न्यु साउथ वेल्सका लागि महावाणिज्यदूत दीपक खड्काद्वारा राजिनामाको घोषणा

मूलखबर संवाददाता
काठमाडौं

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका लागि नेपाली महावाणिज्यदूत दीपक खड्काले पदबाट राजिनामाको घोषणा गरेका छन् ।  आगामी १० अक्टुबरदेखि न्यु साउथ वेल्स राज्यमा महावाणिज्य दूत पद खाली हुनेछ ।

दीपक खड्का सन् २००८ मा न्यु साउथ वेल्स राज्यको महावाणिज्यदूत नियुक्त भएका थिए । उनले १५ वर्ष पद सम्हाले ।

सोमबार एक वक्तव्य जारी गरी महावाणिज्यदूत खड्काले आफूले पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् । उक्त वक्तव्यमा महावाणिज्य दूत खड्काले न्यु साउथ वेल्सका नेपाली समुदाय, नेपाल सरकार र अस्ट्रेलिया सरकारलाई आफ्नो कार्यकाल सफल गर्न सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।

उनले आफ्नो कार्यकालको १५ वर्षमा नेपाल अस्ट्रेलियाबीचको वाणिज्य तथा पर्यटन सम्बन्धी महत्वपूर्ण काम गर्ने अवसर आफूले पाएको र उक्त काममा नेपाली समुदाय तथा क्यानबेरास्थित नेपाली दूतवासको सहयोग भएको बताए ।

खड्काले भनेका छन्, ‘मैले मेरो जिम्मेवारीबाट अवकास लिए पनि मित्रताबाट अवकास लिएको छैन । मेरो देश र यहाँ भएका मित्रहरुलाई सहयोग गर्न सधैं तयार छु ।’