‘ह्वावे मेट ६० प्रो’ अर्थात् चिप वारमा चीनले अमेरिकालाई जीतेको व्यवहारिक प्रमाण

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकी प्रतिबन्ध खेपिरहेको चिनियाँ कम्पनी ह्वावे आफ्नै प्रोसेसर विकास गर्न सफल भएको छ। हालै सार्वजनिक गरेको नयाँ स्मार्टफोनमा आफैँले तयार गरेको प्रोसेसर प्रयोग गरेपछि यसमा सो कम्पनी ‘ब्रेकथ्रु’ गर्न सफल भएको विश्लेषण गर्न थालिएको छ।

ह्वावेले हालै मेट ६० प्रो नामक स्मार्टफोन सार्वजनिक गरेको छ। जुन लगत्तै बिक्री भइसकेको छ। सो स्मार्टफोनको मुख्य चिप ह्वावे आफैँले डिजाइन गरेको हो। यससँगै आफ्नै सेमिकन्डक्टर डिजाइन गर्न सफल ठूला प्रविधि कम्पनीहरुको समूहमा ह्वावे पनि प्रवेश गरेको छ।

मेट ६० स्मार्टफोनका ८ मध्ये ४ वाटा ‘सिस्टम अन अ चिप’ बेलायती कम्पनी आर्मले गरेको डिजाइनमा आधारित छन्। तर, अरु चार सीपीयू भने ह्वावेको आफ्नै डिजाइनमा निर्मित भएको बताइएको छ।

सार्वजनिक गर्दा कम्पनीले सो मोबाइलको प्राविधिक विशिष्टतासमेत खुलाएको थिएन । तथापि, चिनियाँ सरकारी मिडियाले भने हुवावेको पछिल्लो फोन चीनले चिप निर्माणमा गरेको प्रगतिको दस्तावेज हुने बताउन थालेका थिए । फोन बजारमा पाउन थालेपछि प्राविधिकहरूबीच त्यसलाई खोलेर हेर्ने क्रम चल्यो । जाँचमा फोनमा उन्नत ७ नानोमिटरको चिप नै प्रयोग भएको पाइयो । सो चिपमार्फत मेट ६० प्रोले केही काम पछिल्लो एप्पलकै हाराहारी काम गरेको पाइयो । जब कि पछिल्लो आइफोनमा विश्वको प्रमुख चिप निर्माता कम्पनी ‘ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ’ (टिएसएमसी)ले बनाएको थप उन्नत ४ नानोमिटरको चिप प्रयोग भएको छ । (सो कम्पनीले सन् २०२५ सम्म २ नानोमिटरको चिप बनाउने लक्ष्य लिएर काम गरिरहेको छ ।) नानोमिटर चिपको आरका नाप्ने एकाइ हो र चिपको आकार जति सानो भयो, त्यो त्यति नै उन्नत हुन्छ ।

चिनियाँ मिडियाले हुवावेको नयाँ फोन सार्वजनिक भएसँगै चीनविरुद्ध लागू अमेरिकी प्रतिबन्धले आफ्नो देशको प्राविधिक विकासलाई रोक्न असफल भएको कुरामा जोड दिइरहेका छन् । ‘चीनको चरम दमन असफल भएको छ र यसले अमेरिका–चीन प्राविधिक युद्धको समग्र चित्र र त्यसको अन्तिम परिणामको प्रतिनिधित्व गर्छ,’ ग्लोबल टाइम्सको दाबी छ । हुवावे आफैँले पनि ‘प्रतिबन्धका बाबजुद हासिल भएको उपलब्धि’का रूपमा व्याख्या गरेको छ ।

अमेरिकाले प्रतिबन्ध लगाएर आधुनिक चिपहरुमा ह्वावेको पहुँच बन्द गरिदिएपछि यो कम्पनी २०१९ देखि नै संघर्षरत छ। ह्वावेले फाइभजी स्मार्टफोन बनाउन नपाओस् र विश्वमा बजार विस्तार गर्न नसकोस् भनेर अमेरिकाले यस्तो प्रतिबन्ध लगाएको थियो।

