गोपाल खड्कालाई १ वर्ष ३ महिना कैद र १८ करोड विगो सजायाँ
नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार अभियागमा १ वर्ष ३ महिना कैद र १८ करोड विगो सजायाँ तोकिएको छ । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा खडकालाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा। खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।
विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैयाँ विगो भराउने आदेश गरेको हो । उनी डिभिजन सडक कार्यालयको प्रमुख हुदा अनियमिततामा मुछिएका थिए । उनी कार्यकारी निर्देशक भएकै बेला नेपाल आयोग निगमको जग्गा अनियमितता प्रकरण भएको थियो ।
विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार, खड्कालाई १ वर्ष ३ महिना कैद सजाय हुने ठहर भएको हो । अनि उनलाई विगो बमोजिम ९ करोड १९ लाख ६ हजार ६३४ रुपैंया ६४ पैसा जरिवाना हुने आदेश समेत भएको छ ।
प्रवक्ता योगीले भने, ‘अख्तियारले खड्काको घर, जग्गा, बैंकमौज्दात र शेयर जफत गर्न मागदाबी लिएको थियो । त्यो सबै जफत गर्ने आदेश भएको छ ।’
खड्काको सम्पत्ति लुकाएको आरोप लागेका शर्मिला खड्का र अंकिता लामाको नाममा ३ कित्ता घरजग्गा रहेकोमा ती समेत विगोको हदसम्म जफत गर्ने आदेश भएको प्रवक्ता योगीले बताए ।