भारत र क्यानडाको झगडाले अक्करमा अमेरिका तर यसरी हुँदैछ चीनलाई फाइदा

मूलखबर संवाददाता
काठमाडौं

क्यानडा र भारतबीच पछिल्ला दिन तनाव बढ्दो छ । गएको सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको बताएपछि दुई देशबीच तनाव चुलिएको हो ।

क्यानडाको भूमिमा भारतीय एजेन्टले एकजना नागरिकको हत्या गरेको जनाउँदै ट्रुडोले यसलाई विदेशी हस्तक्षेप र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन बताएका छन् । क्यानडा र भारचबीच तनाव बढ्दा अन्य राष्ट्रहरु पनि यसमा तानिएका छन् । दुवैसँग अति घनिष्ट सम्बन्ध रहेका अमेरिका, बेलायत र अष्ट्रेलियाले घटनालाई चिन्ताजनक बताएका छन् ।

अमेरिका, बेलायत र अष्ट्रेलियाले प्रत्यक्ष रुपमा तीनवटा सर्त अघि सारेका छन्– घटनाको अनुसन्धान अघि बढ्नुपर्ने, यसमा भारतले सघाउनुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने ।

यी तीन राष्ट्रले अर्को कुरा पनि स्पष्ट भनेका छन्– आफ्ना मूल्य मान्यताका सिद्धान्त विपरीत कुनै पनि देशलाई समर्थन नगर्ने । अझ अमेरिकाले त एक कदम अघि बढेर यस घटनामा भारतलाई कुनै ‘विशेष छुट’ नमिल्ने बताइसकेको छ ।

क्यानडामा विदेशी हस्तक्षेपको मुद्दा बारम्बार उठ्छ । यसअघि रुस र चीनमाथि क्यानडाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लाग्थ्यो । अहिले नयाँ नाम थपिएको छ– भारत । हस्तक्षेपकै कारण रुस र चीनसँग क्यानडाको सम्बन्ध लामो समयदेखि राम्रो छैन । अहिले यो सूचीमा भारत जोडिन आएको टिप्पणी क्यानडाका मिडियाले गर्न थालेका छन् ।

भारतले भने क्यानडाले लगाएको आरोप स्वीकारेको छैन । उल्टो क्यानडालाई आरोप लगाइरहेको छ– खालिस्तानीहरुको संरक्षण गरिरहेको छ । यही मुद्दाबाट ध्यान अन्यत्र मोड्न क्यानडाले मनगढन्ते आरोप लगाएको भनाई भारतको छ ।

ट्रुडोको आरोपपछि क्यानडा र भारतले ट्राभल एडभाइजरी जारी गर्दै एकअर्काको देशमा भ्रमण गर्दा हदैसम्मको सावधानी अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेका छन् । एक–एक जना कूटनीतिक कर्मचारीलाई दुवै देशले निष्कासन गरेका छन् । दुई देशबीचको क्रिया र प्रतिक्रियाले तनाव झन् बढाउँदै लगेको छ ।

क्यानडा र भारतबीच तनाव बढ्दै जाँदा र यी राष्ट्रलाई लिएर अन्य शक्ति राष्ट्रहरु विभाजित हुँदा यसको प्रत्यक्ष फाइदा चीनले उठाउने आशंका धेरैले गरेका छन् । पश्चिमी राष्ट्रलाई घेर्ने यो चीनलाई सूवर्ण अवसर हुनसक्ने आकलन गरिएको छ । यो घटनाबाट सबैभन्दा बढी फाइदा चीनले उठाउने टिप्पणी सबैभन्दा बढी क्यानडाका मिडियाहरु गर्दैछन् ।

क्यानडा यस घटनालाई लिएर अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउन लागिपरेको छ । एक लेभलमा पुगेपछि क्यानडालाई चीनको पनि समर्थन आवश्यक पर्नसक्छ । त्यसबेला चीनले अझ बढी खेल्न सक्नेछ ।

विवादमा चीनको प्रवेश

क्यानडा र भारतबीचको विवामा चीनले प्रवेश पाइसकेको छ । चीनको सत्ताधारी कम्युनिस्ट पार्टीको मुखपत्रको रुपमा चिनिने ग्लोबल टाइम्सले आफ्नो लेखमा भनेको छ– जी २० सम्मेलनको बेला भारतीय प्रधानमन्त्री मोदी र क्यानडाका प्रधानमन्त्री ट्रुडोबीचको भेटवार्तामा उनीहरुको जुन हाउभाउ देखिएको थियो, त्यसैबाट संकेत प्राप्त भइसकेको थियो ।

