रुसी राजनीतिको एउटा कथाः पुटिन र प्रिगोजिनको त्यो मित्रता जुन दुश्मनीमा बदलियो

मूलखबर संवाददाता
काठमाडौं

वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको सम्बन्ध सन्देहपूर्ण परिस्थितिमा सुरु भएको थियो र त्यसको अन्त्य त्यत्ति नै अप्रिय ढङ्गले भएको छ। त्यो एउटा विरोधाभासपूर्ण सम्बन्ध थियो जुन एउटा ठिक बेठिक प्रस्टसँग छुट्याउन कठिन हुने परिस्थितिमा सुरु भयो। त्यसबेला राज्यका सुरक्षा निकायहरूले भूमिगत अपराधी समूहहरूसँग हिमचिम बढाएका थिए र यसको अन्त्य नराम्रोसँग हुने निश्चित थियो।

केही दशकमा नै वाग्नर रुसको एउटा अति प्रभावशाली संरचना बन्न पुग्यो। कतिपयले पुटिनको सत्ताको सुनिश्चितता युक्रेन युद्धमा प्रिगोजिनको सफलतामा निर्भर बनेको बताए। तर अहिले क्रेमलिनले राजनीतिक प्रभावका लागि सबै प्रतिस्पर्धालाई उन्मुलन गर्न चाहेको जस्तो देखिन्छ।

 सन् १९९० को प्रारम्भमा येभेग्नी प्रिगोजिनले भ्लादिमिर पुटिनलाई भेटे। हामीलाई उनीहरूको पहिलो भेटको वास्तविक परिस्थिति थाहा छैन। येभ्गेनी भर्खरै जेलबाट रिहा भएको र पुटिनचाँही सोभियतकालीन गुप्तचर सेवा केजीबीको पूर्वी जर्मनीस्थित मिसनबाट फर्किएको र राजनीतिमा आफ्नो भविष्य खोजीरहेको बेला उनीहरूबिच भेटघाट भएको ठानिन्छ। सन् १९९० को दशकको रुसको कठिन राजनीतिक वास्तविकतामाझ त्यस्तो भएको थियो। सन् १९९१ मा सोभियत सङ्घ अस्तव्यस्त ढङ्गले विघटन भएको थियो र पहिलो पटक भूमिगत आपराधिक गिरोहहरूको हातमाथि परेको थियो र उनीहरूले उल्लेख्य शक्तिको अभ्यास गरेका थिए।

ऐतिहासिक रूपमा नै सोभियत सङ्घका सुरक्षा निकायहरूले अपराधीहरूसँग सम्बन्ध कायम गर्न र उनीहरूलाई सुराकीको रूपमा भर्ती गरेर कैयौँ कामहरू गर्न लगाउँथे। अपराधीहरू पनि त्यस्तो साठगाँठबाट फाइदा लिनका लागि इच्छुक थिए। येभ्गेनी प्रिगोजिन र भ्लादिमिर पुटिन दुवै रुसको दोस्रो ठूलो शहर र सांस्कृतिक राजधानी सेन्ट पिटर्सबर्गबाट आएका हुन्। हर्मिटेज आर्ट म्युजिअम र इम्पेरिअल विन्टर प्यालेस उक्त शहरमा छन्।

सो शहरलाई ‘रुसको आपराधिक राजधानी’ पनि मान्ने गरिन्छ र त्यहाँ कैयौँ शक्तिशाली आपराधिक समूहदेखि साना तीना चोरी गर्नेहरू समेत बस्ने गर्छन्। येभ्गेनी प्रिगोजिन अपवाद भने थिएनन्। सन् १९७० को दशकमा उनलाई चोरीको आरोपमा दोषी ठहर गरिएको थियो र अर्को अपराध गरेको खण्डमा जेल सजाय सुनाउने गरी निर्णय भएको थियो। सन् १९८१ मा डकैतीको आरोपमा पुन: दोषी ठहर भएपछि उनलाई १३ वर्षको लागि जेल सजाय सुनाइएको थियो। उक्त क्रूर अपराधको विवरण यसरी उल्लेख गरिएको छ: उनी र उनका दुई जना साथीहरूले एक जना महिलालाई चोकमा आक्रमण गरेका थिए।

