कमिसन र भ्रष्टाचारको नेक्सस ताेड्न काम गरिरहेका छाैं, सबैकाे साथ चाहियाे : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको नेक्सस नताेडी सुशासन कायम हुन नसक्ने भएकोले त्यस दिशामा सरकारले काम गरिरहेकाे बताउनुभएको छ ।
आइतबार प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारीहरूसँगकाे मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले सरकारकाे याे अभियानमा सबैले साथ दिन आग्रह पनि गर्नुभयाे ।
उहाँले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ ।
संगठनका नेताहरूसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताउनुभयो ।
‘निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी कुनै पनि हालतमा छुट्ने छैनन्,’ श्रेष्ठले भन्नुभयो ।
श्रेष्ठले यो कार्य सामान्य भ्रष्टाचार मात्रै नभएर संगठित अपराध भएको उल्लेख गर्नुभयो । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उहाँको भनाइ छ ।
‘यो भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको संगठित अपराध हो । यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो,’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘यसकै सबै नेक्ससलाई कानुनी कारबाहीको दायरामा ल्याउनेतर्फ हामी अगाडि बढेका छौँ ।’
श्रेष्ठले यो प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख उल्लेख गर्नुहुँदै दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याइने दृढता व्यक्त गर्नुभयो । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट आफूले दह्रो साथ र आडभरोसा पाएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।
‘मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिनुभएको छैन । दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ,’ श्रेष्ठले भन्नुभयो, ‘प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ । दोषीलाई कारबाही गरियोस् निर्दोस नपरुन् भन्ने छ सबैको कुरा ।’
सिंगो देश भ्रष्टाचार र कमिसनले आक्रान्त बनेको उल्लेख गर्नुहुँदै श्रेष्ठले त्यसबाट मुक्त गराइने बताउनुभयो । प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको उहाँको भनाइ छ । ‘राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु,’ श्रेष्ठले भन्नुभयो ।
भेटमा प्रेस सेन्टरका केन्द्रीय नेताहरूले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने दिशामा सरकारले उल्लेखनीय काम गरेको भन्दै प्रेस सेन्टरकाे साथ रहने बताएका थिए । उनीहरूले शरणार्थी प्रकरणमा सरकारले प्रशांसनीय काम गरेको भन्दै बधाइ दिएका थिए। यो अनुसन्धान प्रक्रियामा आफूहरूको पनि समर्थन रहने भन्दै उहाँहरूले कुनै पनि दबाबको अगाडि नझुक्न उपप्रधानमन्त्री श्रेष्ठलाई सुझाव दिए ।
नेपाली समाजमा यो राजनीतिक व्यवस्था तथा राजनीतिक नेतृत्वप्रति नै निराशा पैदा भएको बेला सरकारले भ्रष्टाचारविरुद्ध कदम चालेर ऊर्जा दिएको भन्दै यसलाई निष्कर्षमा पुर्याउन हिचकिचाउन नहुने भनाइ सहभागीकाे थियो ।
मन्त्री श्रेष्ठले मिटरब्याज पीडितकाे समस्या समाधान गर्न उच्चस्तरीय र अधिकारसम्पन्न निर्माण गरेर काम भइरहेकाे, प्रहरीकाे सरूवा वढुवामा हुने गरेको कमिसन र घुसकाे परम्परा पुरै ताेडिएकाे, गृहमन्त्रीले सुराकीको नाममा वितरण हुने गरेकाे रकममा राेक लगाईएकाे आदि महत्त्वपूर्ण र साहसिक निर्णय गरेर कार्यन्वयन गरिसकेका छन् ।