ग्लोबल टाइम्सले लेखेको छ, “पश्चिम देश मानवअधिकारको रक्षक भएको दाबी गर्छन् र यसलाई लिएर हरेक दिन अर्को देशको आलोचना गर्छन् । तर ती देशहरु तथाकथित भारतीय लोकतन्त्रको प्रशंसा गर्छन् जुन भूराजनीतिक हित र चीन विरोधी एजेन्डा बनाउने उद्देश्यले पे्ररित हुन्छन् ।”

पश्चिम देशले भारत र आफूहरुबीच लोकतन्त्रको अन्तर राम्रोसँग बुझेका छन्, तर आफ्नो फाइदाको लागि भारतमा भइरहेको मानवअधिकार हनन् र घरेलु जातीय अल्पसंख्यकमाथिको अत्याचारप्रतिलाई बेवास्ता गर्ने गरेको आरोप ग्लोबल टाइम्सले लगाएको छ ।

लेखमा पश्चिमी राष्ट्रको यस्तो दोहोरो नीतिले उनीहरुको पाखण्ड उजागर गरेको उल्लेख छ । जानकारहरु भारत र क्यानडाबीच विवाद बढ्दै जाँदा यसले चीनलाई फाइदा हुने तर्क गर्छन् । यसअघि क्यानडामा विदेशी हस्तक्षेपको मुद्दा उठ्दा सबै चीनमाथि केन्द्रित हुन्थे । क्यानडाले चीनमाथि आफ्नो लोकतन्त्र कमजोर बनाउने कार्य गरेको आरोप लगाउँदै आएको छ ।

तर, हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको आरोप लागेपछि क्यानडामा हुने वैदेशिक हस्तक्षेपको मुद्दा नयाँ दिशातर्फ मोडिएको छ ।

चीनलाई कसरी हुन्छ फाइदा

क्यानडाको न्यूज वेबसाइट टोरन्टो स्टारमा प्रकाशित लेखमा भिलानोभा विश्वविद्यालयको चार्ल्स भिगर स्कुल अफ ल मा अन्तर्राष्ट्रिय कानूनका सहायक प्रोफेसर प्रेस्टन जोर्डन लिमले यस विवादमा चीनले कसरी प्रभावित गर्न सक्छ भन्ने उल्लेख गरेका छन् ।

लिमका अनुसार क्यानडा र भारतबीच विवाद बढ्दा पछिल्ला दिन पश्चिमी खेमामा हलचल मच्चिएको छ । यो किन भइरहेको छ भने चीनको विरुद्ध एकजुट हुनपर्दा कमजोर भइन्छ । अमेरिकाको नेतृत्वमा जुन क्षेत्रिय सुरक्षाको कुरा भइरहेको छ त्यसमा भारतको कमजोर उपस्थितीले चीनलाई फाइदा हुन्छ ।

लिमको दाबी छ– यदि भारतका विरुद्ध क्यानडाले ठोस सबुत दिन सक्यो भने योसँगै वैदेशिक हस्तक्षेप नयाँ अवस्थामा पुग्नेछ ।

चीनले पनि यति खुला तरिकाले कारवाही नगर्ने उनको बुझाइ छ । यदि आरोपलाई क्यानडाले प्रमाणित गरे चीनका एजेन्ट वीगर मुसलमानलाई शिनजियाङ्गमा फर्काउनको लागि अपहरणमा सहभागी भएको तथ्यलाई समेत यस घटनाले ओझेलमा पार्नेछ ।

हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई फाइदा

लामो समयदेखि चीन र क्यानडाबीच सम्बन्ध राम्रो छैन । उनीहरुबीच पनि तनाव छ । क्यानडाले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप चीनमाथि लगाउँदै आएको छ । चीन र क्यानडाबीचको तनाव इन्डोनेसियाको बाली सहरमा आयोजित जी–२० शिखर सम्मेलनमा देखिएको थियो ।

सम्मेलनको दौरान चिनियाँ राष्ट्रपति सी चिनफिङ क्यानडाका प्रधानमन्त्री ट्रुडोसँग रिसाएका थिए । ट्रुडोसँग रिस पोख्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सी यसकारण रिसाएका थिए कि उनले ट्रुडोसँग गरेको कुराकानी अखबारमा लिक भएको थियो ।

