नक्कली भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्नअनुमति
जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति दिएको छ । बुधबार अदालतले सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित सबै १४ जनाविरुद्ध अनुसन्धानका लागि ३ दिन म्याद थप भएको जनाएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधवार साँझसम्म बुझाउन प्रहरीलाई निर्देशन दिएको थियो । वैशाख ३१ मा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले सो निर्देशन दिएका थिए । तर, अनुसन्धान बाँकी नै रहेको भन्दै प्रहरीले बुधबार थप तीन दिनको समय लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले जानकारी दिए ।
यो प्रकरणमा रायमाझी, खाणसहितका १४ जना जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका विभिन्न हिरासतमा रहेका छन् । प्रहरीले २०७९ चैत १२ मा केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए । प्रहरीले उनीहरुविरुद्ध सङ्गठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । सङ्गठित अपराधमा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । सुरुमा पक्राउ परेका आरोपीहरू ५४ दिनदेखि हिरासतमा छन् ।
भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउँछु भनेर ठगेको आरोप लागेका नेपाली कांग्रेसका पूर्व सभासद् आङ्टावा शेर्पाले सोमबार आत्मसमर्पण गरेका थिए । प्रहरीले आङ्टावा शेर्पाको बयान सकिसकेको छैन । मंगलबार अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
अनुसन्धान सुरु भएको ५४ औँ दिनमा १४ जनालाई नै प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार अनुसन्धान प्रतिवेदन अन्तिम अवस्थामा पुगेको र राय लेख्न बाँकी छ ।