हज समिति अध्यक्ष मियाँ सिंहदरबारबाट पक्राउ
मुस्लिम समुदायकाे लागि गठित संस्था हज समितिका अध्यक्ष शमशेर मियाँ सिंहदरबार परिसरबाटै पक्राउ परेका छन् । हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको अभियाेगमा प्रहरीको खाेजिमा रहेका मियाँ आज उर्जा मन्त्रालय नजिकबाट पक्राउ परेका हुन् । नक्कली शरणार्थी बनाउने गिरोहले पनि उनको गाडी प्रयोग गर्ने गरेका थिए ।
स्रोतका अनुसार नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका थिए । त्यसको पोल खुलेपछि उनी सम्पर्कविहीन थिए । बिहीबार कार्यवाहक जिम्मेवारी अर्कै व्यक्तिलाई दिने गरी तयारी गरिरहेका बेलामा उनी पक्राउ परेका हुन् ।
गृह मन्त्रालयअन्तर्गत नेपाल हज समितिका अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्री थापाले २०७७ माघ ७ मा नियुक्त गरेका थिए । थापा हटेपछि गृहमन्त्री बनेका खाणले मियाँको कार्यकाल २ वर्ष थपिदिएका थिए । जुन दलको सरकार बन्छ, त्यसैका नेता/कार्यकर्तालाई हज समितिमा नियुक्ति गर्ने अभ्यास थियो ।