भिडियोमा ट्रुडोलाई सी चिनफिङले भनिरहेका थिए, “पहिला भएका कुराकानीलाई तपाईँले मिडियामा दिन पाउनुहुन्न । यो ठिक भएन । कूटनीतिमा यस्तो काम गर्नु हुँदैन ।”

सार्वजनिक स्थानमा निकै सतर्क रहने चिनियाँ राष्ट्रपति इन्डोनेसियामा भिन्न तरिकाले प्रस्तुत भएका थिए । हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक)लाई लिएर पनि चीन र क्यानडा आमनेसामने हुने गरेका छन् । युरोप र अमेरिकाजस्तै क्यानडा पनि हिन्द–प्रशान्त क्षेत्रमा भारतलाई एक प्रमुख खेलाडीको रुपमा हेर्छ । भारत तोकतान्त्रिक राष्ट्र हुनुका साथै साझा मूल्य मान्यता रहेकाले क्यानडाको लागि भारतको महत्त्व बढी नै छ ।

क्यानडाले आफ्नो हिन्द–प्रशान्त रणनीतिमा स्पष्ट शब्दमा भनेको छ– चीन एक अस्थिरता पैदा गर्ने विश्व शक्ति हो । यसैकारण क्यानडाको रणनीति सहयोगी देशसँग मिलेर चीनको सामना गर्ने नै हुनेछ ।

क्यानडाले आफ्नो हिन्द–प्रशान्त रणनीतिमा भनेको छ, “चीनको उदय जुन अन्तर्राष्ट्रिय नियम–कानूनबाट भएको छ उ तीनैलाई अस्वीकार गर्न थालेको छ । चीनले जसरी आफ्नो सैन्यकरण गर्दैछ र समुन्द्री तथा वायु मार्ग नियन्त्रण गर्न चाहन्छ त्यसले अन्तर्राष्ट्रिय व्यवस्थामा ठूलो खतरा उत्पन्न हुनसक्छ ।”

चीन हिन्द–प्रशान्त क्षेत्रमा आफ्नो आर्थिक, कूटनीतिक र आक्रामक सैन्य तथा प्राविधि क्षमता बढाउन ठूलो लगानी गरिरहेको छ । यस्तो अवस्थामा क्यानडाले भारतलाई आफ्नो स्वभाविक सहयोगी मान्दै आएको छ । तर निज्जरको हत्या विवाद पछि क्यानडा र भारतबीच दूरी ह्वात्तै बढेको छ । यो दूरीले क्यानडाको हिन्द–प्रशान्त रणनीतिलाई कमजोर बनाउने छ ।

चीनलाई काउन्टर दिन बनेको पश्चिम राष्ट्रहरुको समूहलाई यसले नोक्सान गर्नेछ ।

पश्चिमी राष्ट्रलाई अप्ठेरो

अमेरिकाले निज्जरको हत्याको आरोपलाई लिएर चिन्ता व्यक्त गरेको छ । अमेरिकाले अनुसन्धानलाई अघि बढाउन र दोषीलाई न्यायको कठघरामा उभ्यान क्यानडालाई भनेको छ । क्यानडासँगको बढ्दो विवादले बेलायत र अष्ट्रेलियासँगको भारतको सम्बन्धमा पनि असर गर्न सक्छ । किनकि यी देशमा सिखको संख्या निकै ठूलो रहेको छ ।

बेलायतले पनि क्यानडाले व्यक्त गरेको गम्भीर चिन्तालाई ध्यानपूर्वक हेरिरहेको बताएको छ । पहिला घटनाको अनुसन्धान पुरा होस् भन्ने पर्खाइमा बेलायत छ । पश्चिमी राष्ट्रहरु अनुसन्धानको अन्तिम नतिजाको पर्खाइमा छन् । तर यहाँ प्रश्न यो छ– यदि भारतको संलग्नता भेटियो भने पश्चिमी राष्ट्रहरु के गर्छन् ?

