आर्थिक अवस्थाबारे सत्तारुढ दलकै दबाब, माधव नेपालको ज्ञापन, बाबुरामको सुझाव
देशको आर्थिक अवस्था विग्रिँदै गएकोमा सत्तारुढ दलकै नेताहरूले पनि सरकारमाथि दबाब बढाएका छन्। अर्थमन्त्रीमाथि दलहरूले दबाब बढाएका हुन्।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले फरक फरक तरिकाले सरकारमाथि दबाब दिएका छन्।
नेकपा एसले वर्तमान चौतर्फी संकटप्रति सचेत रहन ध्यानाकर्षण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितको टोलीले ज्ञापन पत्र बुझाउँदै सो ध्यानाकर्षण गराएको हो।
अहिलेको संकटको गम्भीरताप्रति ध्यान दिँदै आवश्यक आर्थिक वित्तिय तथा मौद्रिक कदम चाल्न सो पार्टीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।
‘देशमा देखिएको चौतर्फी संकट समाधान गर्न सरकारले आवश्यक गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुन सक्छ। त्यसैले अहिलेको सङ्कटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय तथा मौद्रिक कदम चालियोस् भन्ने ध्यानाकर्षण गर्न चाहन्छौं,’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ।
मुलुक आर्थिक मन्दीबाट आक्रान्त भएको हुँदा समाजमा निराशा, कुण्ठा अराजकता विस्तारित भएको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, चाडपर्वको मौका पारेर कालाबजारीहरूले मनपरी गर्न थालेको उल्लेख गर्दै यी समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
‘यसरी मुलुकले दशकौंदेखिको दुश्चक्रलाई तोड्न सकेन। आज हाम्रो बिग्रदो अर्थतन्त्र, राजनीतिक अन्योल र सामाजिक अन्तरराविरोधलाई त्यसै दुश्चक्रको परिणामका रुपमा बुझ्नु पर्छ,’ ज्ञापनपत्रमा भनिएको छ।
यसैबीच, पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देश गम्भीर आर्थिक संकट र मन्दीबाट गुज्रिन थालेको बताएका छन् । अध्यक्ष भट्टराईले रेमिट्यान्स बाहेक अर्थतन्त्रका कुनै सूचक सकारात्मक नभएको बताए ।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले अर्थतन्त्रका सूचक गम्भीर ढंगले नकारात्मक र विपरित दिशातर्फ उन्मुख रहेको बताउँदै यो समस्या तत्कालिक र सामान्य प्रकृतिको नभएको चेतावनी दिएका छन् ।
उनले भनेका छन् : ‘गत साठी वर्षयता बार्षिक आर्थिक वृद्धिदरले कहिल्यै दुइ अंक छोएको छैन वर्तमान नेपाल राज्य बनेयता अर्थात् सुगौली–सन्धी यता वैदेशिक व्यापार घाटा बढेको बढ्यै छ१वैदेशिक ऋण बढेको बढ्यै छ ! महॅगी निरन्तर उकालो छ ! भ्रष्टाचार चुलिएको चुलियै छ !’
भट्टराईले केही समययता जनशक्तिसँगै पुॅजी समेत पलायन भैरहेको बताउँदै यस्तो संकटका बेला खै देशमा गम्भीर आर्थिक विमर्श भन्दै प्रश्न गरेका छन् ।
‘औद्योगिक उत्पादनले दुइ अंक नाघ्न सधैं कनिकुथी गरिरहेकै छ ! जनशक्ति पलायन त निरन्तर भैरहेकै थियो, केही समययता पुॅजी समेत पलायन भैरहेको बताइन्छ ! दशैंको मुखमा प्रायः चलायमान हुने बजार यसपटक सुनसान हुने छनक देखिँदैछ’ पूर्वअर्थमन्त्री समेत रहेका भट्टराईले प्रश्न गरेका छन् : ‘यस्तो बेला खै देशमा गम्भीर आर्थिक विमर्श ? खै राज्यको तर्फबाट गम्भीर नीतिगत र व्यवहारिक पहल र हस्तक्षेप ? जनतालाई आज मरे भोलि ओखती…..?’