अमेरिकी डिभी चिठ्ठामा आवेदन दिँदा ध्यान दिनुस् यी कुरा

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (ई–डिभी)को आवदेन आज रातिदेखि खुला हुँदैछ ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि आवेदन खुला हुनेछ । आवेदन भर्ने म्याद नोभेम्बर ७ तारिख १०ः४५ बजेसम्म छ ।

डिभी कार्यक्रमका लागि योग्य आवेदकहरुको छनोट एकदमै निष्पक्ष हुने दूतावासले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

तोकिएका प्रक्रिया र मापदण्ड पूरा गरी अनलाइनमार्फत् आवेदन दिन सकिन्छ । कसैकसैले डिभीको आवेदन फारम भरिदिएबाफत् शुल्क लिने गर्दछन् । तर यो आफैंले घर बसीबसी पनि भर्न सकिन्छ ।

डिभी भर्नका लागि कम्तिमा १२ कक्षा पास भएको हुनुपर्ने र पासपोर्ट हुनुपर्ने अनिवार्य गरिएको छ ।

डिभी भर्नका लागि यी कुराहरुमा सबैभन्दा बढी ध्यान दिनुहोला

१. डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ । यदि तपाईहरुसँग यी योग्यताहरु छैनन् भने डिभी नभर्नुहोला । कतिपयले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दा प्रहरी खोरमा पुग्नुका साथै अमेरिका प्रवेशमा सधैका लागि प्रतिबन्ध समेत भोग्नु परेको छ ।

२. डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ । कतिपयले पहिले नै डिभी भर्दा प्रयोग भएको फोटो पटकपटक प्रयोग गर्दै आएका हुन्छन् । त्यस्तै कतिपयले अमेरिकाको भिसामा पहिले प्रयोग भएको फोटो समेत डिभी भर्दा प्रयोग गर्छन् । यस्तो गल्ती नगर्नुहोला । नयाँ फोटो खिचेर डिभी भर्नुहोला । पूरानै फोटो प्रयोग गर्दा डिभीका लागि अयोग्य हुने सम्भावना रहन्छ ।

३. डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ । एकल उल्लेख गरेर भर्दा पर्ने सम्भावना बढी हुन्छ भन्ने भ्रममा परेर समेत कतिपयले एकल उल्लेख गर्छन्, जुन गलत हो ।  डिभी भर्दा एकल भरेका विवाहितले डिभी परेपछि समस्या भोग्दै आएका कैयन उदाहरणहरु छन् । त्यस्तै डिभी भर्दा छोराछोरीको विवरण उल्लेख नगरेकाहरुले पनि डिभी परेपछि भिसा लिने बेलामा समस्या भोग्दै आएका छन् । कतिपयको भिसा समेत अस्वीकृत हुने गरेको छ । त्यसैले डिभी भर्दा दम्पत्ति र छोराछोरीको सम्पूर्ण विवरण उल्लेख गर्न सुझाव दिइएको छ ।

४. डिभी भर्दा सरकारको आधिकारिक वेवसाइटबाटमात्र भर्नुपर्छ । अक्टोबर ६ पछि सरकारको आधिकारिक वेवसाइटमा डिभी भर्ने लिंक उपलब्ध हुनेछ । त्यसका लागि यहाँ क्लीक गर्नुहोला । कुनै तेश्रो संस्था वा व्यक्ति वा वेवसाइटमार्फत डिभी भर्दा ठगिने र रकम गुमाउनेमात्र होइन आफ्ना विवरणहरु समेत चोरिने सम्भावना हुन्छ ।

५. एउटाभन्दा धेरै आवेदन दिनेहरु स्वत अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी दिएको छ । कतिपयले एउटा भन्दा बढी आवेदन दिंदा डिभी पर्ने चान्स बढी हुने भ्रममा परेर धेरै आवेदन समेत दिने गरेका छन् । तर यसो गर्दा तपाईका सबै आवेदनहरु डिभीका लागि अयोग्य हुन्छन् । तपाईका कोही आफन्तले तपाईका नाममा डिभी भरिसकेका छन् भने पनि तपाईले अर्को डिभीको आवेदन दिनु हुँदैन ।

पासपोर्ट अनिवार्य

डिभीका लागि आवेदन दिँदा पासपोर्ट अनिवार्य गरिएको छ ।  पासपोर्टमा भएको नाम, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, जारी भएको देश लगायतका विवरणहरु भर्नुपर्नेछ ।