यो प्रश्नको जवाफ पाउन वा दिन सजिलो छैन । यही अप्ठेरोमा पर्नेछन् पश्चिमी राष्ट्र ।

यसले एकआपसको सम्बन्ध सपार्ने र बिगार्ने दुवै गर्नसक्छ । कानूनी शासनको समर्थन गर्ने वा राजनीतिक आवश्यकता हेर्ने– यी दुईमध्ये एकलाई रोज्नुपर्दा जुन अप्ठेरो हुन्छ त्यो अवस्था पश्चिमी राष्ट्रले सामाना गर्नुपर्नेछ ।

‘खालीस्तान’ र भारत–क्यानडा सम्बन्ध

भारतमा सिख पृथकतावादीहरुले अलग देशको माग गर्दैै आएका छन् । उनीहरुले मागेको देश थियो– खालीस्तान । यो आन्दोलनले खास गति असीको दशकमा लिएको थियो । सन् १९८४ मा सिख पृथकतावादीले भारतको तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या गरेका थिए । त्यसपछि भारतले सिख पृथकतावादीविरुद्ध कडा नीति लिँदै आएको छ ।

सन् १९८४ मा इन्दिरा गान्धीले अमृतसरको स्वर्ण मन्दिरमा सैनिक पठाएकी थिइन् । स्वर्ण मन्दिर सिखको लागि पवित्र स्थल हो । स्वर्ण मन्दिरमा हतियारसहित सिख चरमपन्थीहरु भेला भएका थिए । ‘अपरेसन ब्लू स्टार’ को नामले चर्चित यस घटनाामा ८३ जना भारतीय सेना मारिएका थिए भने २४८ जना सैनिक घाइते भएका थिए ।

यसको अलवा घटनामा ४९२ अन्य मानिसको मृत्यु भएको थियो । घटनामा १ हजार ५९२ जनालाई हिरासतमा लिइएको थियो । उक्त घटनाको एक वर्षपछि सन् १९८५ मा क्यानडामा रहेका खालीस्तान पृथकतावादी समूहले एयर इन्डिया विमानमा बम विस्फोट गराएका थिए ।

टोरन्टोबाट लण्डन गइरहेको एयर इन्डियाको फ्लाइटमा विस्फोट भएको थियो । उक्त विस्फोटमा परी विमानमा रहेका सबै ३२९ जनाको मृत्यु भएको थियो । यो क्यानडामा भएको सबैभन्दा डरलाग्दो आतंकवादी आक्रमण थियो । यस घटनालाई नरसंहारको रुपमा पनि हेरिन्छ ।

लामो अनुसन्धानपछि सन् २००५ मा ब्रिटिस कोलम्बियाका दुईजना सिख पृथकतावादीलाई रिहा गरिएको थियो । यो घटनाको अनुसन्धानको क्रममा कयौं साक्षीको मृत्य र हत्या भएको छ । साक्षीलाई बयान नदिन धम्की दिइएको थियो ।

खासगरी यसवर्ष खालिस्तानी पृथकतावादीलाई लिएर क्यानडा र भारतबीच तनाव तब बढ्यो जब केही महिनाअघि ब्राम्पटनमा आयोजित परेडमा एउटा झाँकी देखाइयो । झाँकीमा भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीलाई रगतले लतपतिएको सारीमा देखाइएको थियो । पगडी लगाएका मानिसहरु इन्दिरा गान्धीलाई बन्दुक देखाइरहेका थिए ।

झाँकीमा एउटा प्लेकार्डमा लेखिएको थियो– श्री दरबार साहिबमा भएको आक्रमणको बदला । पछिल्लो केही महिनाहरुमा क्यानडा र लण्डनमा भारत विरोधी प्रदर्शनहरु देखिएका थिए । क्यानडामा भारतीय कूटनीतिज्ञको पोस्टर लगाएर उनीहरुलाई निशाना बनाउन अपिल गरिएको थियो ।

त्यसपछि भारतले क्यानडासँग यस्ता घटना रोक्न माग गर्दै आएको थियो । भारतले क्यानडा सरकारसँग यस्ता घटनालाई लिएर आपत्ति जनाउँदै आएको थियो । भारतले ट्रुडो सरकार सिख पृथकतावादीहरुप्रति नरम रहेको आरोप लगाउँदै आएको थियो ।

यसैक्रममा गएको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियामा सिख पृथकतावादी अभियन्ता हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो । क्यानडाका प्रधानमन्त्री ट्रुडोले सोमबार उक्त घटनामा भारत संलग्न रहेको आरोप लगाएपछि भारत र क्यानडाबीच तनाव बढेको थियो ।

बीबीसीबाट