पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइमा उठाउन जरुरी छ : प्रचण्ड
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभएकाे छ ।
पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार नेता तथा कार्यकर्तासँगको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले सरकारलाई बढीभन्दा बढी जनमुखी बनाउन जनताको आशा र भरोसाअनुसार जिम्मेवारीबोध गरेर अघि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “लेखौँ, बोलौँ र प्रतिक्रियावादीको प्रतिरोध गरौँ। सबैले आफ्नो भूमिका पूरा गर्यौँ भने पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइमा उठाउन सकिन्छ।”
प्रधानमन्त्री प्रचण्डले परिवर्तनलाई असफल बनाउन ठूलै प्रपञ्च भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सरकारमा प्रधानमन्त्री, मन्त्री हामी छौँ। त्यसकारण परिवर्तन उल्टिँदैन होलाजस्तो पनि लाग्न सक्छ तर स्थिति सहज छैन।”
नेताको मन जितेरभन्दा पनि जनता र कार्यकर्ताको मन जितेर नेता बन्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सोबमोजिम पार्टीलाई अगाडि लैजाने आफ्नो योजना रहेको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “त्यसो गरियो भने मात्रै पार्टी बन्छ। नत्र अहिलेको परिस्थितिमा पार्टीलाई बचाउन धेरै गाह्रो हुन्छ। यसलाई सबैले गम्भीर रूपमा लिऔँ।” उहाँले पार्टीका नेता तथा कार्यकर्ताले जिम्मेवारीबोध नगर्ने र त्यसका लागि सङ्घर्ष नगर्ने हो भने धेरै अप्ठ्यारो स्थिति आउन सक्ने सङ्केत गर्नुभयो। जस्तोसुकै चुनौती भए पनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्ने आफूले सङ्कल्प लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस योजनामा सहयोग गर्न सबैलाई अपिल गर्नुभयो।
भेटघाट कार्यक्रममा प्रधानमन्त्रीसहित सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालगायतका नेता कार्यकर्ताको सहभागिता थियो।
माओवादीले बनायाे प्रधानमन्त्री मन्त्री भेट्ने यस्ताे तालिका
अबदेखि प्रधानमन्त्री र माओवादी केन्द्रका मन्त्रीहरूले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी कार्यालय पेरिसडाँडामै भेटघाट गर्नुहुने भएको छ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हरेक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी कार्यालयमा भेट्ने हुनुभएको हो।
माओवादी केन्द्रले वैशाख १ गतेदेखि प्रधानमन्त्रीसँग सरकारमा रहेका माओवादीका मन्त्रीहरूलाई केन्द्रीय कार्यालयमै भेट्ने व्यवस्था मिलाउने पदाधिकारी बैठकले निर्णय गरेको थियो। कार्यालय समयमा मन्त्रालय र निवासमा प्रधानमन्त्री तथा मन्त्रीहरूसँग भेट्नेको भिडभाड बढेकाले पार्टी र सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउन भेटघाटलाई व्यवस्थित गरिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो। कार्यतालिकाअनुसार शुक्रबार प्रधानमन्त्री प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालयमा भेट्नुहुनेछ। कार्यालय सचिव ढकालका अनुसार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले आइतबार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोमबार, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्गलबार, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बुधबार, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्तालाई भेट्नुहुनेछ। कार्यतालिका अनुसार शनिबार सल्लाहकार तथा विज्ञहरू पार्टी कार्यालय जानुहुनेछ।
त्यस्तै प्रधानमन्त्रीले आफ्नो टिमसँग प्रत्येक शनिबार दुई घण्टा छलफल गर्ने तालिका बनाइएको छ। प्रधानमन्त्रीले महिनाको अन्तिम शनिबार तीन घण्टा प्रदेशका टोलीसँग खाना खानेगरी अन्तक्र्रिया गर्ने कार्यतालिका बनाइएको छ। टोलीमा शहीद तथा बेपत्ता परिवार, जनमुक्ति सेना र घाइते तथा अपाङ्गता भएकालाई अनिवार्य गरिएको छ। कार्यालय सचिव ढकालका अनुसार भेटघाट व्यवस्थित गर्न हेल्प डेस्क स्थापना गरिएको छ। कार्यालयका कर्मचारीले भेट्नुको कारणसहितको विवरण टिपेर सहजीकरण गर्नुहुने बताइएको छ।