जी २० को शिखर सम्मेलन आजदेखि दिल्लीमाः हामीले थाहा पाउनु पर्ने केही कुरा

मूलखबर संवाददाता
काठमाडौं

ठूला अर्थव्यवस्था भएका मुलुकहरूको समूह जीट्वेन्टी शिखर सम्मेलन भारतमा आज सुरु हुँदै छ ।

जीट्वेन्टी समूहमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, रपब्लिक अफ कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत र अमेरिका गरी १९ देश आवद्ध छन् । समूहको २०औँ सदस्य हो युरोपेली संघ । अर्थात युरोपेली देशहरूको बलियो समूह ।

हरेक वर्ष चक्रीय प्रणालीअनुसार सदस्य देशमा सम्मेलन आयोजना हुने गरेको छ । एक ‘थिम’ मातहत समूहकाे बैठक हुन्छ भने यसले विभिन्न महत्वाकाङ्क्षी लक्ष्यहरू निर्धारण गर्छ ।

सम्मेलनमा भाग लिन सदस्य देशका प्रमुखहरू नयाँ दिल्ली ओर्लिने क्रम जारी छ । अमेरिकी राष्ट्रपति जो बाइडेन हिजै दिल्ली पुगिसकेका छन् । तर, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यसपालिको सम्मेलनमा सहभागी नहुने भएका छन् । आफ्नो ठाउँमा उनीहरूले प्रतिनिधि पठाउने छन् ।

 

भोलिसम्म चल्ने बैठकको कुनै निर्धारित एजेण्डा त छैन तर सम्भवतः जलवायु परिवर्तन, वैश्विक चुनौतीहरू, रुस-युक्रेन युद्ध, स्वच्छ ऊर्जा परिवर्तन र गरिबीजस्तो मुद्दामाथि विमर्श हुने अपेक्षा गरिएको छ ।

आज सुरु हुने जी-२० को शिखर सम्मेलन १८औं हो । भारतले आयोजना गरेको जी-२० शिखर सम्मेलन भने यो पहिलो हो । त्यसैले भारत खुशी देखिएको छ । भारतले विश्वका शक्तिशाली र धनी देशहरुका सरकार तथा राष्ट्र प्रमुख तथा उनीहरुका प्रतिनिधिहरुलाई बोलाएर एकै मञ्चमा उतार्न पाएको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो अवसर हो । यस अगाडि सन् १९८३ मा आयोजना भएको असंलग्न राष्ट्रहरुको सम्मेलनलाई लिने गरिएको छ । इन्दिरा गान्धी प्रधानमन्त्री भएको त्यो समयमा भारतले सातौं असंलग्न राष्ट्रहरुको सम्मेलनको अवसर पाएको थियो ।

सोभियत संघदेखि अमेरिकी कित्ता दुवैमा जोडिन नचाहने एसियाली तथा अफ्रिकी देशहरुको भेला भएकाले असंलग्न राष्ट्रहरुको प्रभाव त्यस्तो ज्यादा थिएन । भारतले सन् २०१२, २०१६ र २०२१ मा ब्रिक्स शिखर सम्मेलन पनि आयोजना गर्‍यो । तर, त्यो समयमा ब्रिक्सको अहिले दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको शिखर सम्मेलनको जस्तो रापताप थिएन । यस्तै भारतले सन् १९५१ मा गरेको प्रथम तथा १९८२ मा गरेको सातौं एसियाली खेलकुद संस्करण र सन् २०१० को कमनवेल्थ गेम्स भारतका ठूला विश्वस्तरीय कार्यक्रम हुन् । ती सबैभन्दा प्रभाव र प्रचारको कोणमा जी-२० नै ठूलो भएकोले अहिले ज्यादा चर्चा भएको हो ।

भारतमा सत्ताधारी दल भारतीय जनता पार्टी (बीजेपी) छ । बीजेपीको भावनात्मक साइनो हिन्दू धर्मसँग छ । राजनीतिक मुद्दा त्यसैको छ । यसको प्रचारमा पनि भारतले जी-२० राम्रोसँग प्रयोग गरेको छ । भारतको लोगोको नारामा वसुधैव कुटुम्बकम् नामकको वैदिक नारा दिएको छ । यस्तै उसले ‘इन्डिया’मात्रै प्रयोग नगरेर ‘भारत’ शब्दप्रयोग गरेको छ । नेपालमा भारत शब्दको प्रयोग जनमानसमा भए पनि भारतमै भने आलोचना हुने गरेको छ । जस्तो भारतका विपक्षी दलका नेता शशि थरुरले भारत प्रयोग गर्नु संवैधानिक भए पनि इन्डिया नै धेरै बिक्री भएको नाम भएको भन्दै त्यसो गर्न सामाजिक सञ्जालमा सुझाएका छन् । अंग्रेजीमा इन्डियाको नभनेर भारतका राष्ट्रपति भन्ने शब्द प्रयोग गरेको पोस्ट गर्दै थरुरले यस्तो आलोचना गरेका थिए । तर, थरुरको जस्तो मध्यमार्गी र अन्य उग्र आलोचनाहरु आए पनि बीजेपी टसमस भएको छैन । हिन्दूवादीहरु भने बीजेपीको लाइनमा खुलेर समर्थनमा आएका छन् ।

बीजेपीको हिन्दीमोहमा धेरैले साथ पनि दिएका छन् । जस्तो सन् २०२२ नोभेम्बर १६ मा बेलायती प्रधानमन्त्री ऋषि सुनकले मोदीसँग भेट भएको तस्बिर सार्वजनिक गर्दै क्याप्सन लेखेका थिए, ‘एक मजबुत दोस्ती ।’ पछिल्लो समयमा अमेरिकाको ह्वाइट हाउसमा बोल्दा मोदीले हिन्दी प्रयोग गरे । सन् २०१४ मा पहिलो पटक संयुक्त राष्ट्रसंघको महासभामा अंग्रेजी बोलेका मोदीले त्यसपछिका हरेक सम्बोधन हिन्दीमा गरेका छन् । बीजेपी र मोदीको हिन्दी र हिन्दूत्वमोहको घरमै विश्वस्तरीय प्रदर्शन गर्ने अवसर जी-२० ले दिएको छ ।


जी-२० को लोगोमा कमलको फूल छ । कमलको फूलमा विश्व राखिएको छ । सत्ताधारी बीजेपीको चुनाव चिह्न पनि कमल नै हो । त्यसैले आसन्न संघ चुनाव ताकेर बीजेपीले जी-२० को सदुपयोग लोगोबाटै गरेको छ ।

जी-२० शिखर सम्मेलन अगाडि धेरै मिटिङहरु हुन्छन् । भारतमा २०० वटाभन्दा बढी मिटिङ भए । त्यसमा एक मिटिङ पर्यटन बारेमा भारत शासित काश्मीरमा भएको थियो । ६० जना सहभागीक भएको बैठक भारततर्फको काश्मीरको राजधानी श्रीनगरमा भएको थियो । चीन र साउदी अरबले बैठक बहिष्कार गरेका थिए । विवादित भूमिमा बैठक भएको भन्दै दुई देश सहभागी भएनन् । तर, युरोपेली संघ, अन्य देशहरु सहभागी भएकाले भारतको पक्ष बलियो भएको देखाउन खोजिएको छ । सन् २०१९ अगस्टबाट केन्द्र शासनमा आएको काश्मीरमा सन् २०२३ मे मा जी-२० बैठक बसेको थियो । विश्व मिडियामा बैठक विवादित भएका समाचारहरु आएका थिए ।