उपनिर्वाचन सम्पन्न : करीब ६० प्रतिशत मतदान भएको आयाेगकाे भनाइ

मूलखबर संवाददाता
काठमाडौं, १० बैसाख

आइतबार  भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ। बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ। हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान भएको देखिएको छ। जसअनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६४ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५३ प्रतिशत मतदान भएकोे छ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो। यस निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २४७ मतदाता रहेका थिए।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार बारा निर्वाचन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र, चितवन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य सङ्घको हल, भरतपुरमा राति ११ बजेभित्र र तनहुँ निर्वाचन क्षेत्र नं १ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ।