विश्व अर्थतन्त्र कायापलट गरिरहेका केही फ्याक्टर, यस्तो छ चीनबारे विश्व बैंकको प्रक्षेपण
चीन अर्थात् चमत्कार। एक्काइसौं शताब्दीको तथ्याङ्क हेर्ने हो भने चीन विश्वका लागि चमत्कार नै हो। चीनले पछिल्लो एक दशकमा मात्र करोडौं मानिसलाई गरीबीबाट माथि उकालिसकेको छ ।
अनि प्रविधिको क्षेत्रमा अन्य मुलुकले भन्दा बढी प्रगति गरिसकेको छ । उसको रोबोटिक प्रविधि, कृत्रिम बौद्धिकता (एआई), क्लाउड कम्प्युटिङ, ६जी कनेक्टिभिटी, सेमीकन्डक्टर, अन्तरिक्ष विज्ञान लगायतका विकसित प्रविधिहरू उच्चस्तरीय शिक्षाका कारण नै सम्भव भएको हो । अहिले चीनको साक्षरता दर ९५ प्रतिशतभन्दा बढी छ जुन अमेरिकाको ७९ प्रतिशतभन्दा बढी हो ।
सन् २००८ मा अमेरिकाबाट शुरू भएको विश्वव्यापी आर्थिक मन्दीले अमेरिका र युरोपलाई अप्ठ्यारो पारेको भए पनि चीनले त्यसलाई सुदृढताका साथ सामना गरेकाले अर्थतन्त्रको मियो अब पश्चिमबाट पूर्वतर्फ सर्न थालेको संकेत प्राप्त भएको थियो ।
अमेरिकामा ‘म्यानुफ्याक्चरिङ इकोनोमी’ को साटो ‘फाइनान्सियलाइज्ड इकोनोमी’ अर्थात् शेयर कारोबार र बोन्ड मार्केटमा जोड दिन थालिएपछि अर्थतन्त्र सीमित वर्गका लागि मात्र लाभदायक हुन थालेको छ । अर्थतन्त्रको यस कमजोरीलाई अमेरिकाले अनियन्त्रित रूपमा डलर छापेर ढाकछोप गर्ने गरेको छ भने अर्थतन्त्र चलायमान राख्न हतियार पूँजीवाद अपनाउँदै नयाँ नयाँ युद्धहरू शुरू गर्ने गरेको छ ।
तर अमेरिकाको यो विनाशकारी कदमको यथार्थ जानकारी पाउन थालेको बाँकी विश्व अब अमेरिकामा भर नपरी आफ्नो अर्थतन्त्र उकास्नका लागि आफैं प्रयत्न गर्न थालेको छ । अमेरिकाको एकध्रुवीय प्रभुत्व कमजोर बन्दै जाँदा विश्व अर्थतन्त्र बहुध्रुवीयतामा प्रवेश गरिरहेको छ र त्यसले ल्याउने असर बहुआयामिक हुने देखिन्छ ।
हालैका वर्षमा चीन उदाउँदो बजारबाट एक कदम माथि उठेर प्रभावशाली अर्थतन्त्रमा स्तरोन्नति गरिसकेको छ । विगत ४० वर्षमा गरेको अद्भुत आर्थिक प्रगतिका कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको चीनले सन् २०१३ मा अघि सारेको बेल्ड यान्ड रोड इनिशिएटिभमार्फत विश्वभरि पूर्वाधार निर्माणका लागि अर्बौं डलर लगानी गर्ने महत्त्वाकांक्षी परियोजनालाई अघि बढाइरहेको छ । यसमार्फत विश्वकै व्यापार र आर्थिक गतिविधिमा अभिवृद्धि भएको छ ।
तर यसरी आर्थिक वृद्धि गरिरहेको भए पनि चीनको अर्थतन्त्र खस्किँदो छ भनी पश्चिमी सञ्चारमाध्यमहरूमा लगातार सामग्री आइरहेका छन् । चीनको आर्थिक नीति र सांस्कृतिक प्रभाव घट्दै गएको अनि उसको साम्राज्यवादी सोचका कारण छिमेकी र अन्य मुलुकहरू उससँग तर्किन थालेको पश्चिमाहरूको मूल्यांकन छ ।
तर इलोन मस्क र टिम कूक जस्ता अमेरिकाका धनाढ्य व्यापारीहरू एकपछि अर्को गरी चीन गइरहेको र चिनियाँ बजारमा थप पहुँच पाउन प्रयत्न गरिरहेको देख्दा पश्चिमी सञ्चारमाध्यमको कुरा पत्याउन गाह्रो देखिन्छ । चीनले बनाइदिएको पूर्वाधारका कारण अर्थतन्त्रमा सकारात्मक असर परेको भनी दक्षिणपूर्वी एसियाका मुलुकहरूले भनिरहँदा पनि पश्चिमको अभिव्यक्ति ईर्ष्याजनित रहेको संकेत पाइन्छ ।
त्यसो त चीन मात्र नभई भारत, ब्राजिल, दक्षिण अफ्रिका, अस्ट्रेलिया, मेक्सिको लगायतका मुलुक पनि आर्थिक महाशक्ति बन्ने दौडमा छन् । त्यसैले अहिलेको विश्व अर्थतन्त्रमा अमेरिका वा चीन मात्र महाशक्ति नभई अन्य मुलुक पनि महाशक्ति बन्न थालेको यथार्थ हो । भनाइको मतलब, विश्व एकध्रुवीय वा द्विध्रुवीय नभई बहुध्रुवीय बन्न थालेको छ । हुन पनि विश्वका ठूला अर्थतन्त्रहरू रहेको जी७ लाई ग्लोबल साउथ समेटिएको ब्रिक्स प्लसले १०० खर्ब डलरभन्दा बढीले उछिनिसकेको यथार्थ सार्वजनिक हुँदा अब पश्चिमको एकध्रुवीय प्रभुत्व विद्यमान नरहेको स्पष्ट भएको छ ।
चीनबारे प्रक्षेपण
विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका प्रमुख अर्थशास्त्री आदित्य मट्टूले भने, “चीनसँग उल्लेखनीय शक्ति छ । आधारभूत उत्पादनमा मात्र नभई नवीन उत्पादनलाई आविस्कार गर्दैछ यस प्रकारको मानव क्षमता चीनमा सिर्जना भइरहेको छ र यसले उत्पादनमा चीनको बृहङ्गम क्षमता देखाएको छ ।”
चीनले छोटो अवधिमा कसरी विकासलाई गति दिन सकिन्छ भनेर मात्र नसोचेको योभन्दा माथि उठेर विकासको राम्रो गुणस्तर सुनिश्चित गर्ने योजना बनाएको उनले उल्लेख गरे।
उनले भने, “चीनले कसरी विकास गर्ने भन्नेभन्दा पनि चीनले कति विकास गर्न लागेको छ भन्ने प्रश्न कम रोचक छैन ।”
अर्थशास्त्रीहरूको विश्लेषणअनुसार, यस वर्ष पूर्वी एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर अन्य सबै उदीयमान बजार र विकासशील अर्थतन्त्रको औसतभन्दा बढी छ । सन् २०२३ मा चीनको अर्थतन्त्र ५.१ प्रतिशतमा स्थिर रहने अनुमान गरिएको छ तर सन् २०२३ को उत्तरार्द्धमा यसमा सामान्य कमी हुने र सन् २०२४ मा ४.५ प्रतिशत रहने अनुमान प्रतिवेदनमा गरिएको छ ।
विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका उपाध्यक्ष मानुएला भी फेरोले भने, “पूर्वी एशिया र प्रशान्त क्षेत्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको र गतिशील क्षेत्रमध्ये एक हो ।”
फेरोले भने, “मध्यावधिमा उच्च आर्थिक वृद्धिलाई कायम राख्न औद्योगिक प्रतिस्पर्धात्मकता कायम राख्न, व्यापारिक साझेदारहरूलाई विविधीकरण गर्न र सेवा क्षेत्रको उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्ने क्षमतालाई उजागर गर्न सुधारको आवश्यकता पर्नेछ ।” रासस/एएफफी