प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जिवनसंगिनी सीता दाहालको निधन
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जिवनसंगिनी सीता दाहालको निधन भएको छ । नेकपा माओवादी केन्द्की केन्द्रयि सल्लाहाकार समेत रहेकी उहाँको आज बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा। डा। युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिनुभएको छ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयघात भएको थियो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
विहान स्वासथ्यमा गम्भीर समस्या देखिएपछि प्रधानमन्त्री निवास बालुवाटारबाट उपचारको लागि सितालाई नभीृक अस्पतालको इमर्जेन्सी वार्डमा पुर्याइएको थियो । पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुग्नुभएको थियो । अन्य विशिष्ट व्यक्तित्वहरु र पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् ।
नेकपा माओवादी केन्द्रले सल्लाहकार सीता दाहालको निधनबाट पार्टीमा अपूरणीय क्षति पुगेको जनाएको छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले आज शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको छ । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनु भएको छ ।’
वक्तव्यमा थप लेखिएको छ, ‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेृतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित सम्पूर्ण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ ।’
सबैकी आदरणीय आमा सिता
वि।सं। २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग बिहे भएको थियो ।
माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार सीता वि।सं। २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।
पार्टी कामको सिलसिलामा पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता जनयुद्ध सुरु भएपछि प्रचण्डसँगै २०५२ सालदेखि भूमिगत भएकी थिइन् । पार्टीभित्रका संकट र विवाद समाधानमा उनले समन्वयकारी भूमिका निर्वाह समेत गरेकी थिइन् ।
पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति : माओवादी केन्द्र