संसदमा अर्थमन्त्रीकाे स्पष्टीकरण : `निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम पहिलेको सांसद विकास काेषभन्दा धेरै फरक छ´

सन्ताेष पाैडेल
काठमाडौं, २९ जेठ, २०८०

अर्थमन्त्री प्रकाशशरण महतले अहिले बजेटमा व्यवस्था गरिएको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम पहिलेको सांसद विकास काेषभन्दा धेरै फरक रहेकाे दावी गरेका छन् ।

सांसदहरूले बजेटमाथि उठाएका प्रश्नहरूकाे साेमबार संसदकाे बैठकमा जवाफ दिँदै विगतमा जस्तो सांसदले मनलाग्दी खर्च गर्न अहिले नपाउने बताए ।

अर्थमन्त्री महतले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम बजेटले समेट्न छुटेका अत्यावश्यक याेजना निर्माणमा पुँजीगत खर्च गर्नेगरी कार्यविधि निर्माण गरिने बताए । उनले त्यस निर्वाचन क्षेत्रका प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभाका सांसदकाे संयुक्त माग र अनुगमनमा ५ कराेड रकम परिचालन गरिने बताए ।

महतले बजेटका राम्रा पक्षहरू भुलेर अनावश्यक टिप्पणी र विराेध गरिएको भन्दै आफुले अर्थतन्त्रमा देखिएका सबै समस्या र सम्भावनाहरूलाई स्विकार गरेर बजेट ल्याएकाे बताए ।

सांसदहरूले बजेट कनिका छरेजस्ताे गरिएकाले यसले विकास हुन नसक्ने भन्दै प्रधानमन्त्री, पुर्वप्रधानमन्त्री र अर्थमन्त्रीकाे जिल्लामा धेरै बजेट दिएको र अन्यत्र कम दिएको लगायतका विषयमा स्पष्टीकरण मागेका थिए ।