शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कूटनीतिक समुदायलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालिन न्याय प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्याउने र द्वन्द्वका पीडितहरूलाई न्याय र परिपूर्ति उपलब्ध गराउने बताउनुभयो । विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतका निर्देशनहरू र सान्दर्भिक अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू साथै पीडितका सरोकारले यस प्रयासलाई लक्ष्यतर्फ डोर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उहाँले लोकतान्त्रिक उपलब्धिको सुदृढीकरणसँगै सामाजिक–आर्थिक रूपान्तरणमा केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ । प्रचण्डले भन्नुभयो, “लोकतान्त्रिक संस्थाको सुदृढीकरण र सशक्तीकरण; शान्तिपूर्ण, समृद्ध र समावेशी समाजको निर्माण तथा आर्थिक रूपान्तरण हासिल गर्नु वर्तमान सरकारको मूल जनादेश हो ।” वर्तमान गठबन्धन सरकारको साझा न्यूनतम कार्यव्रmम सोही जनादेश कार्यान्वयन गर्ने विषयतर्फ लक्षित रहेको प्रस्ट्याउनुभयो ।
यसका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सबै प्रकारका भेदभावको अन्त्य गरी न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न पहल गर्न सरकार प्रयासरत रहेको प्रधानमन्त्री प्रचण्डले औँल्याउनुभयो । उहाँका अनुसार सार्वजनिक प्रशासनलाई सक्षम र प्रभावकारी बनाउनुका साथै जनतामा गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नु सरकारको पहिलो प्राथमिकता हो । सरकारका नीति र कार्यक्रम सुशासन, विधिको शासन र सहभागितामूलक लोकतन्त्रप्रतिको दृढ प्रतिबद्धताबाट निर्देशित रहेको दर्साउँदै भन्नुभयो, “भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कायम राख्छौँ र सबै तहमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने लक्ष्य राख्छौँ ।”
गत वर्ष नेपालका लागि राजनीतिक रूपमा महìवपूर्ण वर्ष रहेको बताउँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन समावेशी लोकतान्त्रिक समाजलाई थप सुदृढ गर्न र लोकतान्त्रिक प्रक्रियामा जनताको विश्वास बढाउन कोसेढुङ्गा साबित भएको दाबी गर्नुभयो ।