जसका कारण ह्वावे केही वर्ष फोरजी ग्याजेट बेच्न तथा घरेलु बजारमै केन्द्रित हुन बाध्य भयो। तर, अहिले प्रतिबन्धका बाबजुद आफ्नै सेमिकन्डक्टर विकास गर्न यो कम्पनी सफल भएको छ।

यसले एप्पलको सिलिकन इनिसियटिभजस्तै रणनीति ह्वावेले अख्तियार गरेको देखिन्छ। एक दशकभन्दा लामो समयदेखि एप्पलले आर्मको डिजाइनलाई सुधार गरेर आफ्नो फोन र म्याकबुकमा प्रयोग गर्दै आएको छ। जसको प्रदर्शन अरुको भन्दा राम्रो हुने गरेको छ।

तर, यसमा जटिलता, ठूलो लागत र इन्जिनियरिङ स्रोतको अभावका कारण सीमित कम्पनी मात्रै सेमिकन्डक्टर विकासमा लाग्न सक्छन्।

ह्वावेले आफ्नो सर्भरमा प्रयोग भएको सीपीयू कोर डिजाइनको नक्कल गरेर फोन प्रोसेसर बनाएको बताइएको छ। एप्पलले भने आईफोनको प्रोसेसरलाई विकास गरेर म्याक कम्प्युटरको चिप बनाएको थियो

तर, अमेरिकी प्रतिबन्धका कारण अति क्षमतावान चिप भने ह्वावेले अझै बनाउन नसक्ने विश्लेषण गरिँदै आएको छ। केहीले ह्वावेको सेमिकन्डक्टरको क्षमता अमेरिकाको प्रमुख मोबाइल चिपमेकर क्वालकमभन्दा एकदेखि दुई वर्षले पछाडि छ।

‘ह्वावे सबैभन्दा जोखिमपूर्ण तत्व विस्थापित गर्न सफल भएको छ,’ कम्पनीको चिप डिजाइनबारे जानकार एक व्यक्तिको भनाइ फाइनान्सियल टाइम्सले उधृत गरेको छ, ‘यो प्रयास सराहनायोग्य छ। तर, जितको दाबी गर्न पर्याप्त भने छैन।’

अमेरिकाले युरोपेली आयोगको सहयोगमा सबैभन्दा उन्नत चिप्स उत्पादन गर्ने इयुभी मेसिन चीनलाई निर्यात रोक्न बाध्य बनायो । विश्वमा अहिले नेदरल्यान्डको ‘एडभान्स सेमिकन्डक्टर म्याटेरियल लिथोग्राफी (एएसएमएल)’ ले मात्र यस्तो मेसिन बनाउन सक्छ । यी सम्पूर्ण अवरोधका बाबजुद यदि चीनले सात नानोमिटरको चिप पूर्ण रूपमा देशभित्रै डिजाइन गरेर उत्पादन गर्न सक्षम भएको हो भने, त्यो ठूलो सफलता भएको विज्ञको निष्कर्ष छ । भलै चीनको यो चिप्स हाल विश्वमा प्रचलनमा रहेको चिप्सभन्दा करिब पाँच वर्षपछाडि नै किन नहोस् ।

र त्यसको निर्माणमा सिलिकन वेफर्सलाई एकपटकको साटो धेरैपटक प्रकाशको साक्षात्कार गराउने धेरै महँगो र समय लाग्ने गर्ने बहुप्याटर्निङ प्रविधि नै प्रयोग किन नभएको होस् । ‘महँगो निर्माण खर्चले चीन चिप्स युद्धमा पछाडि नपर्न कतिसम्म दृढ छ भनेर देखाउँछ । हुवावेको विशाल वित्तीय स्रोत र सरकारको उदार अनुदानले मात्र यो फोन आमबजार मूल्यमा बेच्न सकिने भएको हो,’ गभेकाल ड्रागोनोमिक्सका विश्लेषक टिली झाङले भने ।