हाङ्चौमा नेपालले इतिहास रचेको दिन, नेपाली क्रिकेटर विश्वभर मिडियामा हेडलाइन
चीनको हाङ्चौमा जारी एसियाडमा नेपाल पदकविहीन नै छ तर बुधबार भने नेपालले सोही स्थानबाट क्रिकेटमा सुनौलो इतिहास लेखेको छ। खासमा भन्दा विश्व क्रिकेटकै लागि बुधबारको दिन दुर्लभ दिन रह्यो । एकै दिन एकैपल्ट यति धेरै कीर्तिमान सायद यसअघि बनेको पनि थिएन । विश्व क्रिकेटमा यस्तो दिन दोहोर्याएर विरलै मात्र आउने छ । नेपालले बुधबार कुल ५ विश्व कीर्तिमान बनाएको छ ।
बुधबार भएको खेलमार्फत जारी १९औं एसियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित निकाल्यो। यसमा विश्व कीर्तिमान नै चारवटा बने भने अनेक आन्तरिक कीर्तिमान पनि बनेका छन्।
नेपाल आफैंले पनि टस जिते पहिले बलिङ गर्ने योजना बनाएको थियो । तर, टस जितेर मंगोलियाले ठूलो मुटु देखायो र नेपाललाई ब्याटिङको निम्तो दियो । यो यस्तो निर्णय रह्यो, जसले क्रिकेटका अनेक दुर्लभ कीर्तिमान भंग गर्न मदत गर्यो । नेपालले यस क्रममा २० ओभर उपयोग गर्दै ३ विकेट गुमाई ३ सय १४ रन बनायो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि टिमले ३ सय रन छोएको यो नै पहिलोपल्ट थियो । पछिल्लो समय ट्वान्टी–२० मा आक्रामक ब्याटिङको क्रम बढ्दो छ । यस्तोमा धेरैको अनुमान के थियो भने अब तीन सयको स्कोर पनि चाँडै बन्नेछ ।
नेपालले यही काम गर्यो । यसको एउटा प्रमुख कारण नेपालले २६ छक्का प्रहार गर्न सक्नु हो ।
ट्वान्टी–२० अन्तर्राष्ट्रियको एकै खेलमा यति धेरै छक्का बनेको यो पहिलोपल्ट हो । अब ठूलो स्कोर खडा भएपछि जित–हारको अन्तरमा पनि कीर्तिमान बन्ने नै भयो । साँच्चै नेपाल २ सय ७३ रनले विजयी रह्यो । मंगोलिया १३.१ ओभरमा ४१ रन बनाएर अलआउट भयो ।
नेपालले त्यसमा अतिरिक्तमा २३ रन खर्चेको थियो । सम्भवतः नेपालले सुरुमा केही सुस्त ब्याटिङ गरेको थियो, नत्र स्कोर अझ ठूलो हुन सक्थ्यो ।
कप्तान रोहित पौडेल के मान्छन् भने पिच दुवै टिमका लागि नयाँ थियो, त्यसैले यो स्वाभाविक पनि हो । ‘यति ठूलो स्कोरमा गुनासो गर्नुहुन्न, एकै पल्टमा चार सय, पाँच सय रन बन्दैन नै,’ उनले भने।
यी सबैमध्ये सबैभन्दा सानको कीर्तिमान दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको नाममा रह्यो । दीपेन्द्रले ९ बलमै अर्धशतक बनाए । यो यस्तो कर्तिमान हो, जुन अब कहिले भंग हुने छैन, बराबरमात्र हुन सक्नेछ । अर्धशतक बनाउन कम्तीमा ९ बल खेल्नैपर्ने हुनाले दीपेन्द्रको कीर्तिमान अजयी बन्नेछ । दीपेन्द्रले युवराज सिंहले १२ बलमा बनाएको अर्धशतकको कीर्तिमान उछिन्ने क्रममा लगातार ६ छक्का पनि प्रहार गरेका थिए ।
दीपेन्द्र १० बलमा ५२ र कुशल ५० बलमा १ सय ३७ रन बनाएर अविजित रहे । कुशलले ३४ बलमै शतक बनाएर भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक गणतन्त्रका विक्रम शेखरको नाममा रहेको ३५ बलको शतकलाई भंग गरे । कुशलले ८ चौका र १२ छक्का प्रहार गरे । कुशल भुर्तेल २३ बलमा १९ र आसिफ शेख १७ बलमा १६ रन बनाई आउट भएपछि कुशल मल्ल र रोहित पौडेल जागेका थिए ।
