जनयुद्ध र नेपाली समाजकाे रूपान्तरणमा सीता दाहालकाे याेगदान
नेपाली महिला आन्दोलनको इतिहासमा दसवर्षे जनयुद्धको मूल्यवत्ता अतुल्य छ। जनयुद्धमा हजारौँको सङ्ख्यामा महिला सहभागिता र उनीहरूले गरेका सङ्घर्ष/मोर्चाबन्दी युद्ध तथा सामाजिक परिवर्तनमा सीताले निर्वाह गरेको भूमिकाले सो कुरा पुष्टि गर्छ। तिनै लाखौँ महिलामध्ये अग्रणी नेतृ हुन् – सीता। महिलाले ‘ब्याटलमा’ मोर्चा कसेर युद्ध गरेका छन् – जनयुद्धमा। हजारौँ महिलाले सहादत प्राप्त गरेका छन्। त्यस्तै हजारौँले जेलनेल, यातना भोगेका छन्।
आज पनि जीवित महिलाका शरीरमा गोली, गोलीका छर्रा छन् या गोलीका दाग छन्। पुरुषले भन्दा कम शौर्य–साहस–वीरताको प्रदर्शन गरेनन् महिलाले। बरु कतिपय ठाउँमा पुरुषले भन्दा बढी साहस प्रदर्शन गरे र जिते। कालीकोटमा निःशस्त्र महिलाले पुलिसको जत्थासित भिड्दै तिनलाई अक्करमा पारेर हतियार खोसी पार्टीलाई बुझाए। कैलालीको पाण्डौनमा भएको खिमडी मोर्चामा महिलाले सेनालाई सशक्त प्रहार गरेर हराएको घटनाको निकट–साक्षी म पनि छु। त्यसै सैन्य शिविरको अभ्यास/तालिम खेलमा ‘टार्गेट बुल’ को केन्द्रमै गोली दाग्ने महिला मात्रै थिइन्।
महिला जागरण र चेतनाका क्षेत्रमा त अभूतपूर्व परिवर्तन नै ल्यायो –जनयुद्धले। जनयुद्ध नभएको भए सम्भवतः आज जुन अधिकार महिलाले प्राप्त गरेका छन्, जुन नीतिगत तहमा महिलाको उपस्थिति छ, कर्मचारी, सेना, प्रहरीमा महिलाले जुन उच्च ओहदा पाएका छन्, त्यो कदापि सम्भव थिएन। त्यति मात्र हैन, गणतन्त्र प्राप्तिपछि देशको सर्वोच्च निकायका अधिकांश पदमा महिला स्थापित हुन पुगे वा भएर गए। राष्ट्रपति, सभामुख, प्रधान न्यायाधीश, अतिरिक्त प्रहरी महानिरीक्षक, न्यायाधीश, मन्त्री, पालिकाका मेयर/अध्यक्ष आदि सबै क्षेत्रमा महिलाको पहुँच पुगेको छ। प्रमुख प्रशासक पनि महिला भएका छन्। प्रमुख सचिवको प्रतिस्पर्धामा समेत महिला पुगेका छन्।
देशका सात सय त्रिपन्न पालिकामा एउटा महिला प्रतिनिधित्व अनिवार्य भएको छ। उपसभामुख र उपप्रमुखहरूमा त महिलाको प्रशस्त सहभागिता छ। महिलाले मात्रै चुनावी बुथ सञ्चालन गर्नेदेखि कैयौँ संस्थाको नेतृत्व नै निर्वाह गरेका घटना हजारौँ छन्। यो जागरण, सशक्तीकरण, चेतना विस्तार, उदात्त चारित्रिक स्तर विकास, प्रखर वक्ता एवं राजनीतिज्ञसमेतको निर्माण जनयुद्धकै देन मान्नु पर्छ। (सरकारका प्रवक्तामा पनि महिला नै छन्)। एउटा तथ्याङ्कको पुस्तक हालै प्रकाशनमा आएको छ र त्यसमा विभिन्न तथ्यमध्ये एक महिला सशक्तीकरणको तथ्याङ्कमा ०४६ देखि ०६३ सम्म र ०६३ देखि ०७४ सम्मको तुलना गर्दा अघिल्लो आधा अवधिमा भन्दा पछिल्लो आधा अवधिमा महìवपूर्ण स्थानमा महिला उपस्थिति बढी छ। जुन अपेक्षा गरेभन्दा धेरै माथि रहेको देखिन्छ।
