अशान्त धरानलाई शीर्ष नेताहरूको सन्देशः सामाजिक एकतामा नै सबैको हित छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रहन अपिल गरेका छन् । प्रधानमन्त्री दाहालले शनिबार एक अपिल सार्वजनिक गर्दे केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सामाजिक सद्भाव एवं एकतामा खलल पुर्याउने तर्फ सचेत रहन आग्रह गर्दै यस्तो अपिल गरेका हुन् ।
उनले धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुन अपिलमार्फत आग्रह गरेका छन् । विश्वमा नेपालले विविधताबीचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात गर्दै अगाडि बढेको उनले बताए ।
‘नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ’ अपिलमा भनिएको छ, ‘कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ ।’
‘एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ । त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु, अपिलमा भनिएको छ ।’
‘सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपील गर्दछु, उनले भनेका छन् ।’
त्यसैगरी नेपाली कांग्रेसले पनि केही दिन यता धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्ने विषयप्रति चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक, राजनीतिक समग्र सद्भावका लागि सार्वजनिक अपिल गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक अपिल जारी गर्दै यस विषयको संवेदनशीलतालाई मध्येनजर गर्दै राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न अपिल गरेका छन् ।
कांग्रेसको अपिलमा भनिएको छ, ‘परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौँ । नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन । साथै कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दख्खल पुर्याउन पनि उचित हुँदैन ।’
नेपालीको भावना र चाहना विपरित धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा नहुने भन्दै कांग्रेसले यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने चिन्ता प्रकट गरेको छ । अपिलमा भनिएको छ, ‘यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरि हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो ।’