कुशल (मल्ल) र रोहित दुवैले समान १९ बलमा अर्धशतक पूरा गरेका थिए । कुशलले दोस्रो ५० रन बनाउन केवल १५ बल खेले । रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का प्रहार गरी ६३ रन बनाए । रोहित १९ औं ओभरको पहिलो बलमा आउट भएपछि आएका दीपेन्द्रले त्यो ओभरको बाँकी ५ बलमै छक्का प्रहार गरे । अन्तिम ओभरको पहिलो बलमा कुशलले १ रन लिएपछि स्ट्राइकमा आएका दीपेन्द्रले पहिलो बलमै छक्का प्रहार गर्दै लगातार ६ छक्का प्रहार गरे । आफूले सामना गरेको सातौं बलमा २ रन जोडेका दीपेन्द्रले त्यसपछि लगातार दुई छक्का प्रहार गरी अविश्वसनीय हिसाबमा ९ बलमा अर्धशतक पूरा गरे ।
खेलपछि कप्तान रोहितले दीपेन्द्र र कुशलको प्रशंसा गरे । उनले भने, ‘उनीहरूले निकै राम्रो ब्याटिङ गरे । हामी सबैले लगातार सजिलो बल पाइरहेका थियौं । समग्रमा भन्दा टिमले निकै राम्रो गर्यो । खासमा हाम्रो उद्देश्य अर्को चरण पुग्नै नै हो । हामी यही नीतिमा अडिग छौं ।’
नेपालका लागि क्रिकेटमा यो जितको अर्को अर्थ पनि छ । यो विशेष छ । पूरा एसियाडमा नेपाली खेलाडीको अहिलेसम्मको प्रदर्शन कमजोर छ । नेपाली खेलाडी अधिकांश अवसरमा अन्तिम स्थानमा परेका छन् । होइन भने नेपाली खेलाडीले बेहोरेको हारको क्रम चर्को छ । त्यसको ठीक विपरीत नेपालले चेचियाङ युनिभर्सिटीको मैदानमा प्राप्त जित उल्टै एकपक्षीय रह्यो । यसले नेपाली खेलकुदलाई धेरै राहत दिएको छ ।
विश्वभर हेडलाइन
नेपालको उच्च प्रदर्शनलाई लिएर चर्चा भइरहेको छ । यसैबीच, भारतका ठूला मानिएका सञ्चारमाध्यम (मिडिया)हरूले पनि नेपालले बनाएका कीर्तिमानबारे प्राथमिकतामा राखेर समाचार बनाएका छन् । नेपालले भारतकै द्विग्गज खेलाडीहरूको कीर्तिमान भंग गरेको चर्चा ती सञ्चारमाध्यमहरूले गरेका छन् । हुन पनि नेपाली खेलाडीले भारतका वर्तमान कप्तान रोेहित शर्मा र युवराज सिंहजस्ता खेलाडीको कीर्तिमान भंग गरेका छन् । कुशल मल्लले ३४ बलमै शतक बनाएर कीर्तिमान बनाएका थिए ।
यसबारे बीबीसी हिन्दीले कुशल मल्लले रोहित र दक्षिण अफ्रिकाका डेभिड मिल्नरको विश्व कीर्तिमान जोडेको समाचार बनाएको छ । ‘नेपाली ब्याटर कुशल मल्लले भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेभिड मिल्नले यसअघि बनाएको ३५–३५ बलमा शतक बनाएको कीर्तिमान ३४ बलमै बनाएर ध्वस्त बनाएका छन्,’ बीबीसी हिन्दीले लेखेको छ ।
यस्तै, जी न्युजले दीपेन्द्रसिंह ऐरीले भारतका युवराज सिंहको कीर्तिमान भंग गरेको समाचारलाई शीर्षक बनाएको छ । दीपेन्द्रले ९ बलमै अर्धशतक हानेका थिए । यसअघि १२ बलमा शतक हानेको कीर्तिमान युवराजको नाममा थियो ।
‘नेपालका दीपेन्द्रसिंह ऐरीले युवराज सिंहले बनाएको ‘फास्टेस्ट फिफ्टिज’को कीर्तिमान तोडेका छन्,’ जी न्युजले लेखेको छ ।
यसैगरी आज तकले पनि नेपाली खेलाडीको प्रशंसा गर्दै ‘४ कीर्तिमान ध्वस्त’ शीर्षकमा भिडियो समाचार बनाएको छ । यसका साथै, भारतका प्रायः सबै मिडियाले नेपाली टोली र खेलाडीहरूले टी–२० मा बनाएको तोड्न गाह्रो रहेको विश्लेषणसहित समाचार बनाएका छन् ।
यति मात्र हाेइन आईसीसीले पनि याे समाचारलाई प्राथामिकता दिएर प्रकाशित गरेकाे छ ।
भारतमै इन्डिया टुडे ग्रुपका आजतक, नवभारत टाइम्स र टाइम्स अफ इन्डियाका अनलाइन संस्करणमा यो समाचार प्रमुखताका साथ प्रकाशित भएको छ । यस्तै दैनिक जागरण, दैनिक भास्करमा पनि यो समाचारले प्राथामिकता पाएको छ ।