सायदै महिलाले यति चाँडो यति धेरै विकास, उच्च पद र नीति निर्धारण तहमा पुग्ने आकलन कसैले गरेको थियो होला ? स्वयम् महिला आफैँले पनि त्यो आकलन गरेका थिएनन् कि ? यतिखेर संविधानले ३३ प्रतिशत महिलाको हरेक क्षेत्रमा अनिवार्य उपस्थिति निर्धारण गरेको छ। अझ अगाडि बढ्दै ५० प्रतिशतसम्म माग बढेको छ। नेपालको जनगणनामा ५१ प्रतिशत महिला देखाइएको छ भने ‘आधा आकाश आधा धरती ढाकेका’ महिलालाई ५० प्रतिशत सहभागितामा पु-याउनुपर्ने माग नाजायज हुन । त्यति गरेपछि मात्र जनयुद्धका महिलाको सङ्कल्प पूरा हुन सक्छ।
चुलोचौको गर्ने र डाडुपन्यु चलाउने (डाडुपन्यु चलाउनेले बन्दुक चलाउने ?) आदि आदि बन्धित र नियोजित समाजबाट जनयुद्धले वर्तमानको जागरणसम्म महिलालाई ल्याइपु-याएको छ। यो चानचुने उपलब्धि होइन। यसका पछाडि पनि सीताको भूमिका अवश्य छ। सन् १९४७ मा गणतन्त्र र स्वतन्त्रता प्राप्त गरेको भारतकै दाँजोमा पनि नेपाली महिला माथि छन्। भारतमा आज पनि महिलालाई दासी र यौनिक साधनका रूपमा व्यवहार गरिँदै छ। घुम्टो प्रथा, दहेज प्रथा, साटो हाल्ने प्रथा, परपुरुष हेर्नै नहुने परम्परा अद्यापि विद्यमान छ।
महिलालाई एक्लै घुमफिर, चलखेलको अधिकार छैन। सम्पत्तिमा हक वा आर्थिक स्वतन्त्रता पनि खासै छैन। दाइजोले बिहे गर्छ, व्यक्तिले हैन। यस्ता धेरै नै रूढिवादी परम्परामा जकडिएका छन् त्यहाँका महिला; जसको प्रभाव नेपालको मधेश क्षेत्रमा पनि परेको देखिन्छ। गहनै गहनामा जेलेर–बाँधेर, साजसिँगारले जकडेर, सौन्दर्याभिमुखी बनाएर, विज्ञापनीय साधन र अङ्ग प्रदर्शनका औजार बनाएर, अर्धनग्नताका ‘बटरफ्लाई’, गुलाफका फूल र लज्जावती झारका रूपमा दाँजेर महिलालाई गरिने शोषणविरुद्ध नेपालमा जनयुद्धले ठुलै जेहाद छेड्यो। जसको परिणाम आज महिला निरन्तर उकालो चढ्दै छन्।
समानुपातिक, समावेशी पद्धतिले त हरेक क्षेत्रमा महिलालाई पु-याउन सुरु गरेको छ। कर्मचारी, सेना, प्रहरी, प्रतिष्ठान, अदालत, सामाजिक संस्थामा महिलाको बाक्लो उपस्थिति त्यसैको परिणाम हो। यो पनि जनयुद्धकै देन हो। आज समाजमा महिलाको आत्मसम्मान, स्वाभिमान, आर्थिक अधिकार वृद्धि हुँदै गएको छ। यो सशक्तीकरण प्रक्रियामा सीताको भूमिका प्रत्यक्ष वा परोक्ष रही नै रहेको छ। नेकपा (माओवादी