लुम्बिनी र गण्डकी प्रदेश मुख्यमन्त्रीमा चाैधरी र पाण्डे नियुक्त
लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डे नियुक्त भएका छन् ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले र गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम चौधरी र पाण्डेलाई मुख्यमन्त्रीमा बिहीबार नियुक्त गरेका हुन्।
लुम्बिनी प्रदेश प्रमुखको कार्यालय बुटवलमा विहीबार दिउँसो कांग्रेस संसदीय दलका नेता चौधरीले नयाँ सरकार गठनका लागि आठ दलको समर्थनमा ५३ सांसदको हस्ताक्षरसहित दावी पेश गर्नुभएको थियो ।
नवनियुक्त मुख्यमन्त्री चौधरीले शुक्रवार दिउँसो साढे ११ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
दाङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभामा निर्वाचित चौधरीलाई कांग्रेससहित माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीसहितको समर्थन रहेको छ ।
गत पुस २७ मा नेकपा (एमाले) बाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएका लीला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत गुमाउनु भएपछि संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन भएको हो ।
लुम्विनी प्रदेशका प्रदेश प्रमुख शेरचनले संविधानको व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि मंगलवार दलहरुलाई आह्वान गर्नुभएको थियो ।
बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । दाबी पेशसँगै पाण्डेलाई प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गरेका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक थियो। सत्ता गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी गरी ३५ सांसदको समर्थनमा पाण्ड मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
हाल गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।
पाण्डे गोरखा २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।