प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै : यस्तो छ तयारी

सन्ताेष पाैडेल
काठमाडौं, १६ जेठ

सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीमा तेस्रोपटक निर्वाचित भएपछि प्रचण्ड पहिलोपटक विदेश भ्रमणकाे रूपमा भारत जान लाग्नुभएको हाे ।

प्रधानमन्त्री प्रचण्ड जेठ २० गते भ्रमण सम्पन्न गरि स्वदेश फिर्ता हुने कार्यक्रम रहेकाे सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियाे । प्रधानमन्त्रीकाे भ्रमण मन्त्रीपरिषद बैठकले स्वीकृत गरिसकेको छ ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी हुँदैछन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेविन्द आचार्यले भ्रमणमा भारतसँगकाे सम्बन्ध सुदृढीकरणका साथै विगतदेखि विभिन्न कारणले राेकिएका सम्झौताहरू समिक्षासहित अगाडि बढाइने सम्भावना रहेकाे बताउनुभयो ।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउन प्रयत्न रहने छ। ब्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग र ऊर्जाका मुद्दामा बढी जोड दिइने उनको भनाइ छ ।

भ्रमणका क्रममा पञ्चेश्वर परियोजना कार्यान्वयन अगाडि बढाउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे एयर रूटबारे सहमति कायम गर्ने, रेलवे विस्तार र अन् लगायतका विषयमा समेत टुंगोमा पुग्न प्रयास गर्ने मन्त्री साउदले जानकारी दिए ।