फोटोमा हेर्नुहोस् नेपाल र भारतको क्रिकेट
काठमाडौं । पहिलो पटक भारतको सामना गरेको नेपालको सिनियर क्रिकेट टोलीले एसिया कपमा शानदार ब्याटिङ गर्दै २३१ रनको लक्ष्य दिएको छ ।
श्रीलंकाको पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २३० रन बनायो ।
नेपालका लागि आशिफ सेखले अर्धशतकीय पारी खेले । ९७ बलमा ५८ रन बनाएर उनी आउट भए ।
यसैगरी सोमपाल कामीले दुई छक्का र एक चौकाको मद्दतमा ४८ रन योगदान गरे । भटाभट विकेट गइरहेको बेला उनले नेपालको स्कोर उकासेका थिए ।
यसैरी कुशल भुर्तेलले दुई छक्काको मद्दतमा ३८ रन बनाए । गुल्शन झाले २३ र दीपेन्द्र सिंह ऐरीले २९ रन बनाए ।
सन्दीप लामिछानेले ९, भिम सार्कीले ७, कप्तान रोहित पौडेलले ५ र कुशल मल्लले २ रन जोडे । करन केसी २ रनमा नटआउट रहे भने ललित राजवंशीले खाता नै खोल्न सकेनन् ।
नेपाली दर्शकहरुले नेपाली खेलाडीहरुको हौसला बढाएका थिए । नेपाललाई जित्नै पर्ने अवस्था छ भने वर्षाले खेल अवरुद्ध पारे पनि भारत दोस्रो चरणमा पुग्ने छ ।
तस्वीरहरु : एएफपी र राससबाट