राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत, कप्तान पौडेलले भने- पूर्वाधारमा लगानी बढाउनुपर्छ

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । एसिया कप क्रिकेटमा सहभागी भएर नेपाली राष्ट्रिय टोली बुधबार स्वदेश फर्किएको छ । उनीहरुलाई नेपाल क्रिकेट एशोसिएसन (क्यान) र क्रिकेट समर्थकहरुले बाजागाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले क्रिकेटको विकासका लागि अब खेलाडी र क्रिकेट मैदानमा लगानी बढाउनुपर्ने बताए । ‘अब हाई टाइम भइसक्यो, अब इन्फास्ट्रक्चरमा लगानी गर्नुपर्छ,’ उनले भने, ‘एउटै स्ट्रक्चरमा सबैले अभ्यास गरिरहनुपरेको छ, स्पेसली पिचहरु भए, ग्राउन्ड प्रिपेसन गर्न सकिन्छ । सबैले खेलाडीमा इन्भेस्ट गरेमा राम्रो हुन्छ ।’

उनले एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यास स्तर राम्रो बनाउन नसकिने बताए । भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको र त्यसबाट धेरै कुरा सिकेको पनि उनले बताए ।

यसैगरी ओपनर ब्याटर आसिफ सेखले राम्रो टिमसँग खेलेर राम्रो स्कोर बनाउँदा आत्मविश्वास बढेको धारणा राखे । उनले ड्रेसिङ रुममा भारतीय खेलाडीले मेडल लगाइदिँदा गर्व महसुस भएको सुनाए ।

मेडल लगाइसकेपछि भारतीय क्रिकेटर विराट कोहलीले आफूले क्याच छोडिदिएकामा एउटा मेडल आफूलाई पनि दिनुपर्छ भन्ने ठट्टा गरेको उनले बताए । ‘राम्रो टिमसँग राम्रो स्कोर गर्दा आत्मविश्वास बढेको छ । विराट कोहलीले हामीलाई मेडल लगाइदिँदा धेरै नै प्राउड फिल भयो । अन्तिममा उहाँले एउटा मेडल मलाई पनि दिनु मैले क्याच छोडें नि त भन्नुभयो,’ सेखले भने ।

विश्वका नम्बर वान भारतीय टिमसँग खेलेपछि अब नेपाली खेलाडीहरु कुनै पनि बलियो टिमसँग निर्धक्क भएर खेल्न सक्ने नेपाली खेलाडीहरुले बताएका छन् ।