सिंहदरबारकाे फाेहाेर नउठाउन बालेनले राखेका १४ माग के हुन् ?

मूलखबर संवाददाता
काठमाडौं, ३० चैत

सिंहदरबार परिसरमा फाेहाेर नउठेको हप्ता पुग्न लागेकाे छ । फाेहाेर उठाउने जिम्मेवारी भएको काठमाडौं महानगरपालिकाका मेयरकाे निर्देशनमा फाेहाेर उठाउन बन्द गरिएको हाे ।

बालेनले सरकारसँग १४ बुँदे माग राख्दै फाेहाेर नउठाएकाे दाबी गरेका छन् ।

बालेनले फेसबुकमा स्ट्याटस राख्दै ९ महिना कोसिस गर्दा पनि संघीय सरकार र स्थानीय सरकार (काठमाडौं महानगर) बीच समन्वय हुन नसकेको लेखेका थिए।

संघीय सरकारले समन्वय नगर्दा अघि नबढेका १४ माग मेयर शाहले सार्वजनिक समेत गरेका थिए।

यस्ता छन् उनका मागहरू :

१. गृह मन्त्रालय:
अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी- ३ मन्त्रीसँग पटक-पटक पहल, सहमति भएर माइन्यूटसमेत भइसकेको तर कार्यान्वयन नभएको।

२. परराष्ट्र मन्त्रालय:
विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार

३. शिक्षा मन्त्रालय:
सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा- दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको।

४. स्वास्थ्य मन्त्रालय:
सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौं उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन- दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको।

५. पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय:
एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संबत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल- दुई मन्त्रीलाई पटक-पटक पहल गरिएको।

६. अर्थ मन्त्रालय:
५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुआब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौमा मेलम्चीको पानी ल्याउने कार्यक्रम- २ मन्त्रीसँग पटक-पटक पहल।

७. सहरी विकास मन्त्रालय:
खोला कोरिडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साइटको ग्यास पाइपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौंमै फोहोर ब्यबस्थापन गर्न कानुन र जग्गा- ४ मन्त्रीसँग पटक-पटक पहल।

८. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय:
रिङरोड विस्तार, उपत्यका यातायात प्राधिकरण गठन- दुई मन्त्रीहरूसँग पटक पटक पहल।

९. सूचना तथा सञ्चार मन्त्रालय:
आइएसपी र टेलिकमबीच एकीकृत पूर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस्- २ मन्त्रीसँग पहल।

१०. ऊर्जा मन्त्रालय:
सडक बत्ती अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग- २ मन्त्रीसँग पहल

११. खानेपानी मन्त्रालय:
मेलम्चीको पानी र पाइप व्यवस्थापन, केयुकेएलको उचित व्यवस्थापन पहल- २ मन्त्रीसँग पटक पटक पहल।

१२. भूमि सुधार मन्त्रालय:
सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण – मन्त्रीसँग पटक पटक पहल

१३. सङ्घीय मामिला:
तीनकुने विवाद पहल, कर्मचारी सरुवा- दुई मन्त्रीसँग पटक पटक पहल

१४. कृषि मन्त्रालय:
मल खरिद तथा उपत्यकामा आउने तरकारीको परीक्षण- मन्त्रीसँग पटक पटक पहल।