कम्युनिष्ट नियन्त्रित देशका सन्दर्भमा भने कम्युनिष्ट नियन्त्रित देशको सरकारबाट पासपोर्ट पाउन नसकेको व्यक्तिका सन्दर्भमा वा अमेरिकी विदेशमन्त्री र गृहमन्त्रीबाट वेभर स्वीकृत भएका व्यक्तिका सन्दर्भमा बाहेक अन्य सबैले डिभी लोटरी भर्दा पासपोर्टको विवरण अनिबार्य बुझाउनुपर्ने जनाइएको छ ।

कम्युनिष्ट नियन्त्रित देशका सन्दर्भमा भने कम्युनिष्ट नियन्त्रित देशको सरकारबाट पासपोर्ट पाउन नसकेको व्यक्तिका सन्दर्भमा वा अमेरिकी विदेशमन्त्री र गृहमन्त्रीबाट वेभर स्वीकृत भएका व्यक्तिका सन्दर्भमा भने पासपोर्टको विवरण बुझाउनु नपर्ने विकल्प समेत दिइएको छ ।

अमेरिकी सरकारले भनेको छ – ‘अद्यावधिक पासपोर्टले डिभीको प्रकृयामा सुरक्षा थप गर्नुका साथै तपाईको आवेदन संरक्षित गर्न मद्दत गर्छ । यो नियम बालबालिकाहरु र प्रारम्भिक आवेदकका दम्पत्तिका सन्दर्भमा लागु हुनेछैन । पासपोर्ट अन्तर्राष्ट्रिय यात्राका लागि वैध हुनुपर्छ । केही देशले जारी गरेका आन्तरिक पासपोर्टहरु डिभी आवेदन प्रयोजनका लागि योग्य हुने छैनन् ।’

पासपोर्ट हराएमा वा म्याद सकिएमा

डिभी लोटरी भरिसकेपछि भिसाका लागि आवेदन भर्ने बेलासम्म पासपोर्ट हराएमा वा म्याद सकिएमा भने त्यसको प्रमाण अमेरिकी सरकारलाई बुझाउनुपर्नेछ । यदि कुनै कारणवश पासपोर्ट नम्बर परिवर्तन भएमा त्यसको प्रमाण र परिवर्तन हुनुको कारण डिभी अन्तरवार्ता आउनु अगाडि नै केन्टकी सर्भिस सेन्टरलाई बुझाउनुपर्ने अमेरिकी सरकारले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ – ‘यदि तपाईले गलत पासपोर्ट नम्बरसहित डिभी लोटरीका लागि आवेदन दिएमा तपाई स्वत अयोग्य हुनुहुनेछ भने तपाईको डिभी आवेदन अस्वीकृत गरिनेछ । तपाईले डिभी लोटरी भर्दा प्रयोग गरेको पासपोर्टको वैध फोटोकपी गरेर तपाईको इन्ट्री नम्बरसहित सुरक्षित स्थानमा राख्नका लागि सुझाव दिन्छौं । फोटोकपी आफैमा वैध पासपोर्ट नम्बर प्रमाणित गर्ने प्रमाण नभएपनि यसले तपाईको अवस्थाको व्याख्या गर्न मद्दत गर्नेछ । अन्तिम निर्धारण कन्सुरल अफिसरले तपाईको डिभी अन्तरवार्ताकै बखत गर्नेछन् ।’

अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी भर्न पाउने

अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरीका लागि फर्म भर्न पाउनेछन् । नेपाल डिभी लोटरीका लागि योग्य देशको सूचीमा रहेका कारण अमेरिकामा रहेका तर कागजपत्र नभएका नेपालीहरुले पनि डिभी लोटरी भरेर यो कार्यक्रमबाट फाइदा लिन सक्नेछन् ।

यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।

युएससीआईएसलाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनु पर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको पतिरपत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर आर्थिकबर्षभित्र नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् किनभने नयाँ आर्थिक बर्ष लाग्नासाथ जुन आर्थिक बर्षको डिभी कार्यक्रम हो, त्यसको अवधि समाप्त हुन्छ ।