तिनीहरूले उनको घाँटी अँठ्याउँदै उनलाई धारिलो हतियार प्रहार गर्ने प्रयास गरेका थिए। त्यसपछि ती महिलाको जाडोमा लगाउने बुटहरू र कानमा लगाउने गहनाहरू लिएर उनीहरू भागेका थिए। जेलमा प्रवेश गर्दा भन्दा बिल्कुलै फरक व्यक्तिका रूपमा सन् १९९० मा जेलबाट रिहा हुँदा वाग्नर समूहका भविष्यका प्रमुखले आफूलाई उभ्याएका थिए। सोभियत प्रमुख लिओनिड ब्रेजनेभको सट्टा सुधारवादी नेता मिखाइल गोर्बाचोफ शक्तिमा थिए र सोभियत कम्युनिस्ट पार्टी भित्रको पेरेसट्रोइका नामक अभियान जारी थियो। बर्लिनको पर्खाल ढलेको थियो।

सन् १९९० को मध्यमा येभ्गेनी प्रिगोजिनले सेन्ट पिटर्सवर्गमा एउटा रेस्टुराँ खोलेका थिए जसको नाम “द ओल्ड कस्टम हाउस’ रहेको थियो। त्यसमा निरन्तर रूपमा आपराधिक समूहका नेताहरू र सेन्ट पिटर्सवर्गका मेयर एनाटोली सोबचक निरन्तर भ्रमण गर्ने गर्थे। त्यसबेला ४० वर्षका भ्लादिमिर पुटिन सोबचकको सहयोगीका रूपमा काम गर्थे। येभ्गेनी प्रिगोजिनका लागि त्यसपछिको यात्रा पनि सजिलो थिएन। उनले सेन्ट पिटर्सवर्गमा रेस्टुराँहरूको एउटा लहर खोले जसका ग्राहकहरूमा नेताहरूसहित स्थानीयबासी र विदेशी थिए।

सन् २००२ को एउटा फोटोमा उनले भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जर्ज बुसलाई रात्रिभोजमा खानेकुरा पस्किरहेको जस्तो देख्न सकिन्छ। त्यही बेलादेखि ‘पुटिनको सेफ’ उपनाम उनले पाएको विश्वास गरिन्छ। केजीबीको पृष्ठभूमि र शङ्कालु मनोवृत्ति भएका पुटिनजस्ता व्यक्तिलाई आफ्नो खानेकुरा खान योग्य र सुरक्षित भएको सुनिश्चित गर्ने व्यक्तिगत सेफ आवश्यक पर्थ्यो। सन् २००० को प्रारम्भमा भ्लादिमिर पुटिन क्रेम्लिन प्रवेश गरेका थिए र रुसका सुरक्षा निकायहरूले विस्तारै परिस्थितिलाई नियन्त्रणमा लिएका थिए। सन् २००० को मध्यबाट येभ्गेनी प्रिगोजीनले क्रेमलिनका विभिन कामहरू गर्न थाले। विशेष गरी सरकारी सुरक्षा निकायको पहुँचभन्दा बाहिरका काम। उनले सञ्चार साम्राज्य खडा गरे जुन रुसभित्र र बाहिर मिथ्या सूचना फैलाउन केन्द्रित थियो।उनको ‘सञ्चार मशिन’ हरूले आविस्कार गरेका ती कथाहरू यति गज्जब थिए कि कुनै पनि सरकारी प्रचारका साधनहरूले त्यसलाई फैलाउन सक्दैन थिए।

सामाजिक सञ्जाल विकास भइरहँदा र त्यसले प्रभाव विस्तार गरिरहँदा प्रिगोजिनले आफ्नो ‘ट्रोल उद्योग’ नै खडा गरे। कतिपय विश्लेषकहरूले यी उद्योगहरूको मूल शक्ति भनेको रुसीहरूमाझ वास्तविकता भन्ने चिज नरहेको र त्यसको खोजी गर्नु आवश्यक नरहेको भन्ने स्थापित गर्नु हो।

सन् २०१३-२०१४ को युक्रेनी ‘मैदान रिभोलुशन्’ र क्राइमियालाई रुसमा विलय गराइएपछि, वाग्नर निजी सैनिक कम्पनीबारेका प्रारम्भिक विवरणहरू सार्वजनिक भएका थिए। वाग्नर समूहले क्राइमिया र पूर्वी युक्रेनका रुस समर्थक समूहहरूलाई समर्थन गरेको थियो।

