एमाले भित्रको विद्रोहमा छायाँ शक्ति निर्णायक, कर्णालीमा पनि पल्टियो ओलीको सत्ता

मूलखबर संवाददाता
काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका जारी प्रदेश अधिवेशनहरूमा सहमतिमा नेतृत्वसहितको कार्यसमिति चयन गर्न निर्देशन दिए पनि निर्देशनले काम नगर्ने देखिएपछि ओलीले प्यानलगत उम्मेदवारी दिए कारबाही गर्ने चेतावनी दिएका थिए ।

कुनै बेला ओलीको भाषणबाट तर्सित हुने एमाले नेता कार्यकर्ता अब डराउन छोडेका छन्। ओलीको निर्देशन कतै पनि कार्यान्वयन भएन । लुम्बिनी र वाग्मतीको चुनावी नतिजा तथा कोसी र कर्णालीमा नेतृत्वका लागि भएका चुनावले प्रदेश अधिवेशनमा अध्यक्ष ओलीकै निकटस्थबीच सत्ता र प्रतिपक्षको जस्तै संघर्ष चलिरहेको छ ।

अर्थात्, नेतृत्वको आकांक्षीबीच अध्यक्ष ओलीको निकटस्थ देखाउने प्रतिस्पर्धा नै चलिरहेको छ । कुनै बेला निकट मानिएकाहरु नै ओलीले अध्यक्ष बनाउन चाहेका व्यक्तिविरुद्ध खडा भएका छन् । एमालेमा ओलीको व्यक्तिवादी व्यवहारबाट पिल्सिएका आकांक्षीहरु निर्देशनभन्दा अलग्गै उभिएका छन् ।

“हिजो ओलीको व्यक्तित्वमा मेरो पनि अनुहार छ भन्नेहरु उनले भनेको व्यक्तिविरुद्धमा खडा भए,” प्रदेश अधिवेशनमा देखिएको दृश्य बयान गर्दै पार्टीका एक शीर्ष नेताले मूलखबरलाई भने, “जसले साथ दिए, उसैमाथि शंका भयो । दमन, हस्तक्षेप, अत्याचार उसैमाथि भयो । त्यसको आक्रोश अधिवेशनमा देखिएको छ ।”

एमालेमा सर्वसम्मत् रुपमा अध्यक्ष चयन गर्ने ओलीको निर्देशन लुम्बिनी अधिवेशनबाट उल्लंघन भयो । लुम्बिनी अधिवेशनमा अध्यक्ष ओलीले सघाएका केन्द्रीय सदस्य हरि रिजालविरुद्ध राधाकृष्ण कँडेल उभिए । उनी विगतमा ओलीनिकट नै मानिन्थे । तर, अधिवेशनमा अध्यक्ष ओलीले उनीविरुद्ध उभिएका केन्द्रीय सदस्य हरि रिजालको पक्षपोषण गरे ।

उनले रिजालको पक्षमा भोट नै मागिदिने परिस्थिति निर्माण भएपछि कँडेल प्रतिस्पर्धामा उत्रिए । “अध्यक्ष ओलीले रिजालको पक्षमा फोन गरेपछि पनि कँडेल प्रतिस्पर्धामा उभिनुभयो,” लुम्बिनी अधिवेशनलाई नियालेका एक नेता सुनाउँछन् ।

लुम्बिनी अध्यक्ष बन्न पार्टी उपाध्यक्ष विष्णु पौडेलको साथ पाएका कँडेल दुई मतको मतान्तरमा निर्वाचित भएका थिए । अध्यक्षसहित महासचिव शंकर पोखरेलको साथ पाएका रिजालले हार व्यहोरे ।

लुम्बिनी चुनावको बाछिटा अन्यत्र पनि देखियो । अरु प्रदेशमा पनि चुनाव टार्न नसक्ने परिस्थिति ओलीनिकट मानिनेहरुले नै सिर्जना गरे । फलस्वरुप वाग्मती, कर्णाली र कोसी प्रदेशमा नेतृत्वको लागि निर्वाचन भइसकेको छ । चुनावमा ओलीपक्षीय नेताहरुबीच नै प्रतिस्पर्धा भएको छ ।

कोसी प्रदेशमा अध्यक्षको उमेदवार बनेका विनोद ढकालको सम्बन्ध पनि ओलीसँग प्रगाढ नै थियो । केही व्यावसायिक विषयमा सहकार्य पनि भएको ओली–ढकाल सम्बन्धबारे जानकार एमालेकै एक नेताले दाबी गरे ।

तर, पछिल्लो समय उनी पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट बनेका छन् । कोसीमा अध्यक्ष ओलीले घनश्याम खतिवडालाई नेतृत्त्व दिन चाहे । ढकालको उमेदवारी फिर्ता गर्न अरु जिम्मेवारी दिने आश्वासन नेताहरुले दिएका थिए । तर, ढकाल पार्टी नेतृत्वको निर्देशनविपरीत उभिए । उनी निर्णयबाट पछि नहट्दा कोसीमा पनि निर्वाचन भयो भलै उनी हारे ।

पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका यामलाल कँडेल कर्णालीको राजनीतिमा भिजेका ओली निकटस्थ नेता हुन् । तर, उनी पनि प्रदेशको नेतृत्व चयनका विषयमा ओलीप्रति सन्तुष्ट देखिएनन् । उनले अध्यक्ष ओलीले च्यापेका व्यक्तिविरुद्ध प्यानल नै खडा गरे ।

