कोरियाली नेता किम जोङ उन चढ्ने विलाशी रेलको कहानी, के छन् यसका विशेषता
उत्तर कोरियाली नेता किम जङ अन बुलेटप्रूफ रेल चढेर रुसको यात्रामा निस्किएका छन्। उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भ्लादिभोस्टक नगरमा भेट्ने योजना छ। एक अमेरिकी अधिकारीका अनुसार रुसले युक्रेनबाट प्रत्याक्रमण झेलिरहेको बेला दुई नेताबीच शस्त्र सम्झौताबारे छलफल हुन सक्छ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले किमको रेल मङ्गलवार बिहान सबेरै रुसी भूमिमा प्रवेश गरेको पुष्टि गरेको छ। उक्त रेल अहिले बन्दरगाह सहर भ्लादिभोस्टकतिर अघि बढिरहेको छ। किमसँग उनको सरकारका वरिष्ठ पदाधिकारीहरू र सैन्य अधिकारीहरू पनि भएको उत्तर कोरियाको सरकारी समाचारसंस्था केजीएनएले जनाएको छ।
किम र पुटिनबीच हुने छलफलको मुख्य विषयवस्तुमा प्योङ्याङले मस्कोलाई युक्रेन युद्धमा सहयोग पुग्ने गरी हातहतियार दिने कुरा हुनसक्ने यसअघि एक अमेरिकी अधिकारीले सीबीएसलाई बताएका थिए। क्रेम्लिनले उत्तर कोरियाका लागि मानवीय सहायता उपलब्ध गराउनेबारे पनि छलफल हुनसक्ने जनाएको छ। उत्तर कोरियामा औषधि र खाद्यपदार्थसहित अत्यावश्यक सामग्रीको चरम अभाव छ।
यसअघि किम आफ्नो अन्तिम विदेश भ्रमणमा किम रुसको भ्लाडिभोस्टक नै गएका थिए। उत्तर कोरियाको परमाणुनिरस्त्रीकरण वार्ता विफल भएपछि त्यहाँ उनको र तात्कालिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट भएको थियो।
उत्तर कोरियाली नेताहरूको पुरानो परम्परा अनुसरण गर्दै किमले पनि १,१८० किलोमिटर यात्राका लागि सुस्त गतिमा गुड्ने रेलमा झन्डै २० घण्टा बिताउने छन्। किम चढेको रेलमा फ्रान्समा उत्पादित मदिरा र विभिन्न परिकार उपलब्ध एउटा रेस्टुराँ पनि भएको बताइन्छ। उक्त रेल निकै गहौँ छ र त्यो ५० किलोमिटर प्रतिघण्टाको गतिमा चल्छ। तुलना गरेर हेर्ने हो भने लन्डनको द्रुत गतिको रेल प्रतिघण्टा २०० किलोमिटर र जापानको शिन्कान्सेन बुलेट रेलको गति ३२० प्रतिघण्टा छ।
किमको लामो यात्राले उत्तर कोरियामा विद्यमान रेल सञ्जाल पुरानो भएको सङ्केत गर्छ। किम चढ्ने यो रेलको नाम उत्तर कोरियाका संस्थापक नेता किम इल सङको नामबाट ‘तायङ्घो’ राखिएको छ। त्यसको अर्थ घाम भन्ने हुन्छ।
लामो समयसम्म सम्मान पाएको रेल
रेलबाट लामो दूरीको यात्रा किम जङ अनका हजुरबुवा किम इल सङले सुरु गरेका थिए। उनले भियतनाम र पूर्वी युरोपको यात्रामा निस्कँदा आफ्नै रेल प्रयोग गरेका थिए। निकै आरामदायी यस्ता रेलहरूमा उच्च सुरक्षा पहरा हुन्छ। यहाँ रहेका सुरक्षा अधिकारीहरूले रेलको मार्ग र आउन लागेको स्टेशनमा बम वा अन्य कुनै खतरा रहे नरहेको राम्रोसँग जाँच गर्छन्।
उत्तर कोरियामा सन् १९९४ देखि मृत्युपर्यन्त सन् २०११ सम्म शासन गरेका किम जङ अनका बुवा किम जङ इल विमानमा यात्रा गर्न डराउने भएका कारण रेलमा यात्रा गर्ने गरेको बताइन्छ। किम जङ इल सन् २००१ मा पुटिनलाई भेट्न मस्को जाँदा १० दिनसम्म रेलमा यात्रा गरेको विषयमा निकै चर्चित थियो।
सन् २००१ मा उत्तर कोरियाली नेताको सवारीमा साथी पठाइएका रुसी सैन्य कमान्डर कोन्स्टान्टिन पुलिकोफ्स्कीले उक्त यात्राको ‘सान’बारे आफ्नो संस्मरण ‘ओरिअन्ट एक्सप्रेस’ मा लेखेका छन्। “त्यहाँ रुसी, चिनियाँ, कोरियाली, जापनी वा फ्रान्सेली सबै प्रकारका परिकार मगाउन सकिन्थ्यो,” उनले भनेका छन्।
उनले रुसका राष्ट्रपति पुटिनको रेलमा पनि किम जङ इलले उपभोग गरे जस्तो सुविधा नभएको उल्लेख गरेका छन्। उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार किम जङ इलको मृत्यु उक्त विलासी रेलमा यात्राका क्रममा हृदयाघातका कारण भएको थियो।
सन् २००९ मा दक्षिण कोरियाको दैनिक पत्रिका ‘जोसन इल्बो’ले उल्लेख गरेअनुसार किम जङ इलको बख्तरबन्द रेलमा झन्डै ९० वटा डिब्बा थिए। पहेँलो धर्सा भएको हरियो रङ्गको रेलमा सभाहलदेखि दर्शकदीर्घा र शयनकक्ष पनि थिए। उक्त रेलमा सञ्चारका लागि स्याटलाइट फोन र टेलिभिजनहरू पनि थिए।
रुसमा बनेको निजी विमानमा कैयौँ पटक उडेका किम जङ अनलाई उनका बुवाको जस्तो विमान चढ्न डर नलाग्न सक्छ। तर यसअघि सन् २०१९ मा पुटिनसँग भेट्न रुसको सुदूरपूर्वी भ्लादिभोस्टिक आउँदा पनि उनले रेलमै यात्रा गरेका थिए। त्यहाँ पुगेका किमलाई रुसी अधिकारीहरूले परम्परागत शैलीमा पाउरोटी र नुन दिएर स्वागत गरेका थिए।
त्यो नै सम्भवतः उनको अन्तिम विदेश भ्रमण थियो। उनले आफ्ना बुवाले नै प्रयोग गर्दै आएको रेल विदेश भ्रमणमा प्रयोग गरिरहेको बताइन्छ। उनको यात्राबारे एउटा अपुष्ट चर्चा पनि छः उनको यात्रा प्योङ्याङबाट सुरु हुन्छ र रुसी सीमामा पर्ने तुमन्गाङ स्टेशनमा रुसी रेलमार्गमा उपयुक्त हुने गरी उनको रेलका चक्काहरू फेरिन्छ।
रेलका चक्काहरू फेरि्न केही घण्टा वा त्योभन्दा पनि बढी लाग्ने अनुमान छ।