प्रचण्डलाई चीनमा उच्च महत्त्व, ग्लोबल टाइम्सले लेख्योः नेपालका ‘लेजेण्ड्री लिडर’
एक साता लामो भ्रमणका लागि शनिबार चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीनमा उच्च महत्त्व दिइएको छ। प्रचण्ड नेतृत्वको भ्रमण टोलीले १९औँ एसियन गेमको उद्घाटन सत्रमा सहभागिता मात्र जनाएन केही कृषि केन्द्र, प्रविधि केन्द्रहरु समेत अवलोकन गरिसकेको छ।
प्रचण्डलाई चीनमा रहँदा उच्च महत्त्व दिइएको छ। प्रचण्डसँग राष्ट्रपति सी चिन फिङदेखि प्रधानमन्त्री ली छियाङसम्मले भेटवार्ता गरिसकेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले पनि उनलाई उच्च महत्त्व दिएको देखिन्छ।
प्रचण्डलाई दिएको महत्त्व मिडियामा पनि झल्किएको छ। चीनको अन्तर्राष्ट्रिय मामिलामा मुखपत्र नै मानिने ग्लोबल टाइम्सले प्रचण्डसँगको एक्स्क्लुसिभ अन्तर्वार्ता प्रकाशित गरेको छ। अन्तर्वार्ताको पृष्ठभूमिमा प्रचण्डलाई नेपालका अति प्रसिद्ध अर्थात् नेपाली इतिहासका ‘लेजेण्ड्री लिडर’ भनिएको छ।
चीनका अधिकाँश प्रमुख मिडियामा प्रचण्डको अन्तर्वार्ता प्रकाशन र प्रशारण गरिएको छ।
प्रचण्ड हाङ्चउमा ओर्लिएसँगै चीनले उनलाई विशेष महत्त्व दियो। हाङ्चउमा विमानस्थलमै सलामी पाएका उनले बेइजिङमा पनि सलामी पाए। चिनियाँ राष्ट्रपति सिले हाङ्चउमा भएको भेटमा चीन र नेपाल हिमाल र नदीले जोडिएका र पुस्तौँदेखि मित्रवत् रहेको भन्दै मित्रताको चर्चा गरे।
हाङ्चउमा चिनियाँ राष्ट्रपतिसँग प्रतिनिधि स्तरमा वार्ता गरेका उनले बेइजिङमा पनि प्रतिनिधिस्तरमा वार्ता गरे। सोमबार बिहान उनले चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लचीसँग भेट गरे। लगत्तै ग्रेट हल अफ पिपल परिसरमा गार्ड अफ अनरको सम्मान प्राप्त गरेका प्रचण्ड नेतृत्वको नेपाली टोली र चिनियाँ समकक्षी ली नेतृत्वको चिनियाँ टोलीबिच द्विपक्षीय वार्ता भयो। वार्तापछि दुई देशबिच विभिन्न १३ वटा समझदारीमा हस्ताक्षर भयो।
दुवै देशका प्रतिनिधिहरूले अर्थतन्त्र तथा व्यापार, कृषि, विज्ञान तथा प्रविधि, संस्कृति, प्रकाशन, डिजिटल अर्थतन्त्रलगायतका १३ विषयमा हस्ताक्षर गरेका छन्।
केके भए त सम्झौता तथा समझदारी?
नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रचण्ड र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लिबीच सोमबार ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो।
विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।
चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ। सो सम्झौतामा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गरेका छन्।
नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदानप्रदान भएको छ। चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता भएको छ।
त्यसैगरी चीनको उक्त आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।
त्यसैगरी चीनको कृषि तथा ग्रामीण सम्बन्ध मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने विषयका लागि पनि सहमति भएको छ।
यसमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा रेवतीरमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।
चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने विषयमा पनि सहमति भएको छ। सो सहमतिपत्रमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।
सो अवसरमा चीनको सामान्य प्रशासन, भन्सार मन्त्रालय र नेपालको कृषि र पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यातसम्बन्धी प्रोटोकलमा सहमति भएको छ। उक्त प्रोटोकलमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।
चिनियाँ प्रेस तथा प्रकाशन विभाग र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति भएको छ। सो सहमतिपत्रमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ। सो सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।
यस्तै, प्रकोप सामग्री, मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनाका विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।