अध्यक्ष ओलीले कर्णालीको नेतृत्वमा मीनबहादुर शाहीको पक्ष लिँदा कँडेलले पोलिट्ब्युरो सदस्य गुलाबजंग शाहलाई उमेदवार बनाए र जिताए पनि । अर्थात् विगतमा ओलीको नजिकमा रहेका र यतिखेर पेलानमा परेकाहरुले यो अधिवेशनमा विद्रोह गरेका छन् ।

छायाँ शक्तिको निर्णायक भूमिका

एमालेमा सुरु भएको ओलीविरुद्धको असन्तुष्टि विस्तारै एकीकृत हुँदै छ । बाहिर नबोले पनि एमालेका सचिवालय सदस्यहरु नै ओलीसँग सन्तुष्ट छैनन् । दोस्रो तहका असन्तुष्ट नेताहरुले गुटबन्दी थालेका छन् । ओलीभन्दा तल उपाध्यक्ष पौडेल र महासचिव पोखरेल गुट निर्माणमा लागेको चर्चा राजनीतिक वृत्तमा छ । एमालेमा तत्कालीन मालेमा महासचिव सीपी मैनालीविरुद्ध असन्तुष्टहरु एक भएजस्तै अवस्था देखिन थालेको पार्टीका एक सचिवालय सदस्यको विश्लेषण छ । मालेका महासचिव रहेका मैनाली ०३९ सालमा पदबाट हट्नु परेको थियो ।

प्रदेश अधिवेशनमा प्रतिस्पर्धा देखिए पनि ओलीविरुद्ध कसले गुट बनाइरहेको छ भन्ने स्पष्ट देखिँदैन । तर, छायाँ शक्तिका रूपमा रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारी ११औँ महाधिवेशनमा नेतृत्व गर्ने गरी आउन सक्ने सम्भावना कायमै छ । नेताहरु पनि त्यो नकार्न सक्दैनन् । एमालेका एक पदाधिकारी ओली नै विद्यालाई अध्यक्षको रुपमा अघि सार्न सक्ने सम्भावना अहिले चलिरहेको विद्रोहले देखाएको छ।

कर्णालीमा ढलेको ओलीको सत्ता

एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट प्रदेश अध्यक्षमा सल्यानका गुलावजंग शाह निर्वाचित भएका छन् । एमाले पोलिटब्युरो सदस्यसमेत रहेका शाह ३६९ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिपस्पर्धी कालीकोटका मीनबहादुर शाही पराजित भए । शाहीले २०७ मत पाए । अध्यक्षका अर्का प्रत्यासी प्रकाश रोकायाले ४ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा जुम्लाका टेकराज पछाई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जाजजरकोटका लालबहादुर महतारा र मुगुका दानसिं परियार पराजित भए । यस्तै सचिवमा सुर्खेतका ध्रुवकुमार शाही विजयी हुँदा दैलेखका रुद्रबहादुर शाही पराजित भए ।

अध्यक्ष ओली सर्वसम्मत नेतृत्व चयन गर्न चाहन्थे । महासचिव शंकर पाेखरेल मीनबहादुर शाहीलाई अध्यक्ष बनाउन चाहन्थे । तर, कर्णालीका २१ मध्ये अधिकांश केन्द्रीय सदस्य र १० मध्ये ८ जिल्ला अध्यक्षसँगकाे छलफलपछि भने उनी फेरिए । उनले शाहीलाई माहौल बनाउन नसकेकाे भन्दै उपाध्यक्ष वा सचिव बसेर सर्वसम्मत नेतृत्व चयन गर्न सल्लाह दिएर काठमाडाैं फर्किएका थिए ।

अध्यक्ष ओली र महासचिव पाेखरेलकाे साथ रहेकाे भन्दै शाही पक्षले चुनावी प्रचार गरेकाे थियाे । टिकटकमा कार्यकर्तासँगकाे भिडियाे भाइरल भएपछि ओली गुलावजंगसँग बिच्किएकाे बताइन्छ । तर, कर्णालीका ओली र पाेखरेलनिकट नेताहरू नै मीनबहादुरलाई एकैचाेटि अध्यक्ष बनाउँदा पद्धति बिग्रने भन्दै उपाध्यक्ष वा सचिव बसेर सर्वसम्मत गर्नुपर्ने पक्षमा थिए । तर, उनले मानेनन् ।

उनलाई यसअघि पनि ओली प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको सदस्य बनाएका थिए । अध्यक्षमा निर्वाचित गुलावजंगलाई स्थायी कमिटी सदस्य यामलाल कँडेलको साथ थियो । मीनलाई स्थायी कमिटी सदस्य गाेरखबहादुर बाेगटीकाे साथ थियाे । गुलावजंगकाे विजयसँगै कँडेलले कर्णालीमा आफ्नो पकड कायमै रहेको सन्देश पार्टी केन्द्रलाई दिएका छन् ।

आफूमाथि पटक–पटक केन्द्रले अन्याय गरेको गुनासो गर्दै आएका कँडेलले यसपटक आफूअनुकूलको नेतृत्व चयन गरेर पार्टी केन्द्रलाई जवाफ फर्काइदिएको उनीनिकट नेताहरू बताउँछन् ।