उपनिर्वाचनका लागि ६९ को उमेदवारी, माओवादीद्वारा गठबन्धनलाई समर्थन

मूलखबर संवाददाता
काठमाडौं, २० चैत ।

आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी बैसाख १० गते ३ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार चितवन निर्वाचन क्षेत्र नं २ मा २४ जना, तनहुँ निर्वाचन क्षेत्र नं १ मा नौ जना र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ३६ जना उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

तीनै निर्वाचन क्षेत्रमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले भने उमेदवारी दिएको छैन । उसले गठबन्धनका उमेदवारलाई नै समर्थन गर्ने जनाउँदै उमेदवारी नदिएको हो ।
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि खाली भएको तनहुँ १, उपराष्ट्रपतिमा राम सहाय यादव निर्वाचित भएपछि खाली भएको बारा २ र रवी लामिछानेको नागरिकता अबैध ठहरीएपछी खाली भएको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।