केन्द्र) को एकाइ, जिल्ला, क्षेत्र, केन्द्र हुँदै केन्द्रीय सल्लाहकारको भूमिकामा पुगेर अध्यक्ष प्रचण्डकी कुशल सुझावदाता, विमर्श र सल्लाह दिने पात्र थिइन् सीता। उनले प्रचण्डलाई राजनीति, कूटनीति, सुरक्षा, खानपान, लवाइ–खवाइ, सङ्गठन र पार्टी लाइन, क्रान्ति र द्वन्द्वमा झेँक्रोको भूमिका पूरा गरिन् न कि लहराको। सबलाको भूमिका खेलिन् न कि अबलाको। दृढताको भूमिका खेलिन् न कि कोमलाङ्गीको।
त्यस्तै सिङ्गो परिवारलाई आन्दोलन, सङ्घर्ष, क्रान्तिमा सहभागी गराइन् न कि विश्वविद्यालयतिर। उनले छोराछोरीलाई आत्मसुरक्षावादको कायर मानसिकतामा ज्यान जोगाउने बाटोतिर लगाइनन्। आफू र प्रचण्ड मात्र हैन, प्रकाश, रेणुहरू पनि प्रत्यक्ष युद्धभेलमै समाहित भए। भूमिगत भएर गाउँ, जङ्गल हिँडे। जीवन र मृत्युको खेल खेले। आज पनि उनको समग्र परिवार राजनीतिमै छ। छोरी रेणुले त जनयुद्धको आदर्श अनुरूप सहिदका सपना पूरा गर्ने प्रयत्नमा मेयरका रूपमा अरू ७५२ पालिकाका मेयरभन्दा उच्च र सफल रूपमा जनताको सेवा गरिरहेकी छन्। त्यो पनि निर्विवाद, निष्पक्ष, निष्छल, निष्कलङ्क रूपमा। यसका पछाडि पनि सीताको मातृत्वको प्रभाव छ। आमाबाट उनले देश, जनता, समाज र देशको न्याायपूर्ण सेवाको शिक्षा पाएर नै त्यसो गर्न सकिन्।
सीताले प्रचण्डलाई साङ्गठनिक, कूटनीतिक, राजनीतिक कामका साथै क्रान्तिकारी चतु¥याइँमा पनि दिएको सल्लाहको ठुलो योगदान छ। पार्टीभित्र सन्तुलन, समन्वय, मूल्याङ्कन गर्नमा पनि सीताको भरपूर सहयोग छ। सीता जस्ती नारी जीवनसाथी नभएको भए प्रचण्डले यो राजनीतिक यात्रामा कति सफलता पाउनुहुन्थ्यो होला ?
यसको अर्थ मैले चाटुकारी, प्रशंसा, स्तुति गर्न भने खोजेको हैन। वस्तुतः उनी एक सङ्घर्षशील नारी योद्धा नै हो। नेपाली नारीले उनको जीवन यात्राका आरोह–अवरोहबाट सिक्न सक्ने प्रशस्त कुरा छन्।
सीताको जीवन शैली सरल र सादगीपूर्ण नै बित्यो। भोग–विलास, ऐस आराम, वैभव ऐश्वर्यप्रतिभन्दा देश र जनताप्रति नै समर्पित रह्यो। उनी कहिलै सुन चाँदीका गरगहना, विलासी प्रसाधन, अस्वाभाविक साजसज्जाले धमिलिएर मैलो देखिइनन्। सादा परिधान, सरल बोली, मिलनसार स्वभाव, मिजासिलो व्यवहार, गम्भीरता, सहजता नै उनका गहना भएको भन्ने म ठान्छु। ठुलाठुला सम्भ्रान्त वर्गका भोज, बिहे, उत्सवका निम्तामा जाँदा पनि उनी सादा पहिरनमै हुन्थिन्। फेसनेबल, झकिझकाउ भएर हिँडेको कहिल्यै देखिएन। न त उनी ब्युटिपार्लर नै गइन्। जीवन शैली सधैँ सादा हुनु र सरल हुनु एउटा राम्रो गुणधर्म हो। सादा जीवनमा गहन र उदात्त विचार बोकेर नै मानिस महान् बन्छ।
