नक्कली शरणार्थी प्रकरणमा काेही दाेषी उम्कँदैन, निर्दाेष पर्दैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा कुनै पनि दाेषी उम्कन वा बच्न नसक्ने र निर्दाेष नपर्ने स्पष्ट पार्नुभएकाे छ ।
प्रतिनिधिसभा बैठकमा सहभागी भएर निस्कँदा आइतबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले साे बताउनुभएको हाे ।
नक्कली भुटानी शरणार्थी प्रकरणबारे सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले जोडतोडका साथ बहस गरेपछि प्रधानमन्त्रीकाे उक्त धारणा आएको हो ।
‘मैले भनेको छु दोषी कोही बच्न सक्दैन, निर्दोष कोही पनि पर्दैन । सरकारको त्यही जोड छ । आज जसरी विषय उठेको छ, त्यसले अझ सरकारको मनोबल बढाउने काम नै गरेको छ भन्ने मैले ठानेको छु । कसैले त्यहाँ दबाब दिएर केही हुनेवाला छैन,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।
प्रतिनिधिसभामा सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका विषयमा राखेका धारणाले सरकारलाई बल पुगेको प्रधानमन्त्रीको भनाइ थियो ।