त्यो समयमा क्रेमलिनले युक्रेनमाथि पूर्णस्तरको अतिक्रमण गर्ने आँट गरेन बरू सिरियामा सैनिक कारबाही सुरु गर्‍यो।

कतिपय विश्लेषकहरूले सिरियामा रुसको संलग्नताको उद्देश्य डोनबास क्षेत्रको युद्धबाट अन्यत्रै ध्यान मोड्नु भएको विश्वास गरेका छन्। त्यही बेला हामीले पहिलो पटक प्रिगोजिनका नजिकका साझेदार दिमित्री उत्किनको नाम सुनेका हौँ। उनी वाग्नर समूहका कमाण्डर बने। उग्र दक्षिणपन्थी विचारधारा र क्रुरता अनि निर्दयी व्यवहारका कारण उनी परिचित छन्।

पुटिनको प्रभुत्वका लागि येभ्गेनी प्रिगोजीन स्वंय र उनका वाग्नर मर्सिनरीहरू दिन प्रतिदिन महत्त्वपूर्ण बनिरहँदा रुसी सरकारले सन् २०२२ को बसन्तयाममा आएर मात्रै रुसी राज्यको प्रिगोजिनसँग कुनै सम्बन्ध नरहेको बताएको थियो।

रुसको कानुनले भाडाका सैनिकहरू राख्न प्रतिबन्ध लगाएको छ। क्रेमलिनका आधिकारिक प्रवक्ता दिमित्री पेस्कोभले बारम्बर वाग्नरका कारबाहीबारे कुनै पनि जानकारी रहेको अस्वीकार गर्ने गरेका थिए। तर ‘एक जना निश्चित निजी व्यापारी’ संलग्न रहेको हुनसक्ने क्रेमलिनले थाहा पाएको उनको भनाई हुन्थ्यो।

तर त्यही बेला युक्रेन र सिरिया अनि कतिपय अफ्रिकी देशका सैनिक कारबाहीहरूमा वाग्नर गुप्त रूपमा संलग्न रहेको र रुसको सबैभन्दा उपल्लो निकायको सहमति र अनुमोदनबिना त्यो सम्भव नहुने सबैलाई थाहा थियो।

सन् २०२२ को गर्मियाममा रुसी सञ्चारमाध्यममा आएका विवरणमा सेन्ट पिटर्सवर्गका व्यापारीको सशस्त्र समूहले युक्रेनमा लडाईँ गरिरहेका जनाइएको थियो।

त्यसको केही हप्ता पछि नै येभ्गेनी प्रिगोजिन रुसी जेलहरूको भ्रमणमा निस्किएका थिए र उनले बन्दीहरूलाई युद्धका निम्ति भर्ना गरेका थिए। सन् २०२२ को शरदसम्म आइपुग्दा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले प्रिगोजिनलाई ‘जे भइरहेको छ त्यो देख्दा हृदयमा पीडा हुने’ र ‘ठूलो योगदान पुर्‍याइरहेका’ एक व्यक्तिका रुपमा उल्लेख गरेका थिए।

सन् २०२२ को नोभेम्बरसम्म आइपुग्दा येभ्गेनी प्रिगोजिनले सेन्ट पिटर्सवर्गमा ‘वाग्नर सेन्टर’ स्थापना गरेका थिए। त्यसबेलासम्म उनले रुसी सेना र रक्षा मन्त्रालयको खुलेरै आलोचना गर्न थालिसकेका थिए। अधिकांश दक्षिण र कतिपय पूर्वी युक्रेनका स्थानहरूबाट रुसी फौजहरू पछि हट्दा रक्षा मन्त्रालयमाथिको प्रिगोजिनको आलोचना उत्कर्षमा पुगेको थियो।

विद्रोह र दण्ड
सेनाको कमान्डले बारम्बर लडाइँमा भाडाका सैनिकहरूले पुर्‍याएका योगदानलाई मान्यता दिन अस्वीकार गरेको उनको भनाई थियो। पछि पूर्वी युक्रेनमा लडाइँ चलिरहँदा उनले रुसी रक्षा मन्त्री सर्गेइ सोइगु र चिफ अफ द जेनेरल स्टाफ भ्यालेरी गेरासीमोभले आफ्नो समूहका सदस्यहरूलाई ‘गोलीगठ्ठा’ विहिन बनाएको आरोप सार्वजनिक रुपमा नै लगाएका थिए। क्रेमलिनले चर्किरहेको द्वन्द्वका बारेमा सार्वजनिक रुपमा प्रतिक्रिया जनाउने गरेको थिएन्।

