दलित महिला पत्रकारको महाकाली मेची साइकल यात्रा जारी : स्वागत र बधाईकाे ओेइराे
दलित महिला पत्रकारहरुले महाकालीदेखि मेचीसम्मको साईकलयात्रा जारी छ । समता मिडिया सेन्टर, राष्ट्रिय दलित पत्रकार संघ र जागरण मिडिया सेन्टरको संयुक्त पहलमा शुरू गरिएको साईकल यात्रामा दलित महिला पत्रकारहरु रीता बुढाथोकी, ईन्दिरा विश्वकर्मा र सङ्गीता नेपाली रहेका छन् । बुढाथोकी प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य समेत रहेकी छिन् । उनीहरूले वैशाख ५ गतेदेखि सुदुरपश्चिमको कन्चनपुरबाट यात्राको सुरुवात गर्ने जनाइएपनि बैशाख ६ गतेदेखि सुदूरपश्चिम प्रदेशको नेपाल भारत सीमा नाका गड्डाचौकी नाकाबाट शुरु गरिएको थियाे ।
उनीहरुको साईकल यात्रा बुटवल पार गरेर नारायणगढ तर्फ अगाडि बढेको छ । उनीहरूकाे साइकल यात्रा १८ देखि २५ दिनको हुने बताइएको छ । झापास्थित मेचीनगरमा पुगेर साईकल यात्रा सम्पन्न हुनेछ ।
साइकल यात्रीहरूलाई स्वागत र बधाईकाे अाेइराे लागेकाे छ । जुुन शहरमा उनीहरू पुग्छन् त्यहाँ दलित पत्रकार संघ, स्थानपय पालिका र अन्य निकायले स्वागत र बधाई दिएका छन् । बुटवल आईपुग्दा उनीहरूकाे भव्य स्वागत गर्नुका साथै उपमहानगरपालिकाले पनि सम्मान गरेको थियाे ।
‘दलित महिलाको न्याय, समानता, मुक्ति र आत्मसम्मानका लागि नेपाल सरकार, सम्बन्धित निकाय, तथा सरोकारवालाहरुको भूमिका केन्द्रित गर्न हामी महिला पत्रकारहरुले यही वैशाख ५ गतेदेखि दलित समूदायबाट प्रतिनिधित्व गर्ने हामी ३ जना महिला पत्रकारहरू ( रीता बुढाथोकी, ईन्दिरा विश्वकर्मा, र सङ्गीता नेपाली) ले महाकालीदेखि मेचीसम्मको साईकलयात्रा तय गरेका छौं,’– साइकल यात्राको शुरूवातमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
साईकल यात्रामा निस्केका महिला पत्रकारहरुले सडकबाट पायक पर्ने दलित बस्तिमा पुगेर दलित महिलाहरुसँग प्रत्यक्ष साक्षात्कार गर्ने गरेका छन् । साईकल यात्राले सरकार, राष्ट्रिय अर्न्तराष्ट्रिय मानव अधिकारकर्मी, नागरिक समाज, राजनीतिज्ञ, जनप्रतिनिधि र सञ्चार माध्यमको समेत ध्यानार्कषण गराउने उद्वेश्य रहेकाे छ ।
साईकल यात्रा जातीय छुवाछुत र भेदभावविरुद्ध हुने भएकाले दलित समुदाय र गैरदलित समूदायलाईसमेत जागृत गराउने विश्वास आयाेजककाे छ ।
साथै, साईकल यात्री पत्रकारहरुको अनुभवसहितको ‘विभेदविरुद्ध साईकल यात्रा’ नामक स्मारीका प्रकाशन गरिनेपनि बताइएको छ । उक्त स्मारीका र प्रतिवेदन संघीय सरकारलाई बुझाईने पनि बताईएको छ ।
यात्राले दलित महिलाहरुमा सचेतना अभिबृद्धि गरि सम्पूर्ण दलित समुदायका लागि उर्जा थप्ने बताइएको छ । दलित समुदायले भोग्नुपरेको जातीय विभेद र बदलिँदो समयमा देखापरेको भेदभावको नयाँ शैलीलाईसमेत साईकल यात्राका क्रममा समीक्षा गरिने छ ।
‘दलित समुदायले भोगेको जातीय भेदभाव, बदलिँदो समयमा भेदभावको नयाँ शैलीबारे गहन रुपमा समिक्षासहित सरकारको ध्यानार्कषण गराउन हाम्रो यात्रा सफल हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं । यात्राले दलित महिलाहरुमा सचेतना अभिबृद्धि गरि सम्पूर्ण दलित समुदायका लागि उर्जा थप्नेछ’,–विज्ञप्तिमा भनिएको छ ।
साईकल यात्राको क्रममा महेन्द्रनगर, धनगढी, बर्दिया, नेपालगञ्ज, दाङ, रुपन्देही, बर्दघाट, नारायणगढ, हेटौडा, इटहरी, दमकजस्ता शहरहरुमा त्यहाँका स्थानीय दलित समुदाय, प्रदेश र स्थानीय सरकारका प्रमुखहरुसंग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ । साईकल यात्राले समुदायमा चेतनाको स्तर वृद्धि गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।
राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीले साईकल यात्राको व्यवस्थापन सम्बन्धित जिल्लामा रहेको राष्ट्रिय दलित पत्रकार संघले गर्ने बताए ।
‘हाम्रो राष्ट्रिय दलित पत्रकार संघ छ । सबै जिल्लामा जिल्ला शाखाहरु छन् । जिल्ला शाखाहरुले साईकल यात्रालाई समर्थन र सहयोग गर्छ । कञ्चनपुरदेखि झापासम्म पुग्दा सबै जिल्लामा शाखा रहेका छन् । यसको सबै व्यवस्थापन सम्बन्धित जिल्ला शाखाले गर्नेछन्,’– उनले भने ।
साईकल यात्रामा पूर्व राजदूत डा. निर्मल विश्वकर्मा, होमनाथ आचार्य, विद्यार्थी नेता राजेश नेपालीलगायतले सहयोग र समर्थन गर्ने बताइएको छ ।