प्रचण्डको ऐतिहासिक चीन भ्रमणः बिआरआई अघि बढाउने सकारात्मक सन्देश

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताएका छन् ।

तिब्बतको ल्हासास्थित नेपाली महाबाणिज्यदूताबासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदैं प्रधानमन्त्री प्रचण्डले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्रराष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताएका हुन् ।

राष्टपति सि चिनफिङ, चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरु गर्नुले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको पुष्टि भएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीको भ्रमणमा आशा गरे अनुसारको सहमति सम्झौता नभएको भनी कुटनीतिक बृतमा टिप्पणी सुरु भईरहेका बेला प्रधानमन्त्रीले भने भ्रमण शानदार सफल भएको बताएका हुन् ।


भ्रमणका क्रममा नेपाल र चीनबीचका विगतमा बन्द भएका सबै नाका संचालन गर्ने, परम्परादेखि पासका रुपमा चल्दै आएका साना साना नाकाहरु पनि सबै संचालन गर्ने सहमति भएको प्रधानमन्त्रीले जानकारी दिए ।

विगतमा संचालन भएका प्राय सबै नाकाहरु खुलिसकेका र बाँकी रहेका साना ठूला सबै नाकाहरु छिट्टै खुल्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचका सबै नाकाहरु खुलेपछि नेपाल चीनको व्यापार व्यवसायका क्षेत्रमा नयाँ फड्को मार्ने उल्लेख गरे ।

बिआरआई अघि बढाउने रणनीतिक निर्णय

प्रचण्डको भ्रमणका क्रममै नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनसियटिभ (बीआरआई) अन्तर्गत नेपालमा कार्यान्वयन गरिने परियोजनालाई चाँडै अन्तिम रुप दिने सहमति भएको छ।

बीआरआईअन्तर्गत कार्यान्वयन गरिने परियोजनाको सूची नेपालले ४ वर्षअघि नै पठाएकामा चीनले धेरै भएको बताएपछि अगाडि बढ्न नसकेको पृष्ठभूमिमा दुई देशका प्रधानमन्त्रीको तहमा भएको वार्तामा परियोजनालाई चाँडै अन्तिम रूप दिने सहमति भएको हो।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भएको द्विपक्षीय वार्तापछि मंगलबार जारी गरिएको संयुक्त वक्तव्यमा बीआरआईका परियोजनालाई चाँडै अन्तिम रुप दिने उल्लेख छ। नेपालले ६ वर्षअघि सन् २०१७ मे १२ मा बीआरआईको कार्यढाँचामा हस्ताक्षर गरेको थियो।

नेपालमा बीआरआईअन्तर्गत अघि बढाउने परियोजना छनोट गरिएको छैन। दुई देशबीच लगानीका ढाँचा र कार्यान्वयन प्रारूपबारे पनि छलफल हुन बाँकी छ। नेपालले बीआरआई अन्तर्गतका परियोजना अनुदानमा बनाइदेओस् भन्ने चाहेको छ।

चीनले १० वर्षअघि अगाडि बढाएको बीआरआई परियोजनामा विश्‍वका १५० देश आबद्ध भइसकेका छन्।

परियोजना छनोट र मोडालिटी टुंगो लगाएर कार्यान्वयन सम्झौता नभएपनि केरुङ–काठमाडौं रेलको सम्भाव्यता अध्ययन भने चीनले गरिरहेको छ। संयुक्त वक्तव्यमार्फत केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनमा भएको प्रगतिप्रति दुवै मुलुकले सन्तुष्टि जनाएका छन्। रेल सञ्चालनका लागि नेपाललाई चाहिने आवश्यक जनशक्तिलाई तालिम दिन चीनले प्रतिबद्धता जनाएको वक्तव्यमा उल्लेख छ।