ओलीलाई टेर्न छोडेको एमाले, बागमतीमा चुनाव मात्र होइन प्यानलकै सम्भावना
नेकपा (एमाले) वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र आज हुँदै छ । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनको बन्दसत्र मंगलबार बिहान ८ बजेबाट सुरु हुने बताइएको छ ।
प्रज्ञा भवन कमलादीमा हुने बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चुनिने एमाले वाग्मतीले जनाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बागमती प्रदेश अधिवेशनमा प्यानल बनाएर चुनाव लडेको भेटिए नेतृत्वले कारबाही गर्ने चेतावनी दिएका छन्। मंगलबार बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले प्यानल बनाएर चुनाव लडेको भेटिए उम्मेदवारी नै खारेज हुनसक्ने चेतावनी दिएका हुन्।
उनले चुनावमात्रै लोकतन्त्रको अभ्यास नभई मिल्नुपनि लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए। तर कसैले चुनाव लड्छु भनेको खण्डमा एमालेमा चुनाव लड्न पाउने व्यवस्था रहेको उनले बताए।
‘चुनाव लड्नुस्, लड्न दिनुस्। स्वस्थ प्रतिस्पर्धा गर्नुस्। प्यानल बनाएर बनाइएको थाहा भयो भने प्यानलको सिंगै उम्मेदवारी पनि खारेज हुन सक्छ,’ उनले भने। अध्यक्षमण्डललाई त्यो अधिकार राखेर काम गर्न पनि ओलीले आग्रह गरे।
उनले चुनाव भइसकेपछि हार जितलाई सहर्ष स्वीकार गर्न सक्नुपर्ने पनि बताए।
‘प्यानलाइज गर्ने दुइ फ्याकमा बाँढ्ने यो खालमा अभ्यासहरू कसैले नगरून्। स्वस्थ प्रतिस्पर्धा गर्नुस् हार जितलाई स्वीकार्नुस्। भोलि पल्टबाट मेरो पक्षमा भोट हालेको मेरो विपक्षमा भोट हालेको भनेर कुनै प्रकारले खोजीनिति गर्न विभेद गर्न पाइँदैन। यो कुरालाई ध्यानमा राख्नुस्,’ उनले भने ।
ओलीलाई नटेर्ने संकेत, चुनावमा प्यानल नै
यसअघि लुम्बिनीमा अध्यक्ष ओलीको अवज्ञा भएको थियो। त्यसपछि एमालेमा ओलीलाई टेर्न छोडिएको विश्लेषण हुँदै आएको छ। एमालेको बागमती प्रदेश कमिटीको नेतृत्व चयन पनि चुनावबाटै हुने देखिएको छ।
पहिलो पटक हुन लागेको अधिवेशनमा नेतृत्वसहितका पदमा दुईभन्दा बढी आकांक्षी भएपछि चुनावबाटै छिनाफानो हुनसक्ने बागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डेले बताए।
मंगलबारबाट सुरु हुने बन्द सत्रमा १ हजार ८० प्रतिनिधिले २४० सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछन्। मंगलबार हुने बन्दसत्रमा सहमति नजुटे चुनावी प्रक्रिया अघि बढ्ने पाण्डे बताउँछन्।
‘सबै पदमा त चुनाव नहोलार तर सर्वसम्मत हुने सम्भावना न्यून देखियो,’ पाण्डेलेभने, ‘बन्द सत्रमा कतिको नमोमिनेसन पर्छ हेरौँ। अनि सहमतिमा टुंगो लगाउने प्रयास गर्छौँ।’
यद्यपि सहमतिको प्रयास पनि जारी राखेको स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारी बताउँछन्। ‘सकभर सर्वसहमतिमै नेतृत्व चयनको प्रयास अन्तिमसम्म हुन्छ,’ अधिकारीले भने, ‘सहमति नजुट्दा लोकतान्त्रिक विधि अपनाउने कुरा छँदैछ।’
काठमाडौं उपत्यकासहित १३ जिल्ला रहेको बागमती प्रदेश कमिटीको नेतृत्वका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुने सम्भावना बढी छ।
तर, वर्तमान अध्यक्ष नुवाकोटका केशव पाण्डे फेरि दोहोरिने प्रयासमा छन्। पोलिटब्युरो सदस्य महेश बस्नेतले केशव पाण्डेलाई र सानु श्रेष्ठले कैलाश ढुङ्गेललाई समर्थन गरेका छन्।
‘अध्यक्षमा कैलाशजी र कृष्णप्रसाद दाहालजीबीच चुनाव हुने देखियो,’ बस्नेतले भने, ‘सर्वसहमति जुटाउन नेतृत्वले कुरा गरिरहेको छ।’
उनले कैलाशलाई अध्यक्ष बनाएर कृष्णलाई अन्य कुनै जिम्मेवारी दिने बताइसकेकोले नमानेको अवस्थामा स्वच्छ चुनाव गरेर नेतृत्व चयन गरिने दाबी गरे।
१९ दिनअगाडि लुम्बिनी प्रदेशमा जुन परिदृश्य देखिएको थियो, यसपटक बागमतीमा पनि सोही दोहोरिने नेताहरुको भनाइ छ।
लुम्बिनीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल निकट नेताहरु प्यानलै खडा गरी चुनावमा होमिएका थिए। जसमा पौडेल पक्षका राधाकृष्ण कँडेल विजयी भए। महासचिव पोखरेल पक्षका हरि रिजाललाई २ मतले हराउँदै कँडेलले बाजी मारेका हुन्।
भदौ २० गते भएको लुम्बिनी प्रदेशको चुनावले बागमती प्रदेश कमिटीको नेतृत्व चयनमा पनि चुनाव गर्ने बाटो खोलिदिएपछि नेताहरु दुई कित्तामा उभिने देखिन्छ।
दाहाल र ढुङ्गेलको पक्षमा नेताहरु विभाजित भइसकेका छन्।
चुनाव भएमा आफ्नो पूर्ण समर्थन कैलाश ढुङ्गेललाई हुने पोलिटब्युरो सदस्य महेश बस्नेतले बताए।
बागमतीको अध्यक्ष पदका लागि आकांक्षी देखिएका ढुङ्गेल महासचिव पोखरेलको समर्थन पाउने आशमा छन्। लुम्बिनीको क्षति फर्काउने दाउमा महासचिव शंकर पोखरेल पक्षको खेमा लागेको छ।