परराष्ट्र नीतिमा प्रचण्डः चीन, भारत र अमेरिकासँग सन्तुलन, धार्मिक कूटनीति अब्बल
असोज ६ गतेदेखि उत्तरी छिमेकी चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अझै एक दिन चीनमै रहनेछन्। बेइजिङमा रहँदा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छयाङको उपस्थितिमा दुई देशबीच भएको १३ बुँदे सहमति भएको थियो।
चीन भ्रमणका क्रममा नेपाल–चीनबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण अघि बढाउने, दुई देशबीच प्राकृतिक विपद् उद्धार सामग्रीसम्बन्धी पत्र आदानप्रदान गर्ने, हिल्सा–सिमकोट सडक अघि बढाउनेलगायत महत्त्वपूर्ण समझदारी भएका छन्।
प्रचण्डले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) लाई सैन्य गठबन्धन वा सुरक्षा साझेदारीको झल्को दिने खालको पहल भन्दै नेपालले त्यसमा आबद्ध हुन अस्वीकार गरेका छन् भने ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) लाई स्वीकार गरेका छन्।
यस कदममार्फत नेपालले असंलग्न परराष्ट्रनीतिलाई देखाएर चीनसँग सुरक्षामा होइन, विकासमा मात्र साझेदारी गर्छौं भन्ने सन्देश दिएको छ। चिनियाँ सरकारी मुखपत्र मानिने ग्लोबल टाइम्सलाई दिएको अन्तरवार्तामा पनि प्रधानमन्त्री दाहालले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्धमा विगतजस्तै असंलग्न नीति कायम गर्ने बताएर चिनियाँहरूलाई आश्वस्त पार्ने प्रयास गरेका छन्।
एमसीसी संसद्बाट अनुमोदन भई कार्यान्वयनमा जानु, नेपालमा लगालग अमेरिकी अधिकारीहरूको आगमन र सक्रियता बढ्नु, अनि बीआरआईलगायत चीनका रणनीतिक महत्त्वका परियोजनामा नेपालले पन्छिने नीति लिनुले उत्तरी छिमेकीलाई पर्याप्त सशंकित बनाएको थियो। दक्षिण र पश्चिमको चर्को मनोवैज्ञानिक दबाबका बीच चीन पुगेका प्रचण्डले यी शंका निवारण गर्नुपर्ने थियो। त्यसमा सफल देखिएका छन्।
प्रधानमन्त्री प्रचण्ड शक्तिराष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने कूटनीति सफल देखिएको छ। संयुक्त राष्ट्र संघको महासभाका लागि अमेरिकाको न्युयोर्क पुगेर त्यहीँबाट चीन भ्रमणमा गए। उमेरले ७ दशकको नजिक पुगिसकेर पनि उनको यो ऊर्जा र सक्रियता अपवादबाहेक यसअघिका कुनै पनि प्रधानमन्त्रीलाई माथ दिने खालको छ। उनी अझै थाकेका छैनन् बरू सफल देखिएका छन्।
चीन भ्रमण यस्तो समयमा मिलाइयो कि त्यहाँ एसियाली खेलकुदको उद्घाटन समारोह हुँदै थियो। राष्ट्रपति सी चिनफिङ र खासगरी एसियाका केही नेतासँगै त्यस समारोहमा प्रचण्डको उपस्थिति चीनका लागि पक्कै पनि खुसीकै विषय थियो। कोभिड महामारीपछि आयोजना गरिएको यो दोस्रो ठूलो अन्तर्राष्ट्रिय समारोहको छिमेकी देशका प्रधानमन्त्री प्रचण्ड उपस्थितिले पक्कै काम गर्यो। तसर्थ, यो भ्रमण प्रचण्डका लागि मात्रै होइन, चीनका लागि झन् बढी महत्त्वपूर्ण देखियो।
प्रचण्डको चीन भ्रमण र उत्तरलाई सन्तुलनमा राख्ने नीति सफल देखिएको छ। चीन र भारत मात्र होइन अमेरिकासँग पनि सन्तुलन राखेर धार्मिक कूटनीतिमा अब्बल देखिएका प्रचण्डले कूटनीतिमा राम्रो स्कोर गरेका छन्।
धार्मिक कूटनीतिमा पनि सन्तुलन
प्रधानमन्त्री प्रचण्डले बिहीवार तिब्बतमा अवस्थित कैलाश मानसरोवरको भ्रमण गरे । धार्मिक कूटनीति सन्तुलनमा पनि सफल देखिएका प्रचण्डले सत्ता सम्हालेयता विशेषगरी शिवसँग सम्बन्धित तीनवटा प्रमुख धार्मिकस्थलको भ्रमण गरेका छन्।
गएको जुनमा भारत भ्रमणमा जाँदा उज्जैनस्थित महाकालेश्वरको मन्दिर पुगेर आफ्नो धार्मिक यात्रा सुरु गरेका उनले त्यसलगत्तै पशुपतिनाथ मन्दिरमा पुगेर पूजा अर्चना गरेका थिए। प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल सरकारको नेतृत्व गरिरहेका प्रचण्डले आफ्नो यसपटकको चीनभ्रमणमा मानसरोवरलाई पनि प्रमुख गन्तव्य बनाएका छन्।
नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सम्बद्ध नेता युवराज चौलागाईँले प्रधानमन्त्रीको मानसरोवर यात्रालाई सद्भाव र पर्यटकीय भ्रमणका रूपमा हेरिनुपर्ने बताए।
उनले थपे, “यसलाई सद्भावना भ्रमणका रूपमा मात्रै हेर्नुपर्छ। यसलाई नेपालमा धर्मको राजनीति आयात हुँदैछ अथवा भारतीय जनता पार्टीलाई अलिकति सहज हुने गरी माओवादीले आफ्नो धारणा फेर्दैछ कि भन्ने हिसाबले केही मानिसहरूले टिप्पणी गर्न खोजेको सुन्छु म। मेरो विचारमा त्यो प्रधानमन्त्रीको उद्देश्य होइन।”
हिन्दू धर्मग्रन्थहरूमा उल्लेख भएअनुसार कैलाश पर्वतलाई देवहरूका पनि देव, महादेव रहने स्थान एवं अन्य देवी–देवताहरूले पनि स्पर्श गरेको पवित्र भूमि मानिन्छ । त्यसैले कैलाश पर्वत र यस क्षेत्रलाई हिन्दू धर्मावलम्बीहरूले पवित्र तीर्थस्थलका रूपमा लिने गरेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोवर क्षेत्र करिब दुई सय ५० किलोमिटर टाढा रहेको छ ।
उता नेपालतर्फबाट भने नेपालको हुम्ला सदरमुकाम सिमकोटबाट एक सय ६० किलोमिटरमात्रै टाढा रहेको छ । नेपालतर्फबाट सिमकोटको बाटो भएर कैलाश मानसरोवरको यात्रा गर्दा ट्रयाकमात्रै खोलिएको सडक रहेकाले यात्रा असहज हुने गरेको छ ।
प्रचण्डले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् । यसअर्थमा प्रचण्डको धार्मिक कूटनीति पनि सफल भएको देखिएको छ।