भैंसी वा राँगाे हाेइन पाउडर दूध विस्थापनबारे बहस गराैं :सांसद सापकाेटा
प्रतिनिधिसभा सदस्य तथा माओवादी नेता सुवाेध सापकोटाले प्रधानमन्त्रीकाे भारत भ्रमणपछि संसदमा भैसिकाे चर्चा मात्रै गर्नेहरूलाई कडा काउण्टर दिँदै भैंसी हाेइन दुधमा आत्मनिर्भर हुनेबारे चर्चा गर्न सुझाएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफलमा भाग लिँदै नेकपा माओवादी केन्द्रका सांसद सुवाेध सापकोटाले लामो समय राजनीतिमा रहेका सांसदहरूले नै संसदीय मर्यादाको अवमूल्यन गरेको बताए ।
‘पञ्चायत फटाएको, बहुदल फटाएको र अहिले गणतन्त्रमा समेत अभ्यास गरिराख्नुभएका अग्रजहहरूका कार्यशैली, अभ्यास, अभिव्यक्तिहरू हेर्दा एकातिर छ । हाम्रा नियमावली, अभ्यास, नजीर हेर्दा फेरि अर्को कन्फ्युजन हुनेजस्तो लाग्ने । यता व्यवहार हेर्यो त्यो सही हो कि नियमावली र नजीरहरू ! त्यसलाई जोड्दाखेरि केही कन्फ्युजन पैदा हुने अभ्यास संसद्मा देखेका छौं । हिजोसम्मको घटनाक्रममा आउँदा हाम्रो इज्जत भएको छैन,’ उनले भने ।
संसद्मा कृषि उत्पादनमा कसरी आत्मनिर्भर हुनेभन्दा पनि भारतबाट भैंसी ल्याएको विषयमा बहस भएकोमा सांसद सापकोटाले आपत्ति जनाए । मुलुकलाई दूधमा आत्मनिर्भर कसरी हुने भन्ने विषयमा सांसदहरूले बहसमा केन्द्रित हुनुपर्ने बताए ।