‘क्षीयन्ते खलुः भूषणानि सततम् वाक् भूषणम् भूषणमू्’ (अरू सबै खाले भूषण (गहना) क्षय (नष्ट) भएर जान्छन् तर वाक्–भूषण (वाणी, ज्ञान, चेतनाको आभूषण) आभूषणको पनि आभूषण भएर रहिरहन्छन्। उनले त्यसैको अनुकरण गरिन्। उनलाई गहनाको प्रदर्शन पनि चाहिएन र सुनको मोह पनि थिएन। न सिँगारपटार नै प्रिय भयो, यही सादगी हो। शरीरभरि गहना गुरियाका जन्जिरले बेरिएर आफ्नो अभिजात्यताको, सम्भ्रान्तताको, धनाढ्यताको प्रदर्शन र महँगा प्रशाधनले ‘डेन्टिङ पेन्टिङ’ गर्नेहरूभन्दा सीतामा धेरै गुरुत्व थियो र गरिमा पनि। उनी बाहिरी हैन, भित्री सज्जालाई मन पराउँथिन्। विचार, चेतना, ज्ञान, योग्यता, सामथ्र्य, सिप, कौशल, स्वाभिमान, नेतृत्व, सेवा र समर्पण भाव, कुशलता र दृढता, सच्चरित्र र आत्मसम्मान नारीका भित्री गहना हुन्। जसले उनका चरित्र र गतिविधिलाई उदात्त सौन्दर्य र भव्यता प्रदान गर्छन्।
सीता भित्री सौन्दर्यकी प्रेमी थिइन्, त्यसैले त सुन्दरी प्रतियोगिताको नक्कली सौन्दर्यकी विरोधी थिइन्। गहनाका जन्जिरले बाँधिएका ‘नारी–पशु’ प्रति उनी घृणा गर्थिन्। यसको अर्थ उनी सर्वगुणसम्पन्न, गुणैगुणले भरपूर, समुच्च–आदर्श पात्र थिइन् भन्न खोजेको हैन। उनमा पनि प्रशस्त दुर्गुण थिए होलान्। तापनि गुण पक्ष नै उनको मूल मूल्य थियो भन्नै पर्छ।
सीता नेपाली नारी जगतकी एक उदाहरणीय नारी योद्धा हुन्, सङ्घर्षशील नारी योद्धा। उनीबाट सिक्ने यही हो। हरेक आरोह–अवरोह, सुख–दुःखमा समान रहन, हार र जितमा अधीर नहुन, पद र पैसामा नमात्तिन सीताले हामीलाई सिकाएर गएकी छन्। जेनी माक्र्स, क्लारा जेट्किन जस्ता विश्वविख्यात नारीहरूले झैँ औपचारिक अध्ययन र उच्च शिक्षा लिएकी नभए पनि सीता जीवनका भोगाइ, सङ्घर्षका यात्रा, जनयुद्धको विश्वविद्यालय र सामाजिक आन्दोलनका शिक्षाबाट उनी समृद्ध थिइन् भन्न हिचकिचाउनु पर्दैन।
सङ्घर्षमय क्रान्तिकारी जीवन र व्यवहारमा उनले पनि जेनी र क्लाराहरूको जीवनलाई आत्मसात् गरेकी थिइन्। यही असार २७ गते बिहान ८ बजेर ३३ मिनेटमा जटिल एवं दुस्साध्य रोगका कारण उनको असमयमै निधन भयो। ६९ वर्षमै भएको उनको मृत्युले महिला आन्दोलनलाई अपूरणीय क्षति पुगेको छ। सिङ्गो जीवन परिवर्तनको आन्दोलनमा समर्पित गरेकी सङ्घर्षशील महिलाका रूपमा उनलाई इतिहासले सम्झिरहने छ। अलबिदा सीता कमरेड! हार्दिक शब्द–श्रद्धाञ्जली !! – गाेरखापत्रबाट साभार
(लेखक वरिष्ठ सांस्कृतिककर्मी हुनुहुन्छ।