कम्बोडियाबाट २० नेपालीकाे उद्दार

मूलखबर संवाददाता
काठमाडौं, ५ चैत

कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ ।

थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरुलाई आज स्वदेश फर्काइएको हो ।

विभिन्न व्यक्तिको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका ‘अनलाइन स्क्यामिङ’ केन्द्र र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका उनीहरुलाई अन्य गैरकानुनी काममा समेत लगाइएको थियो ।

कम्बोडियामा नेपाली नागरिकहरु अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिना भिसा वा भिसा–अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ । स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी धेरैको गुनासो आएको दूतावासले जनाएको छ ।

त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ । कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा एक हजार ९७७, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया गएको देखिन्छ ।