वर्षादकाे वितण्डा : पहिरोको जोखिममा ३२ जिल्ला, उच्च जोखिममा २२ जिल्ला, ३४ ले गुमाए ज्यान
वर्षाद शुरू भएको एक महिनामै विपद्का घटनाबाट ३४ जनाले ज्यान गुमाएका छन् । ५४ घर पूर्ण र २० घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्, सयौं पशु मरेका छन् । विभिन्न राजमार्गका ९ वटा पुलसहित ६६ स्थानमा सडक क्षति हुँदा ४० करोडको नोक्सान भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीले ताप्लेजुङ र पाँचथरमा ११/११ गरेर २२ वटा झोलुंगे पुल बगाउँदा १२ करोड १० लाख ८८ हजार क्षति भएको गृह मन्त्रालयको तथ्यांक छ ।
प्राधिकरणका अनुसार मनसुनका कारण हुने पहिरोको जोखिममा ३२ जिल्ला छन्, उच्च जोखिममा २२ जिल्ला छन् । यस्तै, बाढीको उच्च जोखिममा रहेका जिल्ला २३ वटा छन् । १० वर्षमा भएको क्षति, जनघनत्व, भौगोलिक अवस्थिति र भौतिक संरचनाका आधारमा जोखिम स्थिति मूल्यांकन गरिएको प्राधिकरणले जनाएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, बुटवल, हेटौंडा, चितवन, तुलसीपुर, घोराही एवं वीरेन्द्रनगरको सहरी क्षेत्रलाई बाढीको दृष्टिबाट उच्च प्रकोपयुक्त क्षेत्र मानिन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार घना बस्ती भएको क्षेत्रमा एक घण्टासम्म १० मिलिमिटर वर्षा हुँदा पनि बाढी र धनजन क्षतिको जोखिम बढी हुन्छ ।
विज्ञहरूका अनुसार मनसुन सुरु भएको ४ देखि ६ सातासम्म पहिरोको घटना वृद्धि हुने र धेरैको ज्यान जाने गरेको बताउँछन् । कमजोर र भिरालो जमिन भएको क्षेत्रमा जथाभावी सडक निर्माण, अवैज्ञानिक भूउपयोग, प्राकृतिक स्रोतको अनियन्त्रित दोहनलगायत कारणले पहिरोको जोखिम बढाएको उनीहरूको भनाइ छ । प्राध्यापक एवं हाइड्रो–मिटियोरोलोजिस्ट तीर्थराज अधिकारीले पहाडी क्षेत्रमा डोजरबाट जथाभावी खोस्रिँदा पहिरोको जोखिम बढेको बताए । उनका अनुसार डोजरले कोतारिएको ठाउँमा पानी रसाएपछि माटो खस्छ, त्यसले नदीलाई थुन्न सक्छ अनि बाढी आउन सक्छ । ‘धेरै दिनमा पर्ने पानी अचेल केही घण्टामा नै पर्न थालेको छ, यसबाट धेरै क्षति हुन्छ,’ उनले भने, ‘कुनै ठाउँमा छोटो समयमा धेरै पानी पर्दा विपद्का घटना बढ्छन् । त्यस्तो बेला प्रतिकार्यका तयारी गर्न पनि समय लाग्छ ।’ सानो क्षेत्रफलमा धेरै पानी पर्दा अन्य क्षेत्रमा खडेरीको जोखिम हुने अधिकारीले बताए । यस वर्ष मनसुन सुरु भएयता भारी वर्षाका घटना (बढी वर्षाका कारण ढुंगा–माटोको घर भत्कनेजस्ता) ३८ वटा भएका छन् ।- कान्तिपुरबाट