दार्चुला हिम पहिरो : १२ जनामध्ये पाँच जना अझै बेपत्ता

रासस
काठमाडौं

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को भोलममा हिम पहिरोमा परेर मङ्गलवार दिउँसो २: ४५ बजेतिर यार्सागुम्बा टिप्न गएका १२ जनामध्ये सात जना सम्पर्कमा आए पनि पाँच जना भने अझै बेपत्ता रहेका छन् ।

सशस्त्र प्रहरी गुल्म छाङ्ग्रुका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक तर्क पाण्डेका अनुसार सो क्षेत्रको उच्च हिमालमा अझै हिउँ र उच्च पहाडमा पानी परिरहेकोले उद्धार गर्न कठिनाइ भएको छ ।

घटनास्थलबाट तीन घण्टा टाढा रहेको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली  मङ्गलवार दिउँसो नै सो क्षेत्रमा परिचालित छ । भने आज बुधवार बिहान पनि थप टोली परिचालन गरिएको सशस्त्र प्रनाउ पाण्डेले बताउनुभयो ।

दार्चुलाको हिम पहिरोमा हराएकामध्ये दार्चुलाको नौगाडका अन्दाजी ३५ वर्षका ललित विष्ट सहितको सात जनाको समूह भने मङ्गलवार साँझ नै घटनास्थलमा गएको सुरक्षाकर्मीको टोलीमा सम्पर्कमा आएको थियो ।

बेपत्ता रहेका पाँच जनामध्ये दार्चुलाको दुहुका दुई र डोटीका बुडरका तीन जना रहेको पनि सशस्त्र प्रनाउ पाण्डेले बताउनुभयो । उहाँका अनुसार हराइरहेकामध्ये डोटीका तीनै जना महिला तथा दार्चुलाको दुहु गाउँपालिकाका एक महिला र एक पुरुष छन् ।