खाडी क्षेत्रका नेपाली मजदुरको पीडा, नगए जागिर जाने, गए सुरक्षाकाे चिन्ता

मूलखबर संवाददाता
काठमाडौं, ९ चैत

छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई साथीहरूले तुरुन्तै कतारा नआउनु सुझाव दिन्छन् । राम्रो आम्दानी भएको जागिर गुम्ने डरले बुटवलका २७ वर्षे महतले वैदेशीक रोजगार नगइ सुख छैन । युद्धको प्रवाह नगरी उहाँ दुई पटक रद्द भएको कतार यात्रा फेरि सुरु गर्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “साथीले नआइज भन्छन्, नजाऊ जागिर खोसिने डर छ ।”

उहाँ घर आएको एक हप्तामा अमेरिका–इजराइल र इरान बीचको युद्ध सुरु भएको थियो । सुरुमा डर लागे पनि परिवार चलाउने आधार गुमाउन नचाहेको उहाँले सुनाउनुभयो । होटलमा सेफको जागीर गरेर उहाँले मासिक दुई लाख आम्दानी गर्नुहुन्छ । जुन रकम उहाँले घर चोखो पठाउनुहुन्छ । गाउँमा बस्दा जति सुकै मिहिनत गरे पनि खाएर सकिने र बचत नहुने हुँदा विदेशै आयस्रोतको गतिलो गन्तव्य रहेको उहाँले सुनाउनुभयो । यही मार्च २५ तारिखमा कतार प्रस्तान गर्न लाग्नुभएका उहाँले भन्नुभयो, “जे त होला भनेर जाँदै छु, यहाँ बसेर के गर्नु आम्दानी छैन ।”

युद्धको प्रभावलाई बेवास्ता गर्दै रोजागरमा जाने युवाहरूको बाध्यता छन् भने विदेशमा भएका कहिले घर फर्किने भन्ने प्रतिक्षामा छन् । कतारको एक कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत सुरवीर लामाले घर फर्किने मन बनाएको थुप्रै भयो । फर्किने अवस्था नरहेको उहाँकी श्रीमती रुमा लामाले बताउनुभयो ।

छोराछोरीसहित काठमाडौँमा बस्नुभएकी काभ्रेपलाञ्चोककी रुमाले श्रीमान्लाई फर्किनु भने पनि घरको स्थितिले गर्दा फर्किन नमानेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घर आएर छोराछोरी र तिमीलाई कसले पाल्छ ? बाध्यताले त्यही बस्नुभएको छ ।” रुमाका अनुसार दुई छोराछोरीको पढाइ खर्च र घर बनाउने सपनाले उहाँलाई खाडीमा जोखिम मोलेरै भए पनि मजदुरी गर्दै गरेको सुनाउनुभयो ।

साउदी अरबमा १२ वर्षदेखि मजदुरी गर्दै आएका विशाल गैरेले सरकारले केही दिनदेखि रोकेको श्रम स्वीकृति खुलेकामा खुसी हुनुभयो । श्रम स्वीकृत रोकिँदा काम गर्न जान नपाइने हो की भन्ने चिन्ताले सताएको बताउनुभयो । उहाँले भन्नुभयो, “उता गए, ज्यानको डर यता बसे परिवार पाल्न नसकिने डर । गरिबलाई जता सुकै डरै डर छ ।”

यता नेपाल बिदामा आएका जोखिम मोलेरै भए पनि काममा फर्किन चाहन्छन् भने उता विदेशमा भएकाहरू आर्थिक मन्दी बढ्दै गएको र आफू सुरक्षित नभएको बताउँदै घर फर्किन चाहन्छन् ।

कुबेदको एक क्याफेमा वरिष्टाको कामदार रहेका विमल (नाम परिवर्तन) राईले मिलेसम्म स्वदेश फर्किन चाहनुहुन्छ । अहिले सबै सामान्य जस्तो देखिन्छ तर, एरपोर्टमा, तेल खानी तिर बम हान्दा आफूलाई जोखिमपूर्ण महसुस भएको बताउनुहुन्छ । “फर्किन पाए भने जागिरै छोडेर आउन तयार छु”, उहाँ भन्नुहुन्छ, “कम्पनीहरू बन्द हुँदै छन्, आर्थिक सङ्कट देखिन थालेको छ ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका (पश्चिम एसिया) युद्धको प्रभावका कारण सुरक्षालाई ध्यानमा राख्दै साउदी अरेविया, युएइ, कतार, कुबेत, बहराइन, ओमन, इराक, यमन, जोर्डन, लेवनान, टर्की र इजराइलसहित देशमा श्रम स्वीकृति स्थगन गरेको थियो ।