खासगरी अमेरिकामा विद्यार्थी भिसामा रहेका नेपालीहरुले डिभी लोटरीबाट फाइदा लिन सक्नेछन् । त्यो बाहेक अन्य गैरआप्रवासी भिसामा रहेका नेपालीहरुले पनि डिभी कार्यक्रमबाट फाइदा लिन सक्नेछन् । तर अमेरिकामा गैरकानुनी उपस्थीति भइसकेकाहरुको सन्दर्भमा भने डिभी लोटरी परेमा स्टाटास एड्जस्ट गर्न मुस्किल हुनेछ ।

अमेरिकामा रहेका नेपाली टीपीएसबाहक पनि डिभी लोटरीका लागि योग्य हुनसक्नेछन् । तर उनीहरु टीपीएसमा जानु अगाडि अमेरिकामा गैरकानुनी उपस्थीति भएको हुनुहुदैन । स्टेटस एड्जस्ट गर्दासम्म टीपीएसमै वा वैध स्टाटसमा रहेको हुनुपर्नेछ ।

यी पेशामा विगत पाँच वर्षभित्र दुई वर्षको अनुभव भए डिभीका लागि योग्य

हाइस्कुल स्तरको शिक्षा नभए पनि डिभी लोटरी भरेर अमेरिका जानका लागि योग्य हुनसक्ने जनाइएको छ । अमेरिकी सरकारले तोकेको काममा अनुभव भएमा शैक्षिक योग्यता नभए पनि डिभी लोटरीको लागि योग्य हुने प्रावधान रहेको छ ।

अमेरिकी सरकारले तोकेका जागिरहरुमा विगत पाँचबर्षभित्र दुईबर्षको अनुभव भएको व्यक्ति डिभी लोटरीका लागि योग्य हुने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटले जनाएको छ ।

अमेरिकी सरकारले डिभी लोटरीका लागि पहिलो योग्यताका रुपमा हाइस्कुल स्तर (१२ कक्षासम्म) को शिक्षा तोकेको छ । यदि हाइस्कुल स्तरको शिक्षा नभएको खण्डमा अमेरिकी सरकारले तोकेका कामममा दुईबर्षको अनुभव भएका व्यक्ति पनि डिभी लोटरीका लागि योग्य हुनेछन् ।

अमेरिकी सरकारले तोकेका एसभीपी ७ भन्दा माथि भएका र जोन ४ र ५ मा पर्ने जागिरहरुमा दुईबर्षको तालिम वा अनुभव भएको खण्डमा डिभी लोटरीका लागि शैक्षिक योग्यता नभएपनि योग्य हुनसक्ने प्रावधान रहेको छ ।

जसअनुसार हाइस्कुल स्तरको शिक्षा नभएको खण्डमा गायकहरु डिभी लोटरीका लागि योग्य हुँदैनन् तर कवि, गितकार साहित्यकार, लेखकहरु दुई वर्षको तालिम वा अनुभव भएको खण्डमा डिभी लोटरीका लागि योग्य हुन्छन् ।

दुई वर्षको अनुभव वा तालिम भएको खण्डमा सेक्युरिटी मेनेजर, होलसेल सेल्स रेप्रेजेन्टेटिभ, सेल्स मेनेजरहरु पनि योग्य हुन्छन् तर खुद्रा ब्यापारीहरु भने योग्य हुँदैनन् ।

त्यस्तै कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम निर्देशकहरु , पु्रफरिडरहरु, कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम प्रोड्युसरहरु, कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा संगितकारहरु पनि योग्य हुन्छन् तर मोडलहरु भने योग्य हुँदैनन् ।

लाइब्रेरियन, कला, नाटक, संगितका शिक्षक लगायतका पेशामा दुई वर्षको अनुभव र तालिम भएकाहरु पनि डिभी लोटरीका लागि योग्य हुन्छन् ।

तपाईको पेशा डिभी लोटरीका लागि योग्य भएनभएको जाँच गर्न यो लिंकमा क्लिक गर्न सक्नुहुनेछ ।

क्लिक गरिसकेपछि तपाईले आफ्नो पेशा छान्नुहोस् । त्यो पेशामा क्लिक गरेर हेर्दा यदि त्यो पेशा जब जोन ४ वा ५ मा परेमा र त्यसलाई एसभीपी ७ वा त्यो भन्दा माथि रेटिङ गरिएको भएमा त्यो काम डिभी लोटरीका लागि योग्य मानिन्छ ।