बाहिरियाे नेपाल : समस्या ब्याटिङमा
ब्याटिङ नचलेपछि राष्ट्रिय क्रिकेट टोली एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल भएको छ। जिम्बाब्वेको हरारेमा शनिवार भएको खेलमा नेपाल ७ विकेटले पराजित भयो।
पछिल्ला दुई खेलमा प्रभावकारी ब्याटिङ गरेको नेपाल नेदरल्यान्ड्सको अगाडि भने चल्न सकेन। टोलीले ४४.३ ओभरमा अलआउट हुँदै जम्मा १६७ रनको मध्यम स्कोर बनायो। जसलाई अनुभवी नेदरल्यान्ड्सले ३ विकेटको क्षतिमा २७।१ ओभरमा सहजै पूरा गर्यो।
हारसँगै नेपालको सुपर सिक्स पुग्ने ढोका बन्द भएको छ। चार खेलमध्ये एउटामा मात्रै जितेको नेपालको २ अङ्क छ भने नेदरल्यान्ड्सले ४ अङ्क जोडेर सुपर सिक्स सुनिश्चित गरेको छ।
विश्वकप क्रिकेटको छनोट चरण अन्तर्गत पाँच-पाँचवटा टोली रहेको दुई समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने नियम छ। सुपर सिक्सका शीर्ष दुई टोलीले भारतमा आगामी सेप्टेम्बरमा हुने एक दिवसीय विश्वकप क्रिकेट खेल्नेछन् ।