पाकिस्तानविरुद्ध नेपालको फिल्डिङ, प्रधानमन्त्री प्रचण्डले दिए जितको शुभकामना

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेटमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको नेपाली क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् ।

पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय टिमसँग बुधबार बिहान भर्चुअल संवाद गर्दै प्रधानमन्त्री प्रचण्डले जितको शुभकामना दिएका हुन् । ‘राम्रो खेल्नुस्, सिंगै देश तपाईंहरूको साथमा छ,’ उनले भने । उनले खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले सधैँ ध्यान दिएको समेत बताए ।

भर्चुअल संवादमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यसैअनुसार प्रतिस्पर्धामा प्रस्तुत हुने प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

विश्व वरियतामा एक नम्बरमा रहेको पाकिस्तानसँग नेपालले आज खेल्न लागेको हो । आजको दिन नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन हो ।

पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्दैछ ।

रोहित पौडेल नेतृत्वको नेपाली टिममा  कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख , दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।