प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु नपर्ने गठबन्धनको निर्णय
रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने कि नपर्ने विषयमा चर्चा भइरहेको बेला सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, र जनता समाजवादी पार्टीलगायत सत्तारुढ गठबन्धनले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘प्रधानमन्त्रीले अब फेरि विश्वासको मत लिनुपर्ने कानुन छैन, आजको बैठकमा भोलिदेखि चल्ने संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ ।’
अहिलेको बजेट र नीति तथा कार्यक्रममा के कुरालाई प्राथमिकता दिने भनेर प्रधानमन्त्रीले बैठकमा सुझाव माग्नुभएको सचेतक पाण्डेको भनाइ छ । बैठकमा संसदीय समिति, प्रधानन्यायाधीश नियुक्ति, नागरिकता लगायतको विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो । बैठकमा अधिवक्तासँग पनि प्रधानमन्त्रीले सुझाव लिएका थिए ।