मालदिभ्सको राष्ट्रपतिमा चीन निकट नेता मोहम्मद मुइज्जुको जितको अर्थ के हो ?
काठमाडौं । माल्दिभ्समा चीन निकट भनेर चिनिने एक जना नेता राष्ट्रपति पदमा निर्वाचित भएका छन् । ४५ वर्षीय सिभिल इन्जिनियर मोहम्मद मुइज्जु राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
उनले भारतसँगको सम्बन्धलाई बलियो बनाएका बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई पराजित गरे । राजधानी मालेका मेयर समेत रहेका नवनिर्वाचित राष्ट्रपति मुइज्जुले ‘इन्डिया आउट’ नारासहित चुनावी अभियान सुरु गरेका थिए ।
बीबीसीका अनुसार मुइज्जुले ५४ प्रतिशतभन्दा बढी मत पाएका छन् । यसैगरी प्रतिस्पर्धी सोलिहले ५० प्रतिशत मत पाएका छन् । सोलिहले आफ्नो हार स्वीकार्दै मुइज्जुलाई राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाईसमेत दिएका छन् ।
मुइज्जुले आगामी १७ नोभेम्बरमा राष्ट्रपति पदको शपथग्रहण गर्नेछन् । त्यतिन्जेलसम्म सोलिहले कामचलाउ राष्ट्रपतिका रूपमा काम गर्नेछन्।
सन् १९७८ मा जम्मिएका मुइज्जुले यूकेको युनिभर्सिटी अफ लिड्सबाट सिभिल इञ्जिनियरिङमा पीएचडी गरेका छन्। सन् २०१२ मा आवासमन्त्री भएर उनी राजनीतिमा प्रवेश गरेका थिए।
हालका राष्ट्रपति सोलिहभन्दा अगाडि अब्दुल्लाह यामीन सन् २०१३ देखि २०१८ सम्म राष्ट्रपति हुँदा माल्दिभ्सलाई चीनसँग निकट गरएका थिए । उनले राष्ट्रपति सी जिनपिङको बेल्ट एन्ड रोड अवधारणामा आफ्नो देशलाई संलग्न गराएका थिए। पूर्व राष्ट्रपति यामीन हाल भ्रस्टाचारमा दोषी ठहरिँदै ११ वर्षको जेल सजाय भोगिरहेका छन्।
यामीन शक्तिमा आएपछि समेत मुइज्जुले आफ्नो मन्त्री पद कायम राख्दै केही ठूला परियोजनाहरू अगाडि बढाएका थिए । त्यसमध्ये एउटा २० करोड अमेरिकी डलर बराबरको पुल समेत पर्छ। त्यसले राजधानी मालेलाई भिन्न टापुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्छ।
उनले सन् २०२१ मा मालेको मेयरको निर्वाचन जिते । उक्त पदमा प्रोगेसिभ पार्टी (पीपीएम) को पहिलो जित थियो। अहिले मुइज्जु राष्ट्रपतिमा निर्वाचित हुँदा उनका हजारौं समर्थकहरु पीपीएम पार्टीको मुख्यालय बाहिर भेला भएर विजय उत्सव मनाइरहेका छन् ।
माल्दिभ्स लामो समयदेखि भारतको प्रभाव क्षेत्रमा पर्छ। त्यहाँ आफ्नो उपस्थिति कायम गर्न भारत र चीनबीच प्रतिस्पर्धा चल्छ ।
भारत मालदिभ्सबाट हिन्द महासागरको मुख्य भागमा नियमन गर्ने क्षमता कायम राख्न चाहन्छ भने व्यापक रूपमा नौसेना विस्तार गरिरहेको चीन माल्दिभ्सजस्तो रणनीतिक महत्त्वको स्थानमा पहुँच चाहन्छ । चीन त्यस क्षेत्र हुँदै खाडी देशबाट आफ्नोमा हुने इन्धन आपूर्तिलाई समेत सुरक्षित गर्न चाहन्छ।
अहिले मुइज्जुको जित चीनका लागि उत्साहजनक रहेको भनेर अन्तर्राष्ट्रिय राजनीतिमा विश्लेषण भइरहेको छ ।