दुमा राखेर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को लगानीदेखि प्रतियोगिता हेर्ने भारतीय र विदेशी समर्थकहरुले रंगशाला, रेस्टुरेन्ट, होटेल, हवाई भाडा, खाना र घुमघाममा गर्ने खर्चलाई आधार मानेर ब्लुमबर्गले भारतको अर्थतन्त्र २ खर्ब १४ अर्ब रुपैयाँ बढ्ने अनुमान गरेको हो।

उसले अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा रंगशालाको क्षमता, त्यहाँ आउने भारतीय र विदेशी स्टेकहोल्डर र समर्थक, रंगशालाको टिकट शुल्क, खेल हुने सहरको हवाई भाडा, होटलको शुल्क, खानाको औसत मूल्यलगायतलाई आधार मानेको छ।

विश्‍वकपको समयमा एयरलाइन्समा बुकिङ बढेको छ। होटलहरुमा पनि धमाधम बुकिङ भइरहेको छ। भारत-पाकिस्तानको खेलका लागि अहमदाबादमा होटलको शुल्क १५ गुणाभन्दा धेरै बढेको छ। रेस्टुरेन्टको व्यापार पनि निकै बढ्ने अनुमान छ। फास्टफुड चेनको माग बढ्ने निश्‍चित हुँदा होम डेलिभरी पनि बढ्ने आकलन छ।

इकोनमिक टाइम्सको रिपोर्ट अनुसार खानेकुरा, ग्रोसरी र इकमर्स अन्तर्गत डेलिभरी सर्भिससँग सम्बन्धित कम्पनीले जनशक्ति ‘हायर’ गर्न सुरु गरिसकेका छन्। महत्वपूर्ण खेल हुने दिन दर्शकले घरमै बसेर हेर्ने र खानेकुरा अर्डर गर्ने आकलन गर्दै रिक्रुटमेन्ट सर्भिस कम्पनीले डेलिभरीलगायत क्षेत्रमा माग ह्वात्तै बढ्ने अनुमान गरेका छन्। यसपालिको विश्‍वकप भारतमा त्यहाँको महत्वपूर्ण पर्व दिपावलीको ठिक अघि भएकाले स्वीगी, जेप्टो, इकम एक्सप्रेसलगायत कम्पनीले ‘भ्याकेन्सी’ खुलाउन सुरु गरेका छन्।

त्यस्तै टीभी सेट, उच्च गतिको इन्टरनेट, ओटीटी सब्सक्रिप्सनलगायतको माग बढेको सीआईइएल एचआर सर्भिसका प्रमुख कार्यकारी निर्देशक आदित्य मिश्रले बताए। ‘यसको प्रभाव यात्रा, उड्डयन, आतिथ्य र पर्यटनमा महसुस हुनेछ,’ उनले भने।

खेल अहमदाबाद, कोलकात्ता, दिल्ली, हैदराबाद, लखनउ, बेङलोर, पूणे, चेन्नइ, मुम्बइ र धर्मशाला गरी १० सहरका रंगशालामा हुनेछन्। १० सहरमध्ये सबैभन्दा ठूलो रंगशाला अहमदाबादमा छ। त्यहाँको नरेन्द्र मोदी रंगशाला १ लाख १० हजार दर्शक क्षमताको हो। सबैभन्दा सानो धर्मशाला रंगशाला हो। त्योसँग २५ हजार दर्शक क्षमता छ। बाँकी रंगशाला ३३ देखि ५५ हजार दर्शक क्षमताका हुन्। क्षमता अनुसार दर्शक उपस्थित भए २४ लाख ४२ हजार जनाले रंगशालामा विश्‍वकप हेर्नेछन्।

अघिल्ला विश्‍वकपको तथ्यांक हेर्ने हो भने रंगशालामा कम्तीमा २० प्रतिशत दर्शक विदेशी हुने गरेका छन्। त्यस्तै ४० प्रतिशत अर्को सहरका र ४० प्रतिशत घरेलु सहरका दर्शक हुने गरेको तथ्यांक छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को रिपोर्ट अनुसार सन् २०१९ मा बेलायतले विश्‍वकप आयोजना गर्दा ८५ प्रतिशत टिकट खरिदकर्ता आयोजक सहरभन्दा बाहिरका थिए। दर्शकले तारे होटलमा एक रातको औसतमा चेन्नइमा सबैभन्दा कम ६ हजार र अहमदाबादमा सबैभन्दा धेरै १२ हजार ५ सय भारतीय रुपैयाँ तिर्नुपर्ने छ।

त्यस्तै टिकट शुल्क पनि रंगशाला अनुसार फरक फरक छ। दर्शकले कोलकोत्तामा हुने खेलमा बढीमा ५५ सय र चेन्नइमा हुने खेलमा कम्तीमा ३ हजार भारतीय रुपैयाँ तिर्नुपर्ने छ। त्यस्तै खाना न्यूनतमा ३५० भारुदेखि नै पाइन्छ। तर दिल्लीमा अन्य स्थानको तुलनामा निकै बढी पर्छ। जसका कारण खानाका लागि बढीमा औसत ११ सय भारुसम्म पर्न आउँछ। यातायातमा पनि खर्च हुन्छ। इन्टरसिटी ट्रान्सपोर्टमा सस्तोमा अहमदाबादमा १ हजार ५० देखि महँगोमा मुम्बइमा १६ सय ५० भारु पर्छ। सहर पिच्छेको खर्च फरक छ।

समर्थक कुन टिमको हो भन्नेले खर्च निर्धारण गर्छ। जस्तै दिल्लीबाट मुम्बइ जानेले औसतमा ३० हजार २ सय भारु खर्च गर्दा मुम्बइबाट दिल्ली जानेको खर्च २९ हजार ६ सय निस्कन्छ। यसबाहेक अप्रत्यक्षरुपमा पर्यटनमा ५ हजार ७०५ करोड भारु खर्च हुने अनुमान गरिएको छ।

आज न्युजिल्याण्ड र इङ्ल्यान्डबीचको खेलबाट विश्‍वकपको उद्घाटन हुने । फाइनल खेल नोभेम्बर १९ मा हुनेछ।