यसै वर्षको जुनको प्रारम्भमा रक्षा मन्त्रालयले भाडाका सैनिक राख्ने सबै निजी सैनिक समूहहरूलाई राज्यको छातामुनी आउन र देशको सेनासँग करारमा हस्ताक्षर गर्न आदेश दिएको थियो। प्रिगोजिनले त्यसलाई सिधै अस्विकार गरेका थिए। जुन २३ को सबेरै प्रिगोजिनले रुसी सेनाले वाग्नरका अखडाहरूमा हमला गरेको आरोप लगाउँदै मस्कोसम्म पुग्नका लागि ‘न्यायको र्‍याली’ घोषणा गरेपछि उक्त तनाव उत्कर्षमा पुग्यो। प्रिगोजिनले भनेजस्तै वाग्नरका अखडाहरूमा हमला भएका प्रमाणहरू उपलब्ध भएका छैनन्।

बीबीसी र अन्य सञ्चारमाध्यमहरूले कुरा गरेका स्रोतहरूले त्यसलाई प्रिगोजिनको छटपटी र रुसी सेनासँगको द्वन्द्वबारे राष्ट्रपति पुटिनको ध्यानाकर्षण गर्ने प्रयासका रुपमा उल्लेख गरेका छन्। वाग्नरका भाडाका सपाहीहरूले दुईवटा रुसी सैनिक हेलिकोप्टर र एउटा विमानमाथि आक्रमण गरे र १५ जना जति रुसी सैनिकहरूको हत्या गरिदिए। प्रिगोजिनले यस्ता उग्र कदमहरू चाल्न थालेपछि रुसी सुरक्षा निकाय एफएसबीले उनीमाथि फौजदारी मुद्दा अघि बढाउने निर्णय लिएको थियो। राष्ट्रपति पुटिनले उनलाई गद्दार (नाम उल्लेख नगरिकन) का रुपमा व्याख्या गरेका थिए र देशलाई पछाडिबाट चक्कु प्रहार गरेको भन्दै विद्रोह गर्ने सबैलाई कारबाही गर्ने बताएका थिए।

येभ्गेनी प्रिगोजीनले जुन २४ को साँझ अकस्मात भाडाका सैनिकहरूको ‘मार्च’ रोकिदिएपछि उक्त परिस्थिति अकस्मात समाधान भएको थियो। जुन २९ मा राष्ट्रपति पुटिनले प्रिगोजिन र अन्य वाग्नर कमाण्डरहरूलाई भेटेका थिए। त्यसपछि उनले आफूले भाडाका सैनिकहरूलाई एक जना रुसी सैनिक कमान्डरको मातहतमा सेवा गर्न विश्वस्त तुल्याएको बताएका थिए। प्रिगोजिनले आफूले रुसी रक्षामन्त्रालय माताहत सेवा गर्न स्वीकार गरेको कुरा खण्डन गर्ने गरेका थिए। विद्रोहपछि भ्लादिमिर पुटिनले अनपेक्षाकृत ढङ्गले वाग्नरलाई सधैँ रुसी सत्ताले प्रायोजित गरेको खुलासा गरेका थिए। तर विगतमा वर्षौँसम्म क्रेम्लिनले ती भाडाका सैनिकहरूसँग कुनै पनि सम्बन्ध नरहेको बताएको थियो।

जुलाईको अन्त्यमा येभ्गेनी प्रिगोजीन सेन्ट पिटर्सवर्गमा भएको रुस अफ्रिका शिखर सम्मेलनमा देखिएका थिए। कैयौँ पर्यवेक्षकहरूले कैयौँ अफ्रिकी देशहरूमा वाग्नरको आवद्धताको इतिहासका कारण उक्त महादेशमा प्रिगोजीनका गतविधि पनि सम्मेलनको सम्भावित मुद्दा बन्नसक्ने ठानेका थिए। प्रिगोजिनको उतारचढाव पूर्ण कथा रुसी इतिहासको अरू त्यस्तै उदाहरणसँग मेल खान्छ। विभिन्न समयमा क्रेमलिनको सबैभन्दा क्रूर नीतिका कार्यान्वयनकर्ताहरू पछि दण्डित भएका र समाप्त पारिएका थिए।

